द्रव्य शाहको सालिक गोरखामा

द्रव्य शाहको अर्धकदको सालिक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले अनावरण

शिव उप्रेती
गोरखा : १६१६ सालमा शाहवंशीय राज्यको सुत्रपात गरेका राजा द्रव्य शाहको सालिक गोरखामा बनेको छ। गोरखामा द्रव्य शाहले राज्याभिषेक गरेको पस्लाङचौतारामा गोरखा उद्योग वाणिज्य संघले उनको सालिक स्थापना गरेको हो। द्रव्य शाहको अर्धकदको सालिक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले अनावरण गरे।

सालिक अनावरण गर्दै योजना आयोगका उपाध्यक्ष वाग्लेले गोरखाको महत्व इतिहाससँग जोडिएकाले द्रव्यशाहको सालिक स्थापनाले गोरखाको पर्यटनमा नयाँ आयाम थप्ने तर्क गरे।‘गोरखाको विकासको मुख्य बाटो भनेकै धार्मिक तथा ऐतिहासिक पर्यटन हो’, वाग्लेले भने ‘त्यस पछि अरुअरु आउँछन्। त्यसैले गोरखाले अब यसखाले इतिहासलाई प्रचारमा लैजान सबै क्षेत्रबाट पहल र कदम चाल्नुपर्छ। इतिहासमा चिनिएका गोरखाका अरु व्यक्तित्वहरुको पनि यसरी नै संरक्षण र प्रचारप्रसार गर्नुपर्छ।’

द्रव्य शाहको सालिक ललितपुरका मुर्तिकार प्रचण्ड शाक्यले तयार गरेका हुन्। यसका लागि गोरखा उद्योग वाणिज्य संघले पाँच लाख रुपैँया खर्च गरेको जनाएको छ। कार्यक्रममा बोल्दै इतिहासविद दिनेशराज पन्तले १६१६ साल भदौ २५ गते द्रव्य शाहले गोरखा राज्य विजय गरी सोही पस्लाङ चौतारामा नारायणदास अज्र्यालबाट राज्यभिषेक गरेको इतिहास रहेको चर्चा गरे।

गोरखा नगरपालिका ५ स्थित सो चौतारोलाई अहिले पनि द्रब्यशाह चौतारा भन्ने गरिएको पन्तले प्रष्ट पारे। ‘द्रब्यशाहले लिगलिगकोट जित्न पाँडे, पन्त, अज्र्याल, खनाल, राना र बोहोरा गरी छ थर भएका व्यक्तिलाई प्रयोग गरेका थिए’, पन्तले भने ‘उनीहरुको खोजी गरी उजागर गर्ने अभिभारा नयाँ पुस्ताका गोरखालीको काँधमा छ।’
सभार :अन्‍नपूर्ण

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *