रामेश्वर मन्दिर

गोर्खा परिचय

रामेश्वर मन्दिर

२०६८ पुस १८ गते, सोमवार ०७:३६:५८ बजे
१. ठेगानाः गोरखा नगरपालिका वडा नं. १ रानीपोखरी पंदेलीटोल
२. स्वामित्वः सार्वजनिक
३. ऐतिहासिकताः
यो मन्दिर गोरखाका राजा रामशाहले वि.सं. १६९३ मा स्थापना गरेका हुन् । मन्दिरको ढोकामाथि रहेको सो मितिको अभिलेखबाट यो कुरा पुष्टि हुन्छ । यो अभिलेख रामशाहको अन्तिम समयतिरको हो । गोरखामा शाहराजाहरुले निर्माण गरेको अभिलेख सहितको सबैभन्दा पुरानो शैव मन्दिर यही नै हो । यसरी विक्रमको सत्रौं शताब्दिको उत्तरार्धतिर यो मन्दिर निर्माण भएको अभिलेखीय प्रमाणका आधारमा पुष्टी हुन्छ । रामशाहले स्थापना गराएका हुँदा यसलाई रामेश्वर महादेव मन्दिर भन्ने गरिएको छ ।
४. महत्वपूर्ण वस्तुः
क) कला/वास्तुकलाः
यस मन्दिरको गर्भगृहमा जलहरि र शिवलिङ्ग तथा केही शालिग्रामहरु रहेका छन् । मन्दिर प्रस्तर वास्तुकलाको अनुपम नमूनाको रुपमा रहेको छ । गुम्वज शैलीमा निर्मित यो मन्दिरको गारोको सम्पूर्ण भाग प्रस्तरबाट बनेको छ र बज्रलेपन गरिएको छ । मन्दिर वर्गाकार छ । पशिचमाभिमुख यस मन्दिरको माथि गुम्बज आकारको ठूलो छाना छ तथा छेउमा ४ कुनामा चारवटा साना गुम्बज छन् । मन्दिरको छानाको माथिल्लो भागमा गुम्बजमाथि घोप्टिएको कमलको आकारको शिलामाथि शिलाकै गजूर छ र गजूरको छेऊमा त्रिशुल राखिएको छ । करिब २५ फिट अग्लो मन्दिरको वरिपरि एउटै उठेको पेटी छ । मन्दिरको मूल ढोका अगाडि एउटा वशाह बनाइएको छ । मन्दिरलाई चारैतिरबाट इट्टाको पर्खालले घेरिएको छ ।
ख) पूजा/परम्पराः
यहाँ बिहान बेलुका नित्य पूजा हुन्छ । मुरलीधरनारायण मन्दिरका पूजारीले नै यहु पूजा गर्ने गर्दछन् । शिवरात्री र हरितालिका तीजमा यहाँ जात्रा हुन्छ । मन्दिरको नाममा रहेको गुठी जग्गा रैकरमा परिणत भएबाट पूजा र अन्य कार्य प्रभावित बन्दै गएको छ ।
५. प्रयोगः धार्मिक

६. व्यवस्थापनः मन्दिरको प्रभावकारी व्यवस्थापन छैन ।
७. भौतिक अवस्थाः सामान्य छ तर झारपात पिपल उमि्रएर छाना ठाउँठाउँमा चर्किएको छ ।
८. अध्यताले देखेका अन्य विवरण र राय सुझावः मन्दिरको छानामा उमि्रएका झारपातहरु समय समयमा हटाउनु पर्ने र चर्किएका छाना जिर्णोद्धार गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रियाहरू

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *