सुरक्षित स्थानान्तरणको माग

सुरक्षित स्थानान्तरणको माग

शिव उप्रेती, गोरखा
गत साताको अविरल वर्षापछिको बाढीले तहसनहस बनाएको चुमनुब्री गाउँपालिका—३ सल्लेरीका बासिन्दाले सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका छन् । बुधबार राहत रकम हस्तान्तरणका लागि त्यहाँ पुगेका प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल तथा प्रहरी उपरीक्षक शेखर खनाल समक्ष पीडितहरूले सुरक्षित स्थलमा स्थानान्तरण गर्न माग गरेका हुन् ।

सल्लेरीका २६ घरमध्ये ६ घर बूढीगण्डकीको भेलले बगाएको छ । त्यहाँका बाँकी २० घर पनि उच्च जोखिममा रहेकाले सबैलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको स्थानीय बलबहादुर गुरुङको भनाइ छ ।
उनका अनुसार जगत बजारका ३२ घर पनि जोखिममा रहेको छ । बूढीगण्डकीको गत साताको भेलले जगत बजारको शिर हानेको गुरुङको भनाइ छ । ‘जगतको तल्लो टोलको चार घर त बगाइसक्यो’, उनले भने, ‘माथिल्लो टोलको पनि शिरमा बूढीगण्डकीले हानेको छ । अघिल्लो हप्ताजस्तै बाढी फेरि पनि आयो भने जगत बजार पनि बग्ने सम्भावना ज्यादै नजिक छ ।’

अहिले सल्लेरीका बासिन्दा गाउँभन्दा माथिको पाखामा अस्थायी टेन्ट टाँगेर बसेका छन् । भूकम्पले भत्किएको घर सरकारी अनुदानमा निर्माण गरे पनि फेरि बूढीगण्डकीको बाढीले बगाएको स्थानीय गणेश कार्कीले जानकारी दिए । यसअघि पैयुँमा बस्दा पहिरोले बगाएर सल्लेरीमा आएर बसेका थिए । त्यहाँ भूकम्पले घर भत्काइदियो । ‘भूकम्पले घर भत्काए पनि घर बनाउने जग्गा त थियो, अहिले त बाढीले झन् घर बनाउने जग्गा पनि बग्यो’, उनले भने, ‘अब कहाँ गएर बस्ने अन्योल छ ।’

बाढीले स्थानीय भालुखोला जलविद्युत् आयोजनामा क्षति पु¥याउँदा जगतको ३२ घर, सल्लेरीको २६ र भालुवनको १५ घर विद्युत् उपभोग गर्नबाट बञ्चित भएको स्थानीय वीरवल घलेले जानकारी दिए । घटनास्थल पुगेर फर्किएका प्रजिअ पौडेलले बाढीपीडितलाई सुरक्षित स्थलमा स्थानान्तरण गराउनु अपरिहार्य देखिएको बताएका छन् । ‘कि ठूलै तटबन्धको योजना गर्नुपर्छ कि स्थानान्तरण गर्नुको विकल्प देखिँदैन’, उनले भने, ‘यस विषयमा म गृहमन्त्रालयमा पनि अनुरोध गर्नेछु । प्रदेश सरकारसमक्ष पनि अनुरोध गर्छु ।’

घरबास गुमेकाहरूलाई अल्पकालीन राहत र दीर्घकालका लागि पुनर्वास गराउनु जरुरी रहेको उनले बताए ।साभारःअन्नपूर्णपोस्ट

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *