मनाङमा अलपत्र परेका गोरखाका एक पुरुषको उद्धार

मनाङमा अलपत्र परेका गोरखाका एक पुरुषको उद्धार

असार ७, गोरखा । बाढीपहिरोका कारण मनाङको नासो गाउँपालिका ५ थोंचेमा अलपत्र परेका गोरखाका एक पुरुषको आज उद्धार गरिएको छ ।
ज्याला मजदुरीका लागी थोंचे पुगेका धार्चे गाउँपालिका ४ लाप्राकका करीब ४० बर्षिय टेक गुरुङलाई गोरखाकै छेकम्पारको दावा ग्याल्जेन लामाले निजि खर्चमा हेलिकोप्टरबाट उद्धार गर्नुभएको हो ।

खुट्टामा चोट लागेको अबस्थामा भेटिएका गुरुङलाई फिस्टेल एयरको हेलिकोप्टरबाट उद्धार गरी बेशीशहरमा ल्याएको उद्धारकर्ता लामाले बताउनुभयो ।

बेशीशहरस्थित स्वास्थ्य संस्थामा सामान्य उपचार गरी गुरुङलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाण्डौ लगिएको उहाँको भनाई छ । लामा र एलिजा गुरुङले घाईते गुरुङको उपचारका लागि ८ हजार रुपैयाँ पनि सहयोग गर्नुभएको छ । काठमाण्डौंमा उपचार तथा आबश्यकता अनुसार थप सहयोग गर्ने लामाले बताउनुभयो ।
सो क्षेत्रका बाढीपीडितलाई राहत वितरण तथा उद्धारका लागि पुगेका लामाले अलपत्र परेका गोरखाका एक सहित अन्य जिल्लाका करीब २० जनालाई आज फिस्टेल एयरको हेलिकोप्टरबाट उद्धार गरी बेशीशहर ल्याउनुभएको हो । आज मात्र ओढारगाउँ, तिल्चे र थोंचेबाट ६ चरणमा उद्धार गरेको उद्धारकर्ता लामाले जानकारी दिनुभयो ।
बुधबार धारापानी र थोंचे जोड्ने एकमात्र झोलुंगे पुल मर्स्याङ्दीको बाढीले बगाएपछि थोंचेबाट अन्यत्र भौगोलिक सम्पर्क टुटेको छ । सो क्षेत्र सञ्चार सम्पर्कविहिन भएको छ । त्यसैले त्यहाँ राहत वितरण तथा उद्धारका लागि लामाको टोली निजि खर्चमा मनाङ पुगेको हो ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *