विरिमकाली मन्दिर

विरिमकाली मन्दिर

गोरखा जिल्लाको विरिमकाली मन्दिर महन्वपूर्ण सम्पदा हो । ऐतिहासिक गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १० ध्याङसीवास भन्ने ठाउँमा विरिमकाली मन्दिर अवस्थित रहेको छ । यो मन्दिर कहिले कसले बनाएको भन्ने बारे ऐतिहासिक प्रमाण उपलब्ध छैन । जनश्रुती अनुसार गोरखाका राजा रामशाह मनकामना मन्दिर दर्शन गर्न जाँदा ध्याङ्गिसंह मगरभाषा चिलाउने धारामा बास भएछ । रातमा देवी राजाको हत्केलामा उत्पन्न भएपछि सोही मूर्ति जस्तै मूर्ति बनाई कोक्रोमा राखी भुषल मगरलाई दिएका हुँदा सो देवीलाई विरिमकाली भनेर चिनियो । मन्दिरको वास्तुशैली र प्रविधिको अध्ययन गर्दा सोहौं सत्रौं शताब्दीताका यो मन्दिर बनेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

गोरखाको विरिमकाली मन्दिरको एउटा प्रस्तर मूर्ति छ । यो मन्दिरको महन्वपूर्ण कुरा मन्दिर भित्रको मूर्ति हेर्न नहुने विश्वास रहिआएको छ । यस्तै मन्दिरमा १८९२ साल मार्ग शुदीमा बसुन्धरा देवीले श्रीकालिका देवीलाई चढाएको एउटा घण्ट छ । मन्दिर ४ पाखे छाने शैलीमा एकतले भुईतँले छ । छाना स्लेटको छ भने गारो ढुङ्गा र माटोको छ । मन्दिर पूर्वाभिमुख छ र वरिपरि प्रदक्षिणापथ रहेको छ । मन्दिरको नाप लम्बाई ४.२० मी., चौडाई ३.५० मी र उचाई ३.५० मि छ । मन्दिरको मौलिक स्वरुपमा कुनै परिवर्तन भएको छैन । मन्दिर परिसर आधा रोपनी जति छ ।

यस गोरखा जिल्लाको विरिमकाली मन्दिरमा पहिले देखि नै यहाँ मगर सुसारे र १ जना बाहुन पुरोहितद्वारा पूजाआजा गरिन्छ । वंशजका आधारमा सन्तान दरसन्तान पूजारी हुने चलन यहाँ छ । यहाँ पहिले गोरखा दरबारबाट पूजारीलाई सुविधा उपलब्ध गराइएकोमा हाल उक्त व्यवस्था छैन । मन्दिरको नाममा गुठी भएपनि उपभोग गर्न नपाएको गुनासो यहाँ पाइयो । यहाँ नित्य पूजाको व्यवस्था छ । वडादशैं चैतेदशैं र प्रतिअष्टमी यहाँ पर्व पूजा गरिन्छ ।

 

यस विरिमकाली मन्दिरमा पहिले देखि हाल सम्म स्थानीय गाउँलेहरुले पूजारी तथा सुसारे नियुक्ती गरी पूजा पराम्परालाई अद्यावधिक गरिहेका छन् ।

अतः यस विसिमकाली मन्दिरको पेदी गारो छानो यथाशिघ जिर्णोद्धार गर्नुपर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *