‘बाबुरामको जिल्ला भनेर ओली सरकारले गोरखालाई नाम मात्रैको बजेट दियो’– भट्टराई

‘बाबुरामको जिल्ला भनेर ओली सरकारले गोरखालाई नाम मात्रैको बजेट दियो’– भट्टराई

पूर्व प्रधानमन्त्री एवम् बिघटित प्रतिनिधिसभामा गोरखा क्षेत्र नम्वर २ का प्रतिनिधि डाक्टर बाबुराम भट्टराईले बजेट बिनियोजनका क्रममा सरकारले गोरखाप्रति सौतेनी ब्यवहार गरेको आरोप लगाउनु भएको छ ।

गृहजिल्ला गोरखामा सोमवार स्वास्थ्य सामग्री वितरण गर्न आउनु भएका उहाँले आगामी आर्थिक वर्षका लागि सरकारले गोरखामा नाम मात्रैको बजेट छुट्याएको बताउनुभयो ।

पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले गोरखा बाबुरामको जिल्ला भएकै कारण ओली सरकार गोरखाप्रति पूर्वाग्रही भएको पनि बताउनुभयो ।

गोरखा र आगामी बर्षको वजेटबारे भट्टराईले यसो भन्नुभयो :

गोरखा जिल्लामाथि केपी ओलीको सरकार जो ३ वर्षदेखि अघि बढेर आयो, यसको एउटा बक्रदृष्टिनै रह्यो र सौतेनी ब्यवहार गरियो भन्ने मेरो भनाई हो ।

अलि पहिले त मेरो सामान्य आशंका थियो, अब त मेरो आरोपै छ । गत १०/१२ वर्ष यता हेर्नुभयो भने म प्रधानमन्त्री र अर्थमन्त्री अनि हिसिला यमीजी भौतिक योजना मन्त्री छँदा गोरखाको विकासलाई ब्यवस्थित गरौं भनेर पूर्वाधार विकासलाई सुविचारित ढंगले अघि बढाएका थियौं ।

बूढीगण्डकी, दरौंदी, मरस्याङ्दी र चेपे किनारका बाटाहरु, मध्यपहाडी लोकमार्ग, बूढीगण्डकी जलविद्युत आयोजना जस्ता रणनीतिक महत्वका परियोजनाहरु अघि बढाइयो ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि गोरखा अस्पतालको स्तरोन्नती गर्ने, कम्तिमा २/३ ठाऊँमा पोलिटेक्निक इन्ष्टिच्युटहरुको सुरुवात गर्ने र क्रमश : तिनलाई अघि बढाउने र च्याङ्ली आसपास राष्ट्रिय औद्योगिक क्षेत्र बनाउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला घोषणानै भैसकेको थियो ।

पर्यटन पूर्वाधारका निम्ति मनकामना, गोरखा, लिगलिग, सिरानचोक, वारपाक लगायतका क्षेत्रहरुलाई जोडेर एउटा पर्यटन सर्किटनै बनाउनुपर्छ भन्ने जस्ता योजनाहरु मैले ब्यक्तिगत रुपमा अगाडी सार्दै आएकै हो ।

गोरखकाली जस्तो राष्ट्रिय स्तरको एउटा मात्रै उद्योगलाई यसरी बन्द गरे राखिनु हुँदैन, त्यसलाई नयाँ ढंगले ब्यवस्थापन गरेर अगाडी बढाउनुपर्छ भनेर कुरा राखिएको थियो ।

मैलेनै बूढीगण्डकी आयोजना, बेनीघाटबाट लार्केसम्मको सडक, बाह्र किलोबाट भच्चेक र बारपाकसम्मको सडकको काम शुरु गरेको थिएँ तर १०/१२ वर्षसम्म पनि ति कामहरु पूरा हुन सकेको छैन ।

यि आयोजनाहरुका लागि अहिलेको बजेट नाममात्रैको छ । स्थिर सरकार आएको ३ वर्षको वजेट हेर्दा यो कुनै योजनामा पर्याप्त बजेट पनि छैन ।

जस्तो बेनीघाटबाट आरुघाट हुँदै लार्केसम्मको १ शय १० किलोमिटर सडकलाई पक्की बनाउने हो भने ८ देखि १० अर्ब रुपैयाँ चाहिन्छ तर कहिले १२ करोड, कहिले १५ करोड, शायद यो वर्ष २० करोड छुट्याएको होला ।

अनि, बाह्र किलो बारपाक सडक हिसिला यमी भौतिक पूर्वाधार मन्त्री र म अर्थमन्त्री हुँदा अघि बढाएको योजना हो । अहिलेको बजेट हेर्नुभयो भने त्यहाँ नाममात्रैको बजेट छ, अहिलेसम्म पनि त्यो सडक पूरै पिच हुन सकिरहेको छैन ।

पन्थडिही कटहरे हुँदै हर्मीबाट लमजुङसम्मको सडक जसलाई बैकल्पिक मध्यपहाडी लोकमार्गको बाटो बन्न सक्छ भनेर एक्जिम बैङ्क मार्फत ऋण लिएर शुरु गर्ने भनिएको थियो तर अहिलेसम्म त्यसको स्तरोन्नती गर्ने काम हुन सकिरहेको छैन, त्यो सडकमा कुनै पनि प्रकारको बजेटको ब्यवस्थापन पनि गरिएको छैन ।

औद्योगिक क्षेत्र बन्ने कुरा हरायो, पालुङटार विमानस्थल स्तरोन्नती गर्ने भन्ने कुरा पनि हरायो । पालुङटारलाई स्मार्ट सिटि अर्थात् ब्यवस्थित शहरीकरणको गुरुयोजना बनाउने भन्ने कुरा थियो, स्मार्ट सिटि नामाकरण भएको थियो, त्यो पनि अहिलेको बजेटमा छैन ।

मैले बुझ्दा ति निरीह मन्त्रीहरुले के भन्छन् भने प्रधानमन्त्री तपाईं बाबुरामप्रति र गोरखाप्रति यति पूर्वाग्रही हुनुहुन्छ कि हामीले यहाँ गरेर पठाएका हुन्छौं तर प्रधानमन्त्री कार्यालयले बक्रदृष्टि राख्छ भन्नुहुन्छ ।

मैले ठट्टा पनि गरें, कतै उहाँको सफ्टवेयरमा गोरखा भन्ने शब्दलाई चाहिँ डिलिट गरेर राख्नुभएको छ कि क्यो हो भनेर मैले भनेको पनि हो ।

अहिलेको वजेट हेर्नुहोस् त, गोरखाको नामको उच्चारणनै छैन, एउटा गोरखकाली भन्ने शब्द चाहिँ वजेट बक्तब्यमा परेको छ । राजस्व चाहिँ सबै जनताले तिर्नुपर्ने, गोरखाले राजस्व नतिर्नु पर्ने भनेको छ ? कुनै पार्टी विषेशको हो र त्यो राजस्व रकम ?

कसैप्रति आग्रह र पूर्वाग्रह राखेर वा भावनात्मक ढंगले मैले यो कुरा गरेको होइन । राज्यको नेतृत्व गर्ने मानिसको यो प्रकारको पूर्वाग्रही र गैरजिम्मेवार भूमीका हुनुहुँदैन, गर्न दिनुहुँदैन ।

सभार: choicefm.org

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *