गोरखामा मास्क नलगाएका सवारी चालकलाई ५ शय रुपैयाँका दरले जरिवाना

गोरखामा मास्क नलगाएका सवारी चालकलाई ५ शय रुपैयाँका दरले जरिवाना

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने सवारी चालकलाई जरिवाना गराउन थालेको छ ।
स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड समेत पालना नगरेका २५ वटा सवारी साधनका चालकलाई आइतवार कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताउनुभयो ।
१४ वटा सवारी साधनलाई ५ शय रुपैयाँका दरले जरिवाना तिराइएको र जरिवाना नतिरेका ११ सवारी साधनको कागजात नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

जरिवाना नतिर्ने सवारी साधनका चालकलाई २४ घण्टे पूर्जी काटिएको ढकालले बताउनुभयो । आइतवार कारवाहीमा परेका सवारी साधनमा स्कुटर र मोटरसाइकल १५ वटा, ट्रयाक्टर ३ वटा, जीप र कार ५ वटा तथा बस र माइक्रोबस १/१ वटा रहेका छन् ।

यस्तै मास्क नलगाई हिँडेका २० जना पैदलयात्रीलाई १ शय रुपैयाँका दरले जरिवाना गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाई गर्दै गएको प्रहरीले सचेतना कार्यक्रम र मास्क वितरणलाई पनि अघि बढाइरहेको छ । सो क्रममा आज सदरमुकाम क्षेत्रका २ शय भन्दा धेरैलाई मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *