प्रेरणाको मुहान ‘हिमालको गोठालो’

प्रेरणाको मुहान ‘हिमालको गोठालो’

शिव उप्रेती ।

सानो छँदा हिमालको काखमा गाई, भैसी, भेंडा चराउने, ठूलो भएपछि हिमालमा विदेशी पर्यटक चराउने गोठाला हुन् उनी । उनी अर्थात सुनार गुरुङ, जो गोरखाको लाप्राकमा जन्मे, २० बर्षको उमेरसम्म धार्चे, रुकाङको भीर पखेरामा गोठालो बने । २० बर्षको उमेरपछि २० बर्ष लामो मिहिनेत गरे । ज्यूज्यानको माया नगरी हिमालमा पैताला धसेपछि उनी देशकै पहिलो अन्तर्राष्टिूय पर्वतारोहण पथप्रदर्शक बने । फ्रान्सको युनिभर्सिटीबाट स्नातकोत्तर डिग्रीधारी अन्तर्राष्टिूय माउण्टेनियरिङ गाइड बने ।
आफूलाई मेटाएर सेवा गर्ने भावना भएकाले गाउँको गोठालो हुँदा सानैदेखि सबैको स्याबासी पाएका सुनारले विदेशीको गोठालो बनेपछि अथाह देशी विदेशी पुरस्कार, सम्मान, प्रसंसा, मानपद्वी पाए । उनको अन्तर्राष्टिूय पर्वतारोहण गाइडको बिजनेश एकातिर छ, अठारसय खोलामा दर्जनौं विद्यालय निर्माण गरेर हिमालका हजारौं गोठाला विद्यार्थीलाई शिक्षाको उज्यालो देखाउने काम गरिरहेका छन् । उनै सुनारको कथा लेखिएको किताब हो हिमालको गोठालो ।
४१६ पेजमा संरचित हिमालको गोठालोको सम्पादन युवराज नयाँघरेले गरेका छन् ।
उनीभन्दा अघिका सन्तान जन्मनासाथ कालले लैजाने गरेकाले कालले हेलाँ गरोस् भन्ने उद्देश्यले बुबाआमाले उनको नाम सुनार राखेको प्रसंग पुस्तकमा छ । होचो कद तर काम उच्च गर्नुपर्दा पाएको सुनारको बर्णन पुस्तकमा कम्ती रोचक छैन । गोठमा बस्दा होस् वा ढाकर बोक्दा होस्, हलो जोत्दा होस् वा गोठ सार्नुपर्दा पाएको दुख यसरी बर्णन गरिएको छ कि लाग्छ किताब पढिरहेको होइन, चलचित्र हेरिरहेको छु ।
पर कतैबाट नदेखिने, उहीँ पुगेपछि मात्र देखिने लुकेको गाउँ हो लाप्राक । लुकेको ठाउँको एउटा कुना कन्दरामा लुकेको एउटा व्यक्तिको जिन्दगी कसरी अन्तर्राष्ट्रियकरण हुनसक्छ भन्ने प्रेरणादायक पुस्तक हो हिमालको गोठालो ।
जीवनका घुम्तीहरुलाई उपशीर्षक बनाएर यस पुस्तकलाई १११ वटा खण्डमा विभाजन गरिएको छ । अत्यन्तै सरल शव्दमा अत्यन्तै मिठासपूर्ण शैलिमा यो पुस्तक लेखिएको छ । एउटा दुर्गम गाउँ जति सरल, सुवोध हुन्छ, हिमालको गोठालो नामक यस पुस्तक त्यस्तै सरल मात्र छैन, सरस छ, प्रेरक छ ।
कुनै मान्छे सफल हुनका लागि कि सुबिधासम्पन्न ठाउँमा जन्मनु पर्छ, कि कुल खानदानमा जन्मनुपर्छ, कि लेख्ने पढने वातवरण भएको ठाउँमा हुर्कनुपर्छ, कि शरीरले साथ दिनुपर्छ भन्ने रुढि मान्यता यो पुस्तकले मेटाइदिन्छ । निरन्तरतको साधना, संयमतता, इमान्दारिता, मिहिनेतले मान्छेको जीवनलाई कायापलट गराइदिन्छ भन्ने हिमालको गोठालो पढेपछि छर्लङ्ग हुन्छ ।
१८ बर्षको उमेरमा विदेशीको ढाकर बोक्न अन्नपूर्ण पदमार्गति गएका सुनारलाई गाइड, शेर्पाहरुले ज्यूज्यान सानो भएको कारण देखाउँदै भारी बोक्नबाट समेत बञ्चित गराउन खोज्छन्, त्यसैको इखले उनी पहिलो चरणमा सफल भरिया बनेर स्थापित भइदिन्छन् ।
इमान्दार, बफादार र जिम्मेवार उनको बानी मन परेर फ्रान्सका पर्यटकले उनलाई फ्रान्स लिएर जान्छन् । त्यहाँ सरदर नेपालीले झैं काम गरेर पैसा कमाउनतिर नलागी उनी हिमालको गोठालो हुने अभ्यासमा तल्लीन हुन्छन् । अथवा अन्तर्राष्टिूय पर्वतारोहण पथप्रदर्शकको पढाइ सुरु गर्छन् । आठबर्षको मिहिनेतपछि नेशनल स्कूल अफ स्की एण्ड माउण्टेनियरिङ, फ्रान्सबाट सन् २००८ मा उनले डिग्री हात पारेको विषय हिमालको गोठालोमा उल्लेख छ ।
लामो अध्ययन र कडा मिहिनेतपछि सुनार अन्तर्राष्टिूय पर्वतारोहण सम्बन्धी देशकै पहिलो प्रमाणित पथप्रदर्शक बन्छन् । यो गौरवबापत उनले अन्तर्राष्टिूय, राष्टिूय, संस्थागत गरी तीन दर्जनभन्दा धेरै पुरस्कार, पदक, सम्मान पाउँछन् । गोरखा जिल्लाले पर्यटन सद्भावना दूत घोषणा गर्छ ।
होचो कद, सानो ज्यूज्यान भएकाले गाउँमा साथीसंगीले खेताला नपत्याएका, शेर्पा, गाइडले भरिया नपत्याएका सुनार यति उच्च कदको बन्लान् भनेर मान्छे त परको कुरा उनकै भाग्यले पनि नपत्याएको हुनसक्छ । चामत्कारिक पुरुषार्थ प्रदर्शन गरेर उनले जीवनलाई चामत्कारिक ढंगले परिवर्तन गरेको बिषय पुस्तकमा छ ।
उनलाई फ्रान्स लैजाने सहयोगीहरु पनि यो परिवर्तनसंग सन्तुष्ट मात्र होइन, आश्चर्यचकित छन् । उनीहरुले फ्रान्समै बस्न धेरै आग्रह, अनुरोध गर्छन् तर सुनार नेपाल अझै आफ्नै गाउँ लाप्राकको मायाले नेपाल फर्कन्छन् । अहिले उनी पर्यटन व्यबसायमै छन् । जीवनका तीसौं बर्ष पर्यटन व्यबसायमा बिताएका उनी नेपाल नेशनल माउण्टेन गाइड एशोसिएशन, पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति, नेपाल पर्वतारोहण खेलकुद संघ, नेपाल पर्वतारोहण संघ, नेपाल पर्वतारोहण प्रशिक्षक संघको नेतृत्व तथा बिभिन्न पदमा रहेर काम गरिसकेका बिषय हिमालको गोठालोमा उल्लेख छ ।
उनको सामाजिक जीवन पनि उत्तिकै महत्वपूर्ण छ । उनले लाप्राकका साथीहरु नामको अन्तर्राष्टिूय संस्था र गणेश हिमाल एशोसिएशनसंग आवद्ध भएर लाप्राक, गुम्दा, लप्सीबोट, उहिया, बारपाक, मान्द्रे, बल्फे, खोर्ला, बालुवा, केरौंजा, रुन्चेत, यमगाउँ, माछाखोला र थलामा विद्यालय भवन निर्माण, छात्रबास निर्माण गरेर शिक्षा क्षेत्रमा सहयोग गरेको बिषय पुस्तकमा समेटिएको छ ।
उनको जीवनीको बिषयमा वृत्तचित्र समेत तयार भएको छ । अङ्ग्रेजी र फ्रेन्च भाषामा उनको जीवनवृत्तचित्र हेर्ने सुबिधा छ । त्यस्तै उनको आत्मवृतान्त लेखिएको हिमालको गोठालो नामको पुस्तक नेपाली, अङ्ग्रेजी र फ्रेन्च भाषामा पढ्न पाइन्छ ।
हिमालको गोठालो पुस्तक आत्मवृतान्त त हो, साथै एउटा प्रेरणादायी पुस्तक हो । यसले हिमाली भेगको एउटा पशु चौपायाको गोठालो अन्तर्राष्टिूय व्यक्तित्व बन्न सक्यो भन्ने उदाहरण देखाउँदै आम पाठकलाई अघि बढ्ने मार्गप्रदर्शन गर्छ ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *