लिगलिगकोटमा पर्यटकीय पूर्वाधार थपिँदै

लिगलिगकोटमा पर्यटकीय पूर्वाधार थपिँदै

 

धार्मीक, ऐतिहासिक रुपमा परिचित पालुङटारको लिगलिगकोटमा पर्यटकीय पूर्वाधार निर्माणको काम धमाधम भईरहेको छ । पालुङटार नगरपालिका २ मा पर्ने लिगलिगकोट केही वर्ष अघि र अहिले फरक छ । कारण त्यहाँ धेरै पर्यटकिय पूर्वाधार निर्माणले गती लिएको छ ।
पालुङटार नगरपालिका, पूर्वाधार बिकास कार्यालय गोरखा, डिभिजन बन कार्यालयको लगानीमा अहिले पनि कोटमा पुरातत्विक रुपमा पर्यटन पूर्वाधार बनिरहेको छ । लिगलिगकोट सम्म जान आउन छुट्टाछुट्टै सिँढी बाटो निर्माण गरिएको छ ।

बन डिभिजन कार्यालय गोरखाको सहयोगमा झण्डा राखिएको ठाउँमा ढुङ्गा बिछ्याउने काम भईरहेको छ । गत बैशाख २५ गतेबाट लिगलिगकोट पार्क निर्माण उपभोक्ता समिति गठन गरेर स्थानीयले दर्फेदेवी मन्दिर पनि निर्माण गरेका छन् । ‘पुरातत्विक क्षेत्र भएका ढुङ्गा मात्रै प्रयोग भएको छ’ उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रानाले भने । बन डिभिजनबाट भएको काम अन्तिम चरणमा पुगेको उनले बताए । स्थानीयको श्रमदान २० प्रतिशत सहित २४ लाख लागतमा लिगलिगकोट डाँडामा पूर्वाधार निर्माण भईरहेको छ । एक सातामा सबै काम सक्ने योजना रहेको उपभोक्ता समितिका सचिव बालकृष्ण अच्छामीले बताए ।

लिगलिगकोट पर्यटकिय गन्तब्यको रुपमा बिकास हुँदै गएको छ । निषेधाज्ञा हुनु अघि दैनिक सय जना र बिदाको दिन पाँच सय जना सम्म त्यहाँ घुम्न आउने गरेको स्थानीय बताउँछन् । लिगलिगकोटको इतिहास बेच्न नगरपालिकाले त्यहाँ होमस्टे, खानेपानी, सडक, शौचालय लगायत पूर्वाधारमा प्राथमिकता दिईरहेको नगरप्रमुख दिपकबाबु कंडेलले बताए ।
लिगलिगकोट डाँडामा गोलघर, पार्क सहित वृक्षारोपण गरिँदैछ । त्यसका लागि पूर्णबहादुर रानाको अध्यक्षतामा छुट्टै समिति बनाइएको छ । ११ लाख ६० हजार लगानीमा बन्दै गरेको पार्क र बिरुवा रोप्ने काम धमाधम भईरहेको समितिका अध्यक्ष रानाले बताए ।
धुपी, सल्ला लगायतका बिभिन्न बिरुवा त्यहाँ रोपिने छ । डिभिजन बन कार्यालयले पर्यटकिय क्षेत्रमा पूर्वाधार निर्माण गर्ने पर्यापर्यटनको बिकास गर्ने योजनाले उक्त कार्यक्रम संचालन गरिएको डिभिजन बन अधिकृत अशोककुमार श्रेष्ठले बताए ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *