बूढीकोट पर्यटकीय साहित्यिक यात्रा

बूढीकोट पर्यटकीय साहित्यिक यात्रा

मनोज श्रेष्ठ/शिवप्रसाद उप्रेती
देउराली (गोरखा): ‘डालीमा रोयो चरीले टेकेर, टाढाको बाटो म धाउँदै आ’को बूढीकोटी देवीलाई देखेर . . . ’ गोरखाको देउरालीमा शुक्रबार राति साढे १० बजे आरआर क्याम्पस काठमाडौंमा बीए तेस्रो वर्षमा अध्ययनरत मनुकला खनालले गाएको गीतमा मञ्‍जु अनगाईं नाचिरहेकी थिइन्। बूढीकोट पर्यटकीय साहित्यिक यात्राको क्रममा गाउँमै आयोजित सांस्कृतिक कार्यक्रममा संगीको साथमा मनुकलाले गाएको गीतले आगुन्तकलाई स्वागत गर्दै आफ्नो क्षेत्रमा रहेको पर्यटकीयस्थलको बयान गरिरहेको थियो। ‘आफ्नै गाउँको पर्यटकीय विकासका लागि राजधानीबाट दुई दर्जन साहित्यकार र पत्रकार पुगेका छन्’ भन्ने सुनेपछि पढाइ छाडेर देउराली पुगेकी मनुकलाले भनिन्, ‘एकदुई दिन पढाइ छुटे पनि म कभर गर्न सक्छु तर हाम्रै लागि भनेर यतिका पाहुना आउँदैछन् भने म चाहिँ कसरी काठमाडौंमै बस्न सक्छु। आशा छ अब हाम्रो ठाउँमा रहेको बूढीकोटको पर्यटन विकासमा यस यात्राले ठूलो सहयोग मिल्नेछ।’

गाविसमा यति धेरै उपस्थित सांस्कृतिक कार्यक्रम पहिलो पटक भएको उपस्थित दर्शकको भनाइ छ। बूढाबूढी र केटाकेटीको बाहुल्य रहेको कार्यक्रम हेर्न गाविसकै कुनाकुनाबाट चारपाँचघन्टा हिँडेर आएका थिए। कार्यक्रम हेर्दै गरेकी सम्झना श्रेष्ठका अनुसार गाउँमा भएका अघिकांश युवा कमाइको लागि विदेश पलायन भएपछि गाउँमा आइमाई र केटाकेटीमात्रै छन्। उनका पति पनि एक वर्षअघि कतार गएका रहेछन्। उनी भन्छिन्, ‘युवाहरू विदेश पलायन भए पनि आफ्नो ठाउँको पर्यटकीय विकास गरी गाउँमै भएको पर्यटकीयस्थल बूढीकोटको प्रवद्र्धनमा हामी लागेको छांै। यही ठाउँमा पर्यटकीय विकास भएमा युवाहरू फेरि पनि विदेश पलायन हुनुपर्दैन भनेर हामी तातिएका हौं।’

कार्यक्रम हेर्न देउराली तथा छिमेकी मीरकोट, धुवाँकोटलगायतका गाविसबाट पनि मानिस आएका थिए। कार्यक्रममा भजन टोली, स्थानीय लाखे नाच, गोर्बुंङको चुट्का नाचले उपस्थित दर्शकलाई मनोरञ्जन दिएको अनुभूति हुन्थ्यो। कार्यक्रमस्थल नजिकै भएको डाँडा र पाखामा दर्शकको भीड थियो। छिमेकी गाविसबाट आएका युवाले गरेको प्रस्तुतिले कार्यक्रमस्थल तताएको थियो। युवाको प्रस्तुतिमा ‘हुटिङ’ गर्नेको पनि कमी थिएन। कार्यक्रम हेर्न ९५ वर्षे वृद्धवृद्धा पनि पुगेका थिए। युवाको प्रस्तुतिले राजनीति, सामाजिक कुरीति, विकृतिलाई उजागर गरेको थियो।

छाकु देउरालीकै लोकदोहोरी गीत र नाचले राजधानी, पोखरा, चितवन, गोरखा सदरमुकाम, आँबुखैरेनीदेखि पर्यटन साहित्ययात्रामा सहभागी भएकालाई समेत नचायो। ‘साहित्य र पर्यटन सँगसँगै’ भन्ने मूल नाराका साथ लिगलिग साहित्य समाजले शुक्रबार र शनिबार देउराली गाविस- ९ मा रहेको बूढीकोटमा पर्यटन साहित्ययात्राको आयोजना गरेको थियो। साहित्ययात्रामा राजधानीबाट साहित्यकारहरू अनिल पौडेल, प्रकट पंगेनी शिव, प्रतीक ढकाल, तुलसीहरि कोइराला, प्रभाती किरण, चंकी श्रेष्ठ (अभय), शिखर आरोहण, जयन्ता पोखरेललयायतले पनि कार्यक्रमबाट मनोरञ्‍जन लिएका थिए।

शनिबार बिहान बूढीकोटसम्मको साहित्ययात्रा गरिएको थियो। यात्रामा सहभागीले बूढीकोटी मन्दिरमा पूजाआजा गरिसकेपछि त्यहाँबाट देखिने अन्नपूर्ण र मनास्लु हिमशृंखला, गणेश, बुद्ध, हिमचुली, माछापुच्छ्रे हिमाललगायतको दृश्यहरूको अवलोकन गरे। त्यस्तै त्यहाँ उपस्थित सबै साहित्यकारले त्यहीँ बसेर रचना गरेका साहित्यिक रचनावाचनसमेत गरे। ‘यसरी नै साहित्यको माध्यमबाट लेखक, पत्रकार यहाँ आए भने यस ठाउँको चर्चा देश तथा विदेशसम्म पनि हुने र विस्तारै पर्यटन विकास हुने देउराली घर भएका पाइलट भगवान थापाले बताए। ‘यसरी नै स्थानीय स्तरको पहलबाट आन्तरिक पर्यटन विकास गर्दै बाह्‍य पर्यटनसमेत विकास गर्न सकिन्छ’ थापाले भने।

शुक्रबार राजधानीबाट ‘बूढीकोट पर्यटकीय साहित्यिक यात्रा’ टोलीलाई आँबुखैरेनीस्थित शिवमन्दिर परिसरमा खादा ओढाएर स्वागद गरियो। चियापानपछि गोरखाको प्रवेशद्वार नाघेपछि आउने प्रत्येक घरको अगाडि स्वागतको लागि तामाको गाग्रीमा पानी फूलको कलश राखिएको थियो। काठमाडौंबाट पुगेका साहित्यकार र पत्रकारलाई देउराली प्रवेश गर्नासाथ स्थानीय राम शाह टोल सुधार समितिले फेरि फूलगुच्छाले स्वागत गरे। त्यसपछि तीन घन्टाको पैदल यात्रापछि पुगिने देउराली-५ मा स्थानीयवासीले फूलको माला र अबिरले टोलीलाई स्वागत गरेका थिए। त्यहाँ सांस्कृतिक कार्यक्रमको साथै गीत, कविता र गजलवाचनसमेत गरियो।

(अन्नपूर्ण पोस्ट् )

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *