गोर्खाली आँटले नै सफलता हात लाग्यो: डा. धिताल

गिरीश गिरी
नेपालमा पनि सम्भव छ मृत मुटु प्रत्यारोपणः
सबै पक्षले चाहना राख्ने हो र संयुक्त पहल हुने हो भने दुई चार वर्ष भित्रै नेपालमा पनि मृत मुटु प्रत्यारोपण गरेर विरामीलाई दीर्घायु प्रदान गर्न सकिने जानकारी डा. कुमुद धितालले दिएका छन्।

गएको महिना मात्र अष्ट्रेलियामा तीनजना मृत व्यक्तिको मुटु तीन जीवित व्यक्तिमा प्रत्यारोपण गरेर नेपाली मूलका यी चिकित्सकले विश्वव्यापी चर्चा कमाएका थिए।
यो पनि हेर्नुहोस्
अष्ट्रेलियामा नेपाली डाक्टर कुमुद धितालको ‘अद्भुत सफलता’
आमा विजया धिताललाई भेट्न विदेशी पत्नीसहित नेपाल आएका उनी यहाँ सार्वजनिक हुन चाहिरहेका थिएनन्। उनका बहिनी र वाल्यकालदेखिका साथीले जिद्दी गरेपछि भने उनले टार्न सकेनन्।

‘सञ्चारकर्मी लिएरै घरमा आउने धम्कीसम्म मेरो सबैभन्दा पुरानो साथी अजयले दिए,’ उनी भनिरहेका थिए, ‘यो भेटघाटको श्रेय उनैलाई जान्छ।’

केहि अघिसम्म पनि विदेशका चर्चित ब्रोडसिट दैनिकहरुमा चर्चा पाएका डा. कुमुदलाई भेट्न ललितपुरस्थित यलमाया केन्द्रमा आइतबार बेलुकी मन्त्रीदेखि मुख्यसचिव हुँदै विभिन्न क्षेत्रका चर्चित हस्तीहरुको जमघट थियो। सबैजसो निम्तालुहरु पत्रकार कनकमणि दीक्षितको विद्युतीय निमन्त्रणाका भरमा जम्मा भएका थिए।

निकै अघि विदेशिएका उनलाई दोहोरो चिन्ने कमै देखिन्थे। बाँकीलाई उनका चिनारुहरुले नजिकै लैजाँदै परिचय गराउने गरिरहेका थिए। रंगी विरंगी खादाहरुले ढाकिएका उनी कुरा गर्न चाहने सबैसँग बोलिरहेका थिए। यति लामो समय विदेशमा बसेर सेवा गरेपनि उनको नेपाली भाषामा यतैको जनजिब्रो भिजेको थियो भने हरेक जिज्ञासाका जवाफ विनम्र शैलीमा दिइरहेका थिए। छेउमा उभिएर तस्बिर खिच्नेहरुको उस्तै हुलमुल थियो।

त्यसै क्रममा नेपालमा मुटु रोगको क्षेत्रका अर्का हस्ती डा. भगवान कोइराला आइपुगे। सामुन्ने देख्ने बित्तिकै पुरानो परिचित प्रतित हुनेगरि दुवैले हात मिलाए र अंगालो मारे।

मुटु प्रत्यारोपण विशेषज्ञ डा. कुमुद धिताल मित्र एवं परिचितहरुसँगको भेटघाट कार्यक्रममा उपस्थित अर्का मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाका साथमा। तस्बिरः गिरीश गिरी

‘म उपचारमै केन्द्रित भएको हुनाले मुटु प्रत्यारोपण मेरो रुचीको विषय थिएन,’ डा. भगवानले भने, ‘ब्रेन डेथकै निम्ति पनि कानुन नबनेर अल्मलिरहेका बेला अब यो मृत मुटु नै काम लाग्नसक्ने भएपछि यतातिर ध्यानदिन सकिएला जस्तो लाग्नथालेको छ।’

तर, अहिलेको हिसाबले मृत मुटुमा रक्तसञ्चार गराउने प्रविधिकै मात्र ३५ हजार डलर पर्ने भनिरहेको बेलामा यो असाध्यै खर्चिलो हुने पनि उनले जानकारी दिए।

‘गोर्खालीको आँट’

जमघटमा कुमुदले पहिलो मुटु प्रत्यारोपण गर्दाको सकसपूर्ण क्षणलाई पनि उल्लेख गरे।

‘मेशिनमा राखिएको कुनै मृत व्यक्तिको मुटु साह्रै दिक्कलाग्दो देखिन्थ्यो,’ उनले भने, ‘मेशिनमै समेत यति नराम्ररी काम गरिरहेको त्यो मुटुलाई कुनै जीवित व्यक्तिको शरिरमा त राख्दै राख्दिनँ भनेर साथीलाई पनि भनेँ।’

त्यसपछि उनले तत्काल कुनै निर्णयमा नपुगेर एकछिन पर्खने सोच बनाए। एकैछिनमा सुधारका लक्षणहरु देखिए।

‘भर्खर जन्मेको बच्चालाई जुन व्यग्रताका साथ हेरिन्छ हो त्यसैगरि मैले डेढ घन्टासम्म त्यो मेशिनमा चल्दैगरेको मुटुलाई नियालेको थिएँ,’ उनले भने, ‘जुन मुटु देखेर अलिक अघिसम्म दिक्क लागिरहेको थियो, त्यहि मुटु अब किन नचलाउने भन्ने सोँच विकास हुनथाल्यो।’

उनले एकैछिनमा लिएको निर्णयले स्वास्थ्य विज्ञानकै क्षेत्रमा ऐतिहासिक सफलता दिलाइरहेको थियो।

‘दोधारमा अलमलिरहेकै बेला म भित्रको गोर्खाली आँट जागृत भयो,’ उनले भने, ‘त्यो गोर्खाली आँटले यो मुटु चलाइदिन्छु भनेर लिएको निर्णयले नै सफलता हात लाग्यो।’

डा. कुमुदले यसरी ‘गोर्खाली आँट’ भन्ने बित्तिकै एकछिनसम्मै उपस्थितहरुले तालीले स्वागत गरेका थिए।

उनी त्यसपछि पनि थामिएनन्।

कुमुद धितालको नेपाल नाता र तपस्या
‘हामी सबैको जिन्दगीमा एकपटक कहिँ न कहिँ एउटा मौका आउँछ,’ उनले थपे, ‘त्यसलाई समात्न सकिएन भने त्यो पछिगएर रिग्रेट (पश्चाताप) मात्र हुन्छ।’

उक्त प्रत्यारोपण सफल नभइदिएको भए आफूमाथि जे पनि हुनसक्ने अवस्था रहेको उनले बताए।

कुनै समय विदेश बसेर आएका आफ्ना पिता भेट्नेहरुले ‘उताको जस्तो नेपाल कहिले बन्ला?’ भनेर सोध्दा नाजवाफ बन्नेगरेको पिताको अवस्था पनि उनले सम्झे।

‘सय दुईसय वर्ष भनिदिए बौलाहा भन्लान् दस वर्ष भनिदिने हो भने यिनीहरु बाँचिरहेकै हुन्छन् भन्ठानेर बुवाले हावा तालमा पचास वर्ष भनिदिनुहुन्थ्यो,’ उनले भने, ‘तर, नेपालमा चाहना राख्ने हो भने मृत मुटु प्रत्यारोपण गर्न यसरी कुर्नै पर्दैन। एक दुई वर्षमै गर्न सकिन्छ।’

त्यसका निम्ति मान्छेहरु मिलिदिए र सबै विशेषज्ञहरु एकजुट भएर लागिदिए मात्रै पनि पुग्ने उनको भनाइ थियो।

‘यो त्यति असंभव कुरा होइन,’ उनले भने ‘केवल इन्भायरोमेन्ट क्रिएट (वातावरण तयार) गर्नुपर्छ। सकिन्छ।’

साभार सेतोपाटी

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *