कसैले देख्दैन दुर्गमको दुख, दुईहप्तादेखि चुमनुब्री गाउँपालिका जाने बाटो बन्द

कसैले देख्दैन दुर्गमको दुख, दुईहप्तादेखि चुमनुब्री गाउँपालिका जाने बाटो बन्द

 

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिका जाने पदमार्ग दुईसातादेखि अबरुद्ध भएको छ । असार एकगते र दुईगतेको अविरल बर्षापछिको बूढीगण्डकीको बाढी र पहिरोले त्यस क्षेत्रको बाटो अबरुद्ध बनाएको स्थानीय वडाअध्यक्षहरुले जानकारी दिएका छन् ।

‘बूढीगण्डकीमा झरेको पहिरोले ठाउँठाउँमा बाटो हिडिसक्नु छैन’, वडा नं. ४ का वडाअध्यक्ष पेमाडुण्डुप लामा भन्छन्, ‘ज्यान जोखिममा राखेर गाउँसभामा आइयो । अब सदरमुकाम झर्नुपर्ने छ । बाँचिने हो कि मरिने हो थाहा छैन ।’ नाम्रुङबाट गप खण्डमा दुईठाउँमा बाटो पहिरिएर बूढीगण्डकीमा झरेको छ । गपबाट बिहीफेदीसम्म धेरै ठाउँको बाटो पनि पहिरिएर बूढीगण्डकीमा खसेको उनले बताए । ‘ठाउँठाउँमा हातखुट्टा टेकेर बाँदर झैँ हिडेर सिर्दिबाससम्म आयौँ, अब यहाँबाट तल कसरी झर्ने हो थाहा छैन’, उनले भने ।

 

जगतदेखि तातोपानीसम्मको बाटो अझै जोखिम रहेको स्थानीय वीरबल घले बताउँछन् । ‘जगतबाट यारुसम्म जाने त बाटै छैन । करिब एकसय मिटर बाटोमा गण्डकी फैलिएको छ’, चुमचुब्री मिलन समाजका अध्यक्षसमेत रहेका घले भन्छन्, ‘नहिडी नहुने कोही–कोही मान्छे लुगा फुकालेर हातमा लिएर डुब्दै–डुब्दै हिड्ने गर्छन् । कोही लहरा र घाँसमा झुण्डिएर भित्ताभित्तै हिड्ने गर्छन् । दुईहप्ता भइसक्यो राज्यको ध्यान गएको छैन ।’ बूढीगण्डकीले धार परिवर्तन गरी क्याण्टिलिभर पुलनेर पनि बाटोको क्षेत्र ढाक्न आइपुगेको उनले बताए ।

हिमाल पारिको चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन । खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान खच्चडले बोक्ने गर्छ । लामो समयसम्म बाटो अबरुद्ध हुँदा खाद्यान्न संकट समेत हुनसक्ने स्थानीयको आशंका छ । ‘यता खासै उत्पादन हुदैन । अलिअलि हुने मकै पनि खाने बेला भएको छैन’, गाउँपालिकाको कार्यपालिका सदस्य विशाल हिमाली घलेले भने, ‘पूरै बजारको खाद्यान्नको भर पर्ने हो । अब एकहप्तासम्म पनि बाटो खुलेन भने भोकमरी पो लाग्ला भन्ने डर छ । अहिले नै चामल खोज्न यताउता दौडिन थालिसकेका छन् ।’ दुर्गममा ठूलो मान्छेको नजर नपर्ने उनले गुनासो गरे ।

गाउँपालिकाको केन्द्र फिलिममा कुमारी वैँक छ तर पालिकाको वैँकिङ कारोबार सो शाखाले गर्दैन । स्थानीय उपभोक्ता समितिले गरेको कामको रकम भुक्तानीका लागि आउँदो हप्ता सातवटै वडाका उपभोक्ता समितिका पदाधिकारी तथा जनप्रतिनिधिहरु सदरमुकामको शाखामा आउने तयारीमा छन् । तर बाटोको अबस्था नाजुक रहेको उनीहरुको गुनासो छ ।

 

‘एकातिर वैँकले गाउँपालिकाको काम नगरेर सात दिनको बाटो हिडेर सदरमुकाम झर्नु पर्नेछ, अर्कातिर बाटोको अबस्था यस्तो बिजोग छ’, वडा नं. ४ का वडाअध्यक्ष पेमा डुण्डुप लामा भन्छन्, ‘सदरमुकाम पुगिन्छ कि पुगिदैन, पुगेपछि फर्केर आइन्छ कि आइदैन थाहा छैन ।’ सँधै सांसद मन्त्रीहरुलाई दुख पोखिरहेको तर अबस्था कहिल्यै सुधार नभएको उनको गुनासो छ ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *