गिरिजाबाबु, प्रचण्ड र लक्ष्मणबाबु

गिरिजाबाबु, प्रचण्ड र लक्ष्मणबाबु

ऋषि धमला
मनकामना केवल कार चढ्ने नेपाली विरलै छन्। राजा ज्ञानेन्द्रदेखि माओवादी अध्यक्ष प्रचण्डसम्म, भारतीय प्रधानमन्त्री चन्द्रशेखरदेखि बलिउडका फिल्मस्टारले गरेको यात्रा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चाहिँ गर्नुभएको रहेनछ । मनकामना केवलकारका निर्माता लक्ष्मणबाबु श्रेष्ठलाई अहिलेसम्म खट्केको कुरा नै यत्ति हो। ‘मनकामना माईको आशीर्वादले कोइरालाको स्वास्थ्यमा सुधार आउने मलाई विश्वास छ,’ लक्ष्मणबाबु भनिरहनुभएको छ, ‘गिरिजाबाबुले एकपटक मनकामना माईको दर्शन गर्नुभयो र उहाँलाई मेरो पौरख केवलकार देखाउन पाए मलाई सन्तोष हुन्थ्यो ।

मुलुकको तरल अवस्था, प्रधानमन्त्रीको वृद्धावस्था र स्वास्थ्यका कारण मनकामना दर्शन सम्भव छ त ? त्यो पनि लक्ष्मणबाबुले मनमनै साँचिसक्नुभएको छ- गाडीमा सम्भव नभए हेलिकोप्टर स्टेसनमा बस्छ।त्यसपछि केही मिनेट उहाँले मनकामना केवलकारमा यात्रा गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ- म यति उत्सुक छु कि यो काम ऋषिजीमार्फत होस् । मनकामना केवलकार पुगेपछि दिवंगत राजा वीरेन्द्रले लक्ष्मणबाबुलाई पटकपटक धाप मार्नुभयो । ‘तिमीले यति ठूलो काम गर्‍यौं, दुनियाँमा सबैसित प्रतिस्पर्धा गर्न सक्ने नमुना बनाएका रहेछौं,’ नाफाघाटाको प्रसंग जोड्दै वीरेन्द्रले भन्नुभयो । ‘मैले सोचेभन्दा राम्रो भएको छ सरकार,’ लक्ष्मणबाबुको कुरा उहाँले पत्याउनुभएन, ‘साँच्चै भनेको कि मिठो कुरा गरेको हो ?’ ‘मैले बनिबनाउ कुरा गरेको होइन । पाँच वर्षमा ऋण तिर्न सक्षम हुन्छु,’ बडो आत्मविश्वासका साथ लक्ष्मणबाबुले थप्नुभयो । हुन पनि राजा वीरेन्द्रले पहिलोपटक व्यवसायीको मुखबाट आशाप्रद वाणी सुन्नुभएको थियो । नत्र नेपालमा उद्योगधन्दा सञ्चालक विरलै फाइदाको प्रसंग उठाउँछन् ।

राजा ज्ञानेन्द्रबाट पनि लक्ष्मणबाबुले राम्रो आइडिया भन्दै परख गर्नुभयो । खुला जीवनमा आएपछि माओवादी अध्यक्ष प्रचण्डले पनि लक्ष्मणबाबुको प्रशंसा नगरिरहन सक्नुभएन । अँगालो हाल्दै प्रचण्डले गजब तारिफ गनर्ुभयो, ‘मैले जम्मा दुईजनासित भेट्न चाहेको थिएँ, एउटा डा. हर्क गुरुङ र अर्को तपाईं । हाम्रो चिन्ता र विचार तपाईंले साकार पार्नुभएको रहेछ ।’ एक घण्टा लामो कुराकानी भयो । लक्ष्मणबाबुको हात समातेर मन्दिर प्रांगणमा टक्क उभिनुभयो प्रचण्ड । ‘दर्शन गर्न जाउ”m,’ लक्ष्मणबाबुले भन्नुभयो । तर, प्रचण्डले मान्नुभएन । जनताको इच्छा र जनताको विचार सम्मान नेताले गर्नुपर्छ भन्ने उहाँको कुरामा सहमत हुँदै प्रचण्डले पर्यटकका रुपमा मन्दिर परिक्रमा गर्नुभयो । नेपालका एक चामत्कारिक व्यक्तित्व लक्ष्मणबाबु श्रेष्ठ सन् १९३७ मा गोरखा पोखरीथोकका प्रेमनारायण र देवकुमारीका सन्तानका रुपमा व्यापारिक घरानामा जन्मनुभएको हो । उहाँका पाँचजना दाजुभाइमध्ये जेठा कोमलनारायण दिवंगत भइसक्नुभएको छ । किशनबाबु, रामबाबु र भरतबाबु उहाँका दाजुभाइ हुनुहुन्छ । उहाँको बाल्यकाल गोरखामा बित्यो । ६ कक्षा पढ्दा परिवारका केटाकेटी जम्मा गरेर एबीसीडी पढाउनुभयो उहाँले । पछि त्यही शक्ति विद्यालयका रुपमा स्थापित भयो । विद्यार्थी जीवनमा नै शिक्षकको भूमिका निर्वाह गरेका लक्ष्मणबाबु १३, १४ वर्षको उमेरमा काठमाडौं पस्नुभयो । काठमाडौंबाट शिक्षक खोजेर पठाउनुभयो । तलब व्यवस्था मिलाउन गाह्रो छँदै थियो ।

गोरखा बजारमा भाडा लिएर चामल, दाल उठाउँदै हिँड्नुभयो । जेपी स्कुलबाट एसएलसी गरेपछि लक्ष्मणबाबुले त्रिचन्द्र कलेजमा राजनीतिशास्त्र र अर्थशास्त्र पढ्नुभयो । कलेज जीवनपछि अर्थात् १९, २० वर्षको उमेरमा लक्ष्मणबाबु श्रेष्ठका तीन विकल्प थिए । अझ पढ्ने, जागिरमा जाने या पुख्र्यौली व्यापारमा लाग्ने । मध्यमवर्गीय वित्तको परिवार थियो । महिनैपिच्छे घरबाट आउने अढाइ सयले जेनतेन जीवनको चक्का गुडेको थियो । उहाँलाई कपडा च्यातेर बस्ने इच्छा पटक्कै थिएन । एक दिन गोरखापत्र पढ्दापढ्दै चितवनमा हर्टिकल्चर घर बनाउने टेन्डरमा उहाँको आँखा पर्‍यो । ख्यालख्यालैमा २०१६, १७ सालतिर एक रुपैयाँ टिकट टाँसेर हालेको टेन्डर स्वीकृत भएछ । तर, चार महिनासम्म उहाँले सम्पर्क नै गर्नुभएन । कृषि मन्त्रालयमा पनि कुरा चलेछ ।
तनहुँतिर घर भएका कृषि विभागका केशव सुब्बाबाजे एक दिन कोठामा आइपुग्नुभयो । त्यसपछि पनि पटक पटक ताकेता गर्नुभयो उहाँले, कि गर्नुपर्‍यो, कि छाड्नुपर्‍यो । एक दिन तिनै सुब्बाबाजेले सिंहदरबारसँगै लैजानुभयो । पाएको एक हप्ता समय बित्दा पनि लक्ष्मणबाबुले जाँगर देखाउनुभएन । पछि मन्त्रालयका अधिकारीहरुको आडभरोसा पाएर उहाँले जीवनको पहिलो ठेक्का सम्हाल्नुभयो । त्यतिबेला नेपाली ठेकेदार थिएनन् । नेपालीले जानेको दोकानमात्र थियो । लगातार काम गरिरहनुभयो लक्ष्मणबाबुले । शिक्षा विभागका महानिर्देशक दीर्घराज कोइरालाले शिक्षा कार्यालयको दुइटा भवनको जिम्मा दिनुभयो । त्यसबाट भएको फाइदाबाट ठेक्कापट्टामा लोभ लाग्दै गयो । पछि उहाँले चितवन कन्सस्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी खोल्नुभयो । त्यही कम्पनी २०२४ मा चितवन कोई बनेको हो । लक्ष्मणबाबु श्रेष्ठ जीवनमा यत्रतत्र छरिनुभएन । हेटौडामा ४५ सय किलोवाटको जलविद्युत् ठेक्काले चाहिँ लक्ष्मणबाबुलाई झन्डै विचलित बनायो । २२ लाखको ठेक्का थियो, अहिले १, २ अर्बबराबरको । अनुभवको कमीले बेपत्ता घाटा भयो । माइला दाइ किशनबाबुले ढाडस दिनुभयो । चितवनको २० विघा खेत बेचिदिएर उहाँ ऋणमुक्त हुनुभयो । त्यसपछि लक्ष्मणबाबु राजनीतिमा बरालिन खोज्नुभयो । तर, किशनबाबुले सम्झाउनुभयो- हण्डर खाएपछि नै बुद्धि आउँछ । गरेको काम नछाड्नू । दुई, तीन वर्ष निष्त्रिmय जीवन बिताएपछि उहाँ फेरि सक्रिया हुनुभयो । चितवन कोइको काम ४०, ४२ सालसम्म एक्लै सम्हाल्नुभयो । पचासको दसकपछि मात्र छोराहरुबाट पूर्णरुपमा सहयोग पाउनुभयो । यस अवधिमा उहाँले विश्व बैंक, एसियाली विकास बैकका कामसमेत गर्नुभयो । पोखराका बेगनास, विजयपुर, फेवा डम्याम्पदेखि गण्डकी अञ्चल अस्पताल, मणिपाल कलेज, नारायणी सिचाइ, फूलबारी होटल उहाँले नै ठेक्कामा लिनुभएको थियो । ठेकेदारी जीवनको पछिल्लो परिणाम हो मनकामना केवल कार ।

गजबको इतिहास छ यसको । पहिले गोरखा-काठमाडौं आउँदाजाँदा उहाँको मनमा नानावली कुरा आइरहन्थ्यो । काठमाडौं बालाजुबाट झोला बोकेर पाँच दिन असिनपसिन हुँदै उकालो, ओरालो गरेर चौतारीमा सुस्ताउँदा उहाँ डाँडाको टुप्पाटुप्पामा डोरी टँगेर झुण्डिन पाए कति सुविधा हुन्थ्यो जस्तो लाग्थ्यो । पछि के थाहा भयो भने, भारत, जापान, रुस, युरोपका देशमा यो प्रविधि भित्रिसकेको रहेछ । सन् १९८८ सम्म ठेक्कापट्टाको ब्यस्तताले उहाँले केवलकारतिर ध्यान दिन पाउनुभएन । त्यसै वर्ष मरीचमानसिंह श्रेष्ठको सरकारले मनकामनामा केबुलकार सञ्चालन गर्न अनुमति लिने ३५ दिने म्याद दियो । तर, त्यसको म्याद गुजि्रसकेपछि पनि लक्ष्मणबाबु चूपचाप बस्नुभयो । तर, लामो समय पर्खदा पनि यसको सुरसार नभएपछि उद्योग विभाग गएर सोध्नुभयो, काम किन भएन ? तत्कालीन महानिर्देशक भानु आचार्यले लाइसेन्स पाएको काठमाडौंको एकजना म्यादमात्र थप्छ, काम गर्दैन भन्ने जानकारी दिनुभयो । त्यसपछि पनि उहाँ विभाग धाइरहनुभयो । तर, काम सुरु भएन । तीन चार महिनापछि लाइसेन्स बदर भयो । ढुण्डीराज शास्त्री उद्योगमन्त्री भएका बेला अर्थात् १९९६ मा लक्ष्मणबाबुले लाइसेन्स पाउनुभयो । त्यसपछि उहाँले विश्वयात्रा गर्नुभयो । सन् १९९८ जनवरी ४ मा काम सुरु भयो, राजा वीरेन्द्रलाई हृदयाघात भएपछि नोभेम्बर २६ मा तत्कालीन युवराज दीपेन्द्रबाट उद्घाटन भयो । लक्ष्मणबाबुको जिन्दगीको सबैभन्दा ठूलो सफलता हो मनकामना केवल कार । ‘मेरो विद्यार्थीकालीन सपना पूरा भयो,’ उहाँ भन्नुहुन्छ, ‘त्यति सन्तुष्टि मलाई अरु काममा मिलेको थिएन ।’

नेपालमा पहिलो प्रविधि भएकाले धेरैले उहाँलाई हतोत्साह नगरेका होइनन् । ५० करोडको प्रोजेक्ट अन्ततः सफल बनाउने अठोट उहाँमा थियो ।केवल कार निर्माणको अवधिभर बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म साइडमा नै बसेर काम गर्नुभयो उहाँले । एक हजार जनशक्तिले काम पायो । डेढ सय खच्चड, हेलिकोप्टर, गाडी प्रयोग भएको थियो । लोकल केवलकार बन्यो । अवरोध बताइसाध्ये थिएन । निर्माणक्रममा आँबुखैरेनी पुलमा हिँड्नसमेत नदिइएपछि दरौदीमा पुल हाल्नुभयो । सिलिङमा जनताले बाटो हिँड्न नदिएपछि हेल्थपोस्ट बनाइदिनुभयो । मनकामनापछि कालिन्चोक र स्वर्गाद्वारीमा केबल कार स्थापना गर्ने उहाँको सोच थियो । तर, प्रतिकूल अवस्थाले काम हुन सकेन । ‘कोपर्ने र चिथोर्ने धेरै आउने भएकाले हिम्मत गरेको छैन,’ उहाँ भन्नुहुन्छ- ‘राजनीतिक अस्थिरता, स्थानीय र राजनीतिकरणको समस्या चर्को छ ।’ कृषिप्रधान देश भएकाले किसानलाई राहत दिन उहाँ दुई वर्षपछि १५ हजार टन क्षमताको पाउडर मिल्क उद्योग चितवनमा खोल्दै हुनुहुन्छ । त्यस्तै, मध्य मस्र्याङ्दीभन्दा २० किमि माथि माथिल्लो मस्र्याङदी जलविद्युत् आयोजना सुरु गर्न चाहनहुुन्छ । सरकारले मौका दिए तीन वर्षमा काम सम्पन्न गर्ने अठोट उहाँमा छ । वरिष्ठ व्यवसायी लक्ष्मणबाबु श्रेष्ठ बुद्धिमा पुष्पलाल र बीपी कोइरालालाई सम्मान गर्नुहुन्छ । उहाँको विचारमा मनको चोखो र सत्य बोल्ने नेता गणेशमान सिंह हुन् । तर, मनपर्ने नेता चाहिँ पुष्पलाल हुन् । आजसम्म सबै पुष्पलालकै लाइनमा लागेको उहाँको धारणा छ । अहिलेका नेता त्यतिबेला लागेको भए उहिल्यै सफल हुन्थ्यो- उहाँ भन्नुहुन्छ । उहाँका पि्रय राजाचाहिँ वीरेन्द्र रहेछन् । खानामा नेपाली दालभाततरकारी मन पराउने उहाँको कमिज र पाइन्टमा रुचि छ । चलचित्र थोरै हेर्नुहुन्छ । छोराछोरीले कर गरे चलचित्र घर जानुहुन्छ । नायकमा राजेश हमाल र नायिकामा करिश्मा मानन्धरका प्रशंसक लक्ष्मणबाबुको गोरखा, चितवन, पोखरा र काठमाडौंमा घर छन् । हेटौडा, वीरगन्जका घर बेच्नुभयो । बैंकमा पैसा नै छैन रे । ‘मेरो हातमा नगद कहिल्यै हुँदैन,’ हाँस्दै उहाँ भन्नुहुन्छ, ‘तर, आँटेको काम पूरा हुन्छ ।’ उहाँको विचारमा जन्म र मृत्यु अनिश्चित छ । त्यसैले भगवान् मान्नुहुन्छ । मन्दिर श्रद्धाले जानुहुन्छ तर लोभलालचले होइन । घरमा कुकुर पाल्नुभएको छ । किशोरकालमा फुटबल, डन्डिबियो खेल्नुभयो । लक्ष्मणबाबुले त्रिचन्द्र कलेजकी सहपाठी धनकुमारी हमालसित प्रेम गर्नुभयो । धनकुमारीको मायाजालमा एक, दुई वर्ष फसेपछि घरमा नसोधी उहाँले अन्तर्जातीय विवाह गर्नुभएको हो । २०१७ मा गुहयेश्वरीमा स्वयम्बर भयो । प्रेमपत्र उहाँले कहिल्यै लेख्नुभएन । रिसाउनेबाहेक धनकुमारीको सबै बानी उहाँलाई मनपर्छ । भन्नहुन्छ-भनेको कुरा नभए रिसाउने आइमाईको विशेषता नै हो । नजिकको बसउठ भएकाले ठाकठुक सामान्य हो । बाटो हेर्दा मन पराउनु बेग्लै हो । नत्र एकनिष्ठ प्रेम गर्नुभयो उहाँले । सेक्स प्राकेतिक नियम, एकअर्काको आकर्षण, सेक्स दालभातजस्तै हो- उहाँ भन्नुहुन्छ, सेक्स त विवाहपछि राम्रो हो । अनि प्रेम चिरस्थायी हुन्छ । श्रीमतीबाहेक अरुसित उहाँले सेक्स अनुभव गर्नुभएन । प्रतिष्ठित व्यवसायी लक्ष्मणबाबुका तीन छोरा र एक छोरी हुनुहुन्छ । छोरी रोशना, छोराहरु राजु, रोशन र राजेशको विवाह भइसकेको छ । तर, उहाँका माइला छोरा रोशनलाई धेरैले चिन्दैनन् । ६, ७ वर्षमा बुढानीलकण्ठ, त्यसपछि चण्ढीगढ, आसाम हुँदै अमेरिका पुग्नुभएको छ । छिटो सुत्ने, छिटो उठ्ने उहाँको बानी छ । चार बजे उठेर चिया, एक बोत्तल पानी, ध्यान, योगा, प्रातःभ्रमणपछि उहाँ एउटा स्याउ खानुहुन्छ । रक्सी नखाने लक्ष्मणबाबु चुरोट कहिलेकाहीँ पिउनुहुन्छ । उहाँ भन्नुहुन्छ- सबै चिज खान्छु, हरेस खान्न । लक्ष्मणबाबुको विचारमा सफलता र असफलताको अनुभव नै जीवन हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *