गोरखा नगरपालिकामा विकास प्राधिकरण बिधेयक र प्रज्ञा प्रतिष्ठानको नयाँ अभ्यास

गोरखा नगरपालिकामा विकास प्राधिकरण बिधेयक र प्रज्ञा प्रतिष्ठानको नयाँ अभ्यास

गोरखा नगरपालिकाले विकास प्राधिकरण गठन गर्ने भएको छ । लगानीकर्तालाई नगरपालिकामा भित्र्याउने र विकासको गतिमा तिब्रता दिने उद्देश्यले विकास प्राधिकरण गठन गर्न लागिएको मेयर राजनराज पन्तले जानकारी दिए ।

सार्वजनिक निजी साझेदारी(पिपिपि) मोडलमा नगरपालिकाको विकास गर्ने उद्देश्यले प्राधिकरण गठन गर्न लागिएको उनले बताए ।
शुक्रबार सम्पन्न नवौँ नगरसभाले यससम्बन्धी विधेयक पारित गरेको छ । सभाले गोरखा नगरपालिका विकास प्राधिकरणसम्बन्धी विधेयक २०७८ पारित गरेको हो । अब नगरपालिकाको योजनामा कोही साझेदार बन्न चाहेमा वा प्रस्ताव स्वीकृत गरेमा सहकार्य गर्न सक्ने बाटो खुलेको नगरप्रमुख राजनराज पन्तले बताए ।

। ‘हामीले नगरभित्रका योजनाको प्राथमिकिकरण गरेर साझेदार आह्वान गर्छौँ’, उनले भने, ‘यो मोडलले निजी क्षेत्र, संस्थाहरुलाई सहकार्य गर्न र नगरको विकासमा सहयोग पुग्ने अपेक्षा छ ।’ नगरपालिकाले सो सम्बन्धी बिधेयक पास गरेको छ ।

यस्तै नगर भित्रको कला, साहित्य, संस्कृतिको विकास, प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले गोरखा प्रज्ञा प्रतिष्ठान पनि गठन गर्ने भएको छ । नगरसभाले यससम्बन्धी विधेयक २०७८ पनि पारित गरेको छ । नगरपालिकाभित्र भाषा, साहित्य, दर्शन, समाजशास्त्र, संस्कृति, ललितकला, नाट्यकला, संगीत कलाको संरक्षण र विकास गर्न गोरखा प्रज्ञा प्रतिष्ठान स्थापना गरिने मेयर पन्तले बताए ।

नगरसभा मार्फत गोरखा नगरपालिकाको वन विधेयक २०७८, कर्मचारी सेवा ब्यवस्थापन गर्न बनेको विधेयक २०७८, गोरखा नगरपालिकाको सार्वजनिक नीजि साझेदारी तथा लगानी विधेयक, सहकारी ऐन २०७४ को दोस्रो संशोधन, गोरखा नगरपालिकाको आर्थिक ऐन र बिनियोजन ऐनको पनि पहिलो संशोधन गर्दै पास गरेको छ ।

नगरपालिकामा कार्यरत कर्मचारीको सांगठनीक स्वरुप पनि अब फेरिने प्रस्ताब पारित भएको छ । वडा स्तरमा कर्मचारी थप गर्ने, प्राविधिक जनशक्ति बढाउनेसम्मको प्रस्ताब नगरसभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।साभारः दरौँदी दैनिक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *