अवैध काठ बरामद गर्ने इन्स्पेक्टर ढकाल जेठ महिनाको ‘पुलिस अफ द मन्थ’

अवैध काठ बरामद गर्ने इन्स्पेक्टर ढकाल जेठ महिनाको ‘पुलिस अफ द मन्थ’

गोरखा ।
जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी निरिक्षक (इन्स्पेक्टर) सोमदास ढकाललाई जेठ महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान सहित पुरस्कृत गरेको छ ।

हरेक महिना उत्कृष्ट कार्य गर्ने एक प्रहरीलाई सम्मान र पुरस्कृत गर्ने क्रममा जेठ महिनाका लागि ढकाललाई छनौट गरिएको डिएसपी प्रकाश दाहालले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय ठाँटीपोखरी पालुङटारमा कार्यरत ढकालले आफूलाई तोकिएको जिम्मेवारी अनुशासनमा रही ईमान्दारिताका साथ उत्कृष्ट ढंगबाट सम्पादन गरी आम जनसमुदायमा प्रहरीप्रतिको छवि सकारात्मक बनाउनेतर्फ सदैव प्रयत्नशील रहेको पाइएको सम्मानपत्रमा लेखिएको छ ।

यस्तै कोरोना संक्रमण रोकथामका लागि भएको निषेद्याज्ञालाई कार्यान्वयन गराउन सक्रिय भूमिका निर्वाह गरेको, आफ्नो कार्यक्षेत्रमा हुने गरेका चोरी, झै-झगडा, सडक दुर्घटना जस्ता घटनाहरुमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन ढकाल सफल भएको पनि डिएसपी दाहालले बताउनुभयो ।

यस्तै अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी लुकिछिपी बेचबिखन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिन पनि ढकालको भूमीका महत्वपूर्ण रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत जेठ २७ गते पालुङटार वडा नम्वर ७ मा ट्रयाक्टरमा अवैध रुपमा ओसारपसार भैरहेको २५ गोलिया सालको काठ बरामद गरेकोमा पनि ढकालको नेतृत्व सफल भएकोमा जिप्रकाले प्रशंसा गरेको छ ।

आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई हरेक महिना पुरस्कृत गरिने डिएसपी दाहालले जानकारी दिनुभयो । ढकाललाई एसपी शेखर खनालले सम्मानपत्र सहित प्रोत्साहनस्वरुप नगद प्रदान गर्नुभएको थियो ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *