बूढीगण्डकीले बेघरबास बनाएकालाई हेली चार्टर गरी राहत

त्रिपाल लगायतका सहायता सामग्री वितरण गर्दै व्यवसायी पराजुली । तस्वीर : राजेन्द्र पराजुली ।

गोरखा
गोरखाका एक व्यवसायीले बूढीगण्डकीले बेघरबार बनाएका सल्लेरीका बाढिपिडितलाई ओत लाग्ने त्रिपाल लगायतका सामग्री प्रदान गरेका छन् । गोरखाको आरुपोखरी घर भई हाल काठमाडौँमा व्यवसाय गरी बस्ने राजेन्द्र पराजुलीले बिहिबार बिहान सिम्रिक एयरको हेलिकोप्टरबाट गाउँमा पुगी राहत सामग्री वितरण गरेका हुन् ।

‘बाढीले घर बगाएर बिचल्ली भएको छ भन्ने समाचार सुनेपछि हिजो नै त्यहाँ पुगेर सहयोग गर्ने मनमा थियो, तर हिजो दिनभर मौसम प्रतिकुल भयो, उनले भने, ‘त्यसैले आज बिहानै गाउँमा पुगेर ४० थान त्रिपाल, तीनरोल म्याट्रेस, २८ बाकस चाउचाउ, दुईहजार थान मास्क वितरण गरेँ । अब कम्तिमा पनि झरीमा रुझेर रात काट्नु परेन ।’ सदरमुकामबाट ३० कोश टाढा रहेको र सडक सञ्चालले पनि नजोडेको ठाउँ भएकाले हेलिकोप्टर चार्टर गर्नुपरेको उनले बताए ।

 

आधारभूत आवश्यकताका सामग्री सहयोगस्वरुप पाउँदा गाउँले खुशी भएका छन् ।
पराजुली जनता समाजवादी पार्टी गोरखाका उपाध्यक्ष पनि हुन् ।

यसअघि बिहिबार बिहानै डब्लुएफपीका कर्मचारीको उद्धार गर्न गएको हेलिकोप्टरमा ४७ थान त्रिपाल मगाइएको स्थानीय बलबहादुर गुरुङले जानकारी दिए ।

अबिरल बर्षापछिको बूढीगण्डकीको बाढी सल्लेरी गाउँमा पस्दा स्थानीय सुन्दर गुरुङ, सूर्य गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको थियो । साथै उच्च जोखिममा रहेका गणेश गुरुङ, कमल गुरुङ, धनकुमारी गुरुङ, इन्द्रबहादुर गुरुङ, थर्पती गुरुङ पनि बिस्थापित भएका थिए ।

जताततैको पहिरोले बाटोघाटो बन्द भएपछि सदरमुकाम तथा आरुघाट बजारबाट त्रिपाललगायतका राहत सामग्री पु¥याउन पनि कठिन भएको थियो । गाउँपालिकाले बुधबार आठ थान त्रिपाल उपलब्ध गराए पनि पर्याप्त हुन सकेको थिएन ।साभारः दरौँदी दैनिक पत्रिका

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *