गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीबाट प्रहरीले बिहिवार राती एक ट्याक्टर सालको काठ बरामद गरेको छ ।
ग १ त ४६०१ नम्बरको ट्याक्टरमा २५ थान सालको गोलीया ढुवानी गर्दै गर्दा अस्थायी प्रहरी पोष्ट च्याङ्लीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक र काठधनी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । स्थानीयले घर बनाउन चिरान गर्न लगिएको काठ भएकाले छाड्नुपर्ने माग गर्दै आएका छन् ।
ट्याक्टर सहितको काठ इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । प्रहरी कार्यालयले डिभिजन बन कार्यालयमा बुझाएपछि बन कार्यालयले थप अनुसन्धान गर्ने बन अधिकृत होमबहादुर बल्छौँडीले बताए ।
सभार: दरौँदी दैनिक पत्रिका