गोरखामा क्रियाशिल ४ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको संयुक्त रुपमा प्रतिरोध गर्ने भएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव-खनाल समूह र जनता समावजादी पार्टीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीले चालेको उक्त कदमको संयुक्त रुपमा प्रतिवाद गर्ने जनाएका छन् ।
विज्ञप्तिमा प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान र लोकतन्त्र माथिकै प्रहार भएको चार राजनीतिक दलको ठहर छ । नेपाली जनताको लामो कठोर आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी आघात पु-याएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधाको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित विधि सम्मत पेश गरिएको दावि माथि संविधान अनुसार निर्णय गरी राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधि सभाका सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने संवैधानिक दायित्व पनि राष्ट्रपतिबाट निर्वाह नगरिएको विज्ञप्तिमा भनिएको छ ।
त्यसविपरित प्रधानमन्त्री केपी शर्मा ओलीसंगको मिलेमतोमा वदनियतपुर्ण किसिमले प्रतिनिधि सभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्र माथि नै प्रहार गरिएको गोरखामा कृयाशिल चार राजनीतिक दलहरुको ठहर रहेको छ । उक्त कदमलाई प्रतिगामी कदमको संज्ञा दिँदै विज्ञप्तिमा यसबाट मुलुक नयाँ राजनितीक ध्रुबीकरण र जटिलता तर्फ धकेलिएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीले निर्वाचनको घोषणा गरेपनि त्यो आफनो निरकुश सत्ता लम्ब्याउने दुरासायमात्रै रहेको दलहरुको निष्कर्ष छ । घोषित आम निर्वाचनले कोरोना संक्रमणको महामारीको भयावह अवस्थाको सामना गरिरहेका नागरिकको जीवनलाई झन गम्भिर संकटमा धकेलेको पनि विज्ञप्तिमा लेखिएको छ ।
यस्तो महामारीमा राजनितीक जगत र सिङ्गो मुलुकलाई एकताबद्ध रुपमा अगाडी बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैर जिम्मेवार कार्य भएको भन्दै यसबाट देश र जनताले झन बढि दुखकष्टको सामना गर्नु पर्ने अवस्था सिर्जना भएको उनीहरुको भनाई छ ।
नेपालको संविधानमा अन्तरनिहित संघिय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवम् नेपालको सर्वपरी राष्ट्रिय हितको रक्षाको लागि दृढता पूर्वक अगाडी बढ्न जिल्लामा क्रियाशिल ४ राजनीतिक दलले गोरखामा रहेका अन्य राजनीतिक दल तथा आम नागरिकलाई पनि आब्हान गरेका छन् ।
संयुक्त विज्ञप्तिमा नेपाली काँग्रेसका सभापति हरिबहादुर घले, नेकपा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापा, नेकपा एमालेको नेपाल खनाल समूहका अध्यक्ष यादव वस्नेत र जनता समाजवादी पार्टीका अध्यक्ष नारायण खत्रीले हस्ताक्षर गर्नुभएको छ ।
दलहरुले कोभिड-१९ को प्रभावकारी रुपमा नियन्त्रण र व्यवस्थापनको लागि सम्बन्धित निकायहरुलाई अनुरोध गर्दै आम नागरिकलाई पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सुरक्षित रहन अपिल गरेका छन् ।
स्रोत :choicefm.org