नेपालकै ऐतिहासिक गोरखा जिल्लामा नेपाल सरकारको स्वामित्व भएको जर्नेल धारा गोरखाको पिपलथोक मा अवस्थित रहेको छ ।
जर्नेल धारा वि.सं. १८८८ मा जनरल भीमसेन थापाद्वारा निर्माण गराइएको कुरा यसै धारा माथि भित्तामा रहेको अभिलेखबाट थाहा हुन्छ ।
यस जर्नेल धाराको महत्वपूर्ण करा यहाँ गाइको मुखाकृतिको खण्डीत अवस्थाको धारा छ । धाराको भित्तामा पूर्वतर्फ शिवपरिवार फलक र चर्तुवाहु विष्णुका मूर्ति छन् । यहाँ धारामाथि नै प्रस्तरको सानो मन्दिर बनाइएको छ । धाराको तल्लो भागमा भगीरथको मूर्ति कुँदिएको छ ।
धाराको वरिपरी पर्खालमा काँटछाँट गरी मिलाइएका ढुङ्गाहरुको पर्खाल पेटी उठाइएको छ । यहाँको मूर्ति लगायत सबै बस्तु एवं संरचना प्रस्तरकै छन् । यस जर्नेल धारा मा नित्य पर्व पूजा एंव जात्रा केही छैन । यो धारा सामाजिक रहेको छ ।
यस धाराको भौतिक अवस्था भन्नु पर्दा धारोको पर्खालभन्दा बाहिरको भाग भाँचिएर खण्डीत अवस्थामा छ । धाराको पानी पाइपबाट अन्यत्र समेत लगिएको छ । धारो रहेको स्थल ज्यादै जिर्ण हुँदै गएको छ ।
अतः ऐतिहासिक महत्व बोकेको धारालाई पूर्व मौलिक अवस्था कायम रहने गरी जिर्णोद्धार गर्नुका साथै धारामा छरिएर रहेका कलात्मक वस्तुको सरसफाई एवं संरक्षण गर्न आवश्यक रहेको छ ।