पैसा होइन न्याय चाहि! न्यायको लागी ज्यान दिनु पर्ने!! न्याय नपाय गोर्खा जानु!!!

पैसा होइन न्याय चाहि! न्यायको लागी ज्यान दिनु पर्ने!! न्याय नपाय गोर्खा जानु!!!

पैसा होइन न्याय चाहि!

न्यायको लागी ज्यान दिनु पर्ने!!

न्याय नपाय गोर्खा जानु!!!

काठमाडौं ‍- छोराको हत्यापछि दोषीलाई कारबाही माग्दै अनशन बसेका वृद्ध दम्पती वीर अस्पताल अगाडि विक्षिप्त छन्। हत्याको अनुसन्धान नभएपछि न्याय खोज्दै बालुवाटारमा अनशन बस्न लाग्दा उनीहरुलाई प्रहरीले भ्यानमा कोचेर वीर अस्पतालमा छाडेको हो।
गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नी गंगामाया न्याय खोज्दै प्रधान न्यायाधीशसमेत रहेका अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी निवास अगाडि बालुवाटारमा अनशन बस्न गएका थिए। ‘न्याय पाउन कहाँ जानुपर्ने हो?’ वीर अस्पतालअगाडि अलपत्र वृद्ध दम्पतीले दुःखेसो पोखे, ‘न्याय नपाएरै ज्यान जालाजस्तो भो।’ उनका १८ वर्षे कान्छो छोरा कृष्णप्रसादको २०६१ जेठ १४ गते घरबाटै अपहरण भएको थियो। शव चितवनमा फेला परेको थियो। छोराका हत्यारालाई कारबाही माग्दै उनीहरु तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा सिंहदरबारअगाडि ४८ दिन अनशन बसे। अनुसन्धान जिल्लाबाटै हुन्छ भनेर गोरखा पठाइयो। नभएपछि त्यहाँ पनि प्रहरी कार्यालयअगाडि ६४ दिन अनशन बसे। स्वास्थ्यस्थिति नाजुक भएपछि एम्बुलेन्समा काठमाडौं ल्याइयो। तर मागको सुनुवाइ भएन। न्यायका लागि कहिले सिंहदरबार पुग्छन्, कहिले बालुवाटार। तर, प्रहरीले देख्यो कि भ्यानमा हालेर कहिले शिक्षण अस्पताल महाराजगन्ज पुर्याबउँछ, कहिले वीर अस्पतालअगाडि छोडिदिन्छ। ‘म सुँगुरजस्तो जहाँ मन लाग्यो त्यहाँ बस्न आएको होइन,’ उनी थप्छन्, ‘न्याय माग्दा अपमान र तिरस्कार पाइयो।’ काठमाडौंमा जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्री कार्यालय र बालुवाटारमा पटक–पटक अनशन बसिसकेका उनीहरु अनसनसमेत बस्न नदिइएको गुनासा गर्छन्। ‘कानुनभन्दा माथि कोही छैनन् जस्तो लाग्थ्यो। तर होइन रहेछ,’ ५५ वर्षे अधिकारीले भने। पुत्रहत्याको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको माग छ। गाउँबाट विस्थापित हुनुपरेकोमा दुःखेसो छ। २०६४ सालमा माओवादी कार्यकर्ताको धम्कीका कारण घरमा बस्न नसकेर विस्थापित हुनुपरेको उनीहरुले बताए। ‘छोराका हत्यारा खुलेआम हिँडिरहेका छन्,’ सुस्केरा हाल्दै उनले भने। द्वन्द्वपीडितका रुपमा सरकारले १० लाख रुपैयाँ दिन खोजे पनि अस्वीकार गर्दै न्यायको खोजीमा हिँडेको उनले बताए। ‘मलाई राज्यको ढुकुटीबाट पैसा होइन न्याय चाहिएको हो,’ नन्दप्रसादले भने।
छोराको अपहरण र हत्यामा जानुका पौडेल, छविलाल पौडेल, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी, रामप्रसाद अधिकारी, शिवप्रसाद अधिकारी लगायत संलग्न रहेको उनको आरोप छ। आरोप लागेकामध्ये जानुका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीकी पिए हुन्।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *