गोरखामा भेरोसेलको दोस्रो डोज लगाईने (कुन पालिकामा कहिले हेर्नुहोस्)

गोरखामा भेरोसेलको दोस्रो डोज लगाईने (कुन पालिकामा कहिले हेर्नुहोस्)

असार १७, गोरखा । गोरखामा असार २० गतेबाट कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाईने भएको छ । जिल्ला स्तरीय कोभिड १९ खोप समन्वय समितिको आज बसेको बैठकले जिल्लामा यसअघि भेरोसेलको पहिलो डोज खोप लगाएकालाई असार २० गतेदेखी साउन ७ गतेसम्म खोप लगाउने निणर्य गरेको हो ।

जेठ २५ गतेदेखी खोप लगाएका जिल्लाका ६२ देखि ६४ बर्ष उमेरका नागरिकलाई दोस्रो डोज खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताउनुभयो । कार्यालयका अनुसार जिल्लाका विभिन्न पालिकामा यो उमेर समुहका ३ हजार ४ सय ८८ जनाले पहिलो डोज लगाईसकेका छन् । उनिहरुलाई दोस्रो डोजको खोप लगाईने भएको हो ।

जसअनुसार गोरखा नगरपालिकामा असार २४ गते, पालुङटार नगरपालिका र गण्डकी गाउँपालिकामा असार २३ गते, सिरानचोक गाउँपालिकामा साउन ५ गते, शहिद लखन गाउँपालिकामा असार २० गते, भिमसेन थापा, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामा असार २२ गते, आरुघाट गाउँपालिकामा साउन ७ गते, र धार्चे गाउँपालिकामा असार २५ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । भेरोसेलको दोस्रो डोज लगाउनका लागि हाल कार्यालयमा ३ हजार ४ सय ८८ डोज खोपसुरक्षित रहेको कोल्डचेन निरीक्षक खत्रीले बताउनुभयो ।
जिल्लाका लागि थप २२ सय डोज खोप पनि प्राप्त भएको उहाँको भनाई छ । खोप लगाउन छुटेका ६० बर्ष माथिका नागरिकलाई सो खोप लगाउने कार्यालयको तयारी छ । प्राप्त खोप औसत संख्याका आधारमा सबै पालिकामा वितरण गर्ने खत्रीले बताउनुभयो ।

यसैबिच, चुमनुब्री गाउँपालिकाको १८ बर्ष माथिका सबै नागरिकलाई भेरोसेल खोप लगाउने तयारी भएको छ । यसअघि सो पालिकाका ५५ बर्षदेखी माथिका नागरिकलाई खोप लगाईएको थियो । अब १८ बर्षदेखी ५४ बर्षसम्मका सबैलाई खोप लगाउने तयारी भएको कोल्डचेन निरीक्षक खत्रीले बताउनुभयो । कार्यालयका अनुसार चुमनुब्रीमा सो उमेर समुहका ३७ सय ८ जना छन् । तर पहिलो चरणमा ३ हजार डोज खोप पठाईने कार्यालयले जनाएको छ ।

भौगोलिक विकटता र सडक सञ्जालसँग नजोडिएको चुमनुब्रीमा बर्षाका कारण पदमार्ग पनि अबरुद्ध भएको छ । त्यसैले खोप ढुवानीको लागि हेलिकोप्टरको विकल्प छैन । चुमनुब्रीमा खोप पुर्याउन हेलिकोप्टर ब्यबस्थापनका लागि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विभिन्न संघसंस्थालाई आग्रह गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । खोप ढुवानी निश्चित भएपछि खोप लगाउने मिति तय गरिने कार्यालयका कोल्डचेन निरीक्षक खत्रीले बताउनुभयो ।साभारः च्वाईस एफ एम

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *