बारपाक सुलीकोट गाउँपालिका ७ ग्याजीस्थित तामाखानीमा तामाको मात्रा ‘राम्रो’ रहेको पाइएको छ । खानी तथा भूगर्भ विभागले गत पुस महिनामा गरेको अध्ययनमा ग्याजीमा तामाको मात्रा राम्रो रहेको देखिएको हो ।
गत पुसमा एक महिना लामो अध्ययन गर्दा ग्याजीमा तामा छ भन्ने निश्कर्ष निकालिएको बिभागका सिनियर डिभिजनल जुओलोजिस्ट ठाकुरप्रसाद कँडेलले जानकारी दिए । ‘हामीले छ महिनाअघि गरेको सर्फेस अध्ययनको प्रतिवेदन तयार गरिसकेका छौँ । त्यसमा त्यहाँ तामाको मात्र एक प्रतिशतभन्दा केही कम छ भन्ने देखिएको छ । त्यो भनेको राम्रो हो’, उनले भने, ‘छ कि छैन भन्ने अध्ययन गर्दा छ भन्ने देखियो । अब कति परिमाणमा छ भनेर दोस्रो चरणको अध्ययन गर्नुपर्ने हुन्छ ।
त्यसका लागि आउँदो बर्ष कार्यक्रम पार्न सकिएन, ढिलो भयो । आउँदो बर्ष देशभरका कुन कुन खानीमा दोस्रो चरणको अध्ययन गर्ने भनेर छनौट गर्छौँ । त्यसमा ग्याजीको पनि प्राथमिकतामा प¥यो भने त्यसपछिको बर्ष हामी विस्तृत अध्ययन गर्नेछौँ ।’ उत्खनन गर्दा नाफा हुने परिमाण देखियो भने उत्खनन गर्ने, लगानी अनुसारको उपलब्धी नहुने परिमाण देखियो भने उत्खनन नहुने उनले बताए ।
देशभरका तामाखानीको अहिलेसम्म को अध्ययनमा ग्याजी तामाखानीको अबस्था सन्तोषजनक रहेको पाइएको उनले बताए ।
गत पुस महिनामा खानी तथा भूगर्भ विभागको चार जनाको प्राविधिक टोलीले खानीको सर्फेस अध्ययन गरेको थियो ।
यसअघि २०२८ सालअघि सो ठाउँमा तामाको खानी सञ्चालनमा रहेको सो वडाका वडाअध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । ‘२०२८ सालसम्म तामाखानी चालु थियो भन्ने बुढापाकाहरुको भनाइ छ । त्यतिबेलाको तामाको भाँडाहरु गाउँमा अहिले पनि पाइन्छ’, उनले भने, ‘तर पछि खानी तथा भूगर्भ विभागले नै उत्खनन बन्द गराएको हो । अब उत्खनन कार्य सुरु गर्न हामीले दबाब दिइरहेका छौँ ।’ खानी सञ्चालन हुन सकेमा देश धनी हुने, स्थानीय सरकार धनी हुने विश्वास उनले ब्यक्त गरे ।
‘यहाँ खानी चले धेरै फाइदा हुन्छ’, उनी भन्छन्, ‘पहिलो कुरा त स्वदेशी उत्पादन बढ्छ, आयात घट्छ जसले गर्दा देश धनी हुन्छ । स्थानीय सरकार धनी हुन्छ । स्थानीयबासीले रोजगारी पाउँछन् । यहाँसम्मको सडक पक्की हुन्छ ।’ खानी उत्खननका लागि नीति निर्माण तहमा रहेका नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने उनले बताए ।साभारः दरौँदी दैनिक पत्रिका