गोरखा सदरमुकामको पसलहरुमा भेटिएका म्याद नाघेका खाद्य सामाग्री जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद भण्डारीको अध्यक्षतामा जिल्ला बजार अनुगमन समितिले जेठ २० र २४ गते बजार अनुगमन गर्दा भेटिएको म्याद नाघेका सामग्री नष्ट गरेको हो ।
अस्पतालमार्गको एक फार्मेसीबाट हर्लीक्स, अलबिरा किराना पसलबाट मसला, घले किराना पसलबाट मसला, दवाडी किराना पसलबाट चिसो पेय पदार्थ, दिपिका किराना पसलबाट चाउचाउ, चाउमिन, सस, लड्डु आईसक्रिम लगायतका सामग्री नियन्त्रणमा लिइएको प्रशासकीय अधिकृत गणेश भट्टराईले बताए ।
सुर्यदाई किराना पसल, तारा थापा किराना पसल, पश्चिमकाली किराना पसल, एस् एण्ड एस् किराना पसल, अर्चना किराना पसल, सुसीला किराना पसल,थापा किराना पसलबाट म्याद नाघेका खाद्य सामग्री अनुगमन टोलीले जफत गरेको थियो । यी पसलहरु सबै गोरखा नगरपालिका वडा नम्बर ६र ७ का हुन् ।
जफत गरिएका खाद्यान्नमा अधिकांश चिसो पेय पदार्थ, चिप्स, मसला धेरै छन् । म्याद नाघेका बिक्री नगर्न सचेत गराइएको र पुन त्यस्तो भेटिएमा कारवाही गरिने जिल्ला प्रशासन कर्यालयले जनाएको छ । म्याद नाघेका सामग्री खाल्डो खनेर पुरिएको हो ।सभार: दरौँदी दैनिक पत्रिका