स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा वारपाक सुलिकोट उत्कृष्ट (गोरखाका कुन पालिकाले कति अंक ल्याए ?)

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा वारपाक सुलिकोट उत्कृष्ट (गोरखाका कुन पालिकाले कति अंक ल्याए ?)

गोरखा ।
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा गोरखाका ११ पालिकामध्ये वारपाक सुलिकोट गाऊँपालिका सर्वोत्कृष्ट देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको १० वटा सूचक र १ शय वटा उपसूचकका आधारमा गरिएको स्वमूल्याङ्कनमा वारपाक सुलिकोटले सबैभन्दा धेरै अङ्क प्राप्त गरेको हो ।
वारपाक सुलिकोटले जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै ६६ दशमलव ७५ प्रतिशत अङ्क प्राप्त गरेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । पालिकाको समग्र कामलाई पारदर्शी, जवाफदेही, ब्यवस्थित, सहभागीतामूलक, सेवाग्राहीमैत्री बनाउनतर्फ ध्यान दिइएकाले यो नतिजा प्राप्त भएको वारपाक सुलिकोटका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताउनुभयो ।
संस्थागत क्षमता स्वमूल्याङ्कनमा अजिरकोट गाऊँपालिकाले ६५ दशमलव ५, शहिद लखन गाऊँपालिकाले ६० दशमलव २५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । यस्तै सिरानचोक गाऊँपालिकाले ५२ दशमलव ५, धार्चे गाऊँपालिकाले ४६ दशमलव ५, गण्डकी गाऊँपालिकाले ४५ र चुमनुब्रीले ३३ दशमलव ५ अंक प्राप्त गरेका विवरणमा उल्लेख छ ।

जिल्लाका दुई नगरपालिकामध्ये गोरखा नगरपालिकाले ४२ दशमलव २५ र पालुङटार नगरपालिकाले ४१ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ । भिमसेन थापा गाऊँपालिकाले भने सबैभन्दा कम ३३ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको छ ।

आरुघाट गाऊँपालिकाले स्वमूल्याङ्कनको प्रक्रिया शुरु गरेको छ । संघीय सरकार र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट अभिमुखीकरण नभएकाले स्वमूल्याङ्कनमा समस्या भएपनि अहिले प्रारम्भिक नतिजा तयारीको काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताउनुभयो ।

पालिकाहरुले १० वटा मुख्य सूचकका आधारमा आफूले गरेका कामको आफैंले मुल्याङ्कन गरेका हुन् । तर यसमा अंकभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रुपमा समावेश गर्नुपर्ने ब्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो ।

पालिकाहरुको शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना ब्यवस्थापन, वित्तीय एवम् आर्थिक ब्यवस्थापन, सामाजिक समावेशीकरण जस्ता सूचकलाई मुल्याङ्कनको आधार मानिएको छ । यस्तै सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् ब्यवस्थापन र सहकार्य तथा समन्वय सहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मुल्याङ्कन गरेका हुन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार स्वमूल्याङ्कनको काम प्रत्येक आर्थिक वर्षको पुष मसान्तभित्र गरिसक्नुपर्नेछ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको तथ्याङ्कलाई आधार मानेर सबै सूचकको अङ्क गणना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्दा स्वमुल्याङ्कन नतिजालाई पनि आधार मान्न सकिने मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो । कमजोर देखिएका स्थानीय तहहरुको क्षमता विकासका लाग कार्यक्रम सञ्चालन गर्ने पनि उहाँले जानकारी दिनुभयो ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *