नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्दराज पाण्डेले गोरखाको अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका लागी ११ थान अक्सिजन कन्सनटे्रटर प्रदान गरेका छन् । अजिरकोट गाउँपालिकाको नौ वटा स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुलाई र बारपाक स्वास्थ्य चौकीका लागि दुईवटा गरी एघारवटा अक्सिजन कन्सनटे्रटर सहित स्यानिटाइजर, पिपिई र अन्य स्वास्थ्य सुरक्षा लगायत सामाग्री सहयोग गरेका हुन् ।
विभिन्न स्वास्थ्यचौकीका लागि उनले करिब २७ लाख भन्दा बढीको स्वास्थ्य सामाग्रीहरु वितरण गरेका छन् ।
बोधिसत्व विहार संस्थाको अध्यक्ष शान्तिविनोद शर्मा र मिनबहादुर घलेको सक्रियतामा उक्त संस्थाले सहयोग गरेको हो । ‘कोरोना महामारीको बेलामा गाउँगाउँको स्वास्थ्य चौकीहरुमा नै सहज तरिकाले स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले उक्त सामाग्रीहरु वितरण गरिएको हो’ सुरेन्द्रराज पाण्डेले भने, ‘वर्षातको मौसम सुरु भएको र सबै ठाउँमा पक्की सडक नभएका कारण अन्य ठूला अस्पताल जान नसक्ने अवस्थामा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि उक्त स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।’
यसअघि पनि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारका लागि विभिन्न सामाग्रीहरु उनले वितरण गर्दै आएका छन् । अक्सिजन स्वास्थ्यकर्मीको सल्लाह र सुझाव लिएरमात्र ठिक मात्रामा प्रयोग गर्नुपर्ने र रोग नलुकाउन, जाँच गर्न र संक्रमण भएमा उपचार सेवा लिन स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मीको निगरानीमा उपचार गराउन पनि पाण्डेले अनुरोध गरेका छन् ।
अजिरकोटको भच्चेक स्वास्थ्य चौकीमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला सभापति हरिबहादुर घले, अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र धिताल, वडा नं ३ का वडा अध्यक्ष तयराज गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै बारपाक स्वास्थ्य चौकीमा भएको कार्यक्रममा वडा नं. २ का अध्यक्ष लालबहादुर गुरुङ र सुरेन्द्रराज पाण्डेले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
उक्त स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाली काङ्ग्रेंस क्षेत्र नं. २ का सभापति गोविन्द गुरुङ, नगरसभापति चन्दनबाबु खत्रीको उपस्थिति रहेको थियो ।
सभार :दरौँदी दैनिक पत्रिका