स्वास्थ्य संस्था सुविधायुक्त

स्वास्थ्य संस्था सुविधायुक्त

शिव उप्रेती
गोरखा : कोभिड–१९ ले नेपालमा लाखौं गम्भीर बिरामी भए, हजारौंले जीवन गुमाए, परिवारजन, आफन्त गुमाए। श्वासप्रश्वासको दीर्घरोगी बन्नेको संख्या उस्तै छ। करोडौंको आर्थिक अवस्था तहसनहस बनाएको छ। यसरी कोभिड मानव सभ्यताको अभिशाप सिद्ध भएको छ।

जस्तोसुकै कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझैं यसले केही गतिला उपलब्धि पनि समाजमा दिएको छ। दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने आदत विकास गरेको छ। अझ भन्नुपर्दा यसले गाउँगाउँका स्वास्थ्य संस्थालाई समृद्ध बनाएको छ। दुईतले ठूलो भवन, तल ओपीडी कक्ष, बर्थिङ सेन्टर, ल्याब, भिडियो एक्सरे कक्ष सञ्चालित छन्। माथिल्लो तलाको हलमा अक्सिजनजडित १० शय्याको आइसेलेसन वार्ड रहेको यो हो, अहिलेको बुङकोट स्वास्थ्यचौकी।

ठूलो भवन भएर पनि उपकरण तथा जनशक्तिको अभावमा रित्तै जस्तो रहेको यो स्वास्थ्यचौकी अहिले जनशक्ति र उपकरण सुविधाले भरिभराउ छ। बुङकोट स्वास्थ्यचौकीलाई गाउँपालिकाले वैकल्पिक आइसोलेसन सेन्टरका रूपमा प्रयोग गरिरहेको सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले बताए।

‘जब कोरोना फैलन थाल्यो, अब यसलाई नियन्त्रण गर्न सरकारको मुख ताकेर मात्र सम्भव छैन भन्ने लाग्यो र वैशाखको २४ गते आम भेला आयोजना गरें,’ श्रेष्ठ भन्छन्, ‘बैठकले संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सामाजिक संघसंस्था र सहयोगी मन भएका देश, विदेशमा रहेका व्यक्तिहरूमा पनि सहयोगका लागि अपिल गर्ने निर्णय गरियो। त्यसपछि धमाधम सहयोग जुट्न थाल्यो।’ नगद १७ लाख रुपैयाँ, चारवटा अक्सिजन कन्सन्ट्रेटर उपकरण, पाँचवटा अक्सिजन सिलिन्डर, ३० भन्दा बढी अक्सिमिटर, पर्याप्त मास्क, सेनिटाइजर संकलन भएको उनले बताए।

स्वास्थ्य चौकीमा यसअघि एउटा एम्बुलेन्स रहेकोमा कोभिडकै अवधिमा एक सामाजिक संस्थाले नयाँ एम्बुलेन्स पनि सहयोगस्वरूप प्रदान गरेको वडाध्यक्ष श्रेष्ठले बताए। स्वास्थ्यचौकीमा अहिले ६ जना स्वास्थ्यकर्मी कार्यरत रहेकामा अब यसलाई थप गरी व्यवस्थित गर्दै लैजाने योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताए।

सहिद लखन गाउँपालिकाले वडा–६ को घैरुङ स्वास्थ्यचौकीमा पनि कोभिड अस्पताल सञ्चालन गरेको छ। त्यहाँ चिकित्सक सेवा, ल्याब, एक्सरे सेवा स्थापना भयो। अब चौबीसै घण्टा सेवा सञ्चालन गर्ने योजनामा गाउँपालिका रहेको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ बताउँछन्। सदरमुकामबाट ५२ किलोमिटरभन्दा टाढा रहेको भच्चेक स्वास्थ्यचौकी पनि अहिले उपकरण र जनशक्तिले भरिभराउ भएको छ।

स्थानीयको होस्टेमा गाउँपालिका, प्रदेश सरकार, नेपाल सरकार, सामाजिक संघसंस्था तथा समाजसेवीहरूले देशविदेशबाट हेल्थपोस्टहरूमा विभिन्न उपकरण दिएर सुविधासम्पन्न बनाएको त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले जानकारी दिए। ‘गाउँगाउँका स्वास्थ्य संस्थाहरूलाई सक्दो सुविधा सम्पन्न बनाउनुपर्ने रहेछ भनेर कोभिडले पाठ सिकायो,’ उनले भने, ‘त्यसैले प्रत्येक पालिकाहरूमा १०÷१५ बेडको अस्पताल बनाउने कार्यक्रम आएको छ। त्यसका लागि जनशक्ति, उपकरणहरू पनि आएका छन्। कोभिड साम्य भएपछि त्यसलाई स्थानीय तहले निरन्तरता दिँदै जान बाध्य हुनेछ।’ जसले गर्दा अन्य सरुवा रोग, महामारी, प्राकृतिक प्रकोप आइपर्दा काम लाग्ने उनले बताए।

अहिले कोभिड व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन प्रकृतिका स्रोतसाधन प्राप्त भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए। ‘अहिले सरकारी निकायबाट पनि, सामाजिक संघसंस्था तथा व्यक्तिगत तवरबाट पनि प्रशस्त मास्क, सेनिटाइजर पञ्जा जस्ता अल्पकालीन र अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, बेड, पीपीई, ब्लडप्रेसर नाप्ने डिजिटल मेसिन, थर्मोगनजस्ता दीर्घकालीन रूपमा काम लाग्ने उपकरण पनि प्राप्त भएका छन्,’ उनले भने, ‘कोभिड अस्पताल भनेर विभिन्न स्वास्थ्यचौकीको स्तरोन्नति भएको छ। कोभिडका लागि भनेर जुटाइएका भौतिक सामग्री तथा स्वास्थ्य जनशक्तिलाई व्यवस्थित गर्दै लगेमा भविष्यमा काम लाग्नेछ।’ अन्नपूर्णपोस्त

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *