गोरखा – गोरखाको गोरखनाथमा सञ्चालित १८औं सवालाख रोट महोत्सव सम्पन्न भएको छ ।
महोत्सव अवधिभर गुरु गोरखनाथलाई १ लाख ५४ हजार रोट अर्पण गरिएको सिद्वाश्रम शक्ति केन्द्र नेपालका सञ्चालक रामजी अर्यालले बताए । ‘माहामारीका बिचमा पनि महोत्सवलाई निरञ्तरता दिएर समापन गर्न पाएकोमा खुशी लागेको’ अर्यालले बताए ।
सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजना र गोरखाको समन्वयमा गत जेष्ठ १२ गते देखी २२ गते सम्म सञ्चालित रोट महोत्सवमा गुरु गोरखनाथलाई मन पर्ने ‘ताई रोट’ (घ्यूमा पकाईने एक प्रकारको रोटी) अर्पण गरिएको केन्द्रले जानकारी दिएको छ ।
महोत्सव अवधिभर दैनिक बिहान गुरु गोरखनाथको स्त्रोत पाठ, मन्त्र जप र हवन गरिएको थियो । केन्द्रले दिएको जानकारी अनुसार दैनिक दिउसो विभिन्न शत्तिपिठको तान्त्रिक बिधीद्वारा पुजन गर्ने काम र पादुका पुजन (गोरखनाथ गुफामा) पनि भएको थियो ।
पादुका पुजन सकिए लगत्तै दैनिक रुपमा तयार भएको रोट गुरु गोरखनालाई चढाउने गरिन्छ ।
१६औं रोट महोत्सव सम्म भब्य रुपमा मनाईएको कार्यक्रम गत बर्ष र यो बर्ष कोरोना महामारीका कारण सर्व साधारणलाई रोक लगाएर केन्द्रकै खर्चमा कार्यक्रम सम्पन्न गरिएको हो । १८औं रोट महोत्सवमा भत्तजन र केन्द्रको करिब १२ लाख खर्च भएको अनुमान गरिएको छ ।
यस पटक कोरोना महामारीका कारण गोरखनाथका मुल पुजारी र सुरक्षाकर्मीले मात्र रोट बनाएर गोरखनाथलाई अर्पण गरिएको सिद्वाश्रम शक्ति केन्द्र गोरखाका साधक किशोर अकेलाले बताए ।
कोरोनाका कारण यस पटक प्रदाद धेरै जिल्लामा पठाउन नसकिएको केन्द्रले जनाएको छ । विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको रोट महोत्सवमा अघिल्ला बर्षहरु सम्म स्वदेश तथा विदेशबाट भत्तजनहरु आउने गरेका थिए ।
रोट महोत्सव बिक्रम संम्बत २०६१ साल देखी निरन्तर सञ्चालनमा आई रहेको छ । परापूर्व कालमा भने शाह बंशका राज परिवारले मात्र गुरु गोरखनाथलाई सवालाख रोट चढाउने परम्परा रही आएको थियो ।
सभार : गोरखा समाचार