वातावरण वचाउ अभियान: उत्खननविरुद्ध दरौँदी फाँटका किसान

वातावरण वचाउ अभियान: उत्खननविरुद्ध दरौँदी फाँटका किसान

नहरको बाँधमै उत्खनन् हुन लागेको भन्दै दरौँदी फाँटका किसान आन्दोलित भएका छन् । गोरखा नगरपालिका वडा नं. १२ को खत्रीबेशी फाँटको बाँधमा ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न नदिन स्थानीय किसानहरुले शनिबार दिनभर बिरोध जनाएका हुन् ।

मिलेनियम कल्पवृक्ष जेभी कन्स्ट्रक्शनले गोरखा नगरपालिकाको एक सडक कालोपत्रे गर्नका लागि भन्दै शनिबार बिहानैदेखि बाँध, झोलुङ्गेपुल तथा निर्माणाधीन पक्कीपुल क्षेत्रभित्र उत्खनन गर्न सुरु गरेको थियो ।

बर्षेनी उत्खनन गर्दा दरौँदी गहरिँदै गएको र खत्रीवेशी फाँटको हजारौँ रोपनी खेत सिँचाइ गर्ने बाँध आकासिएको भन्दै किसान आन्दोलित भएका वडाअध्यक्ष दिलबहादुर थापा बताउँछन् । ‘किसानहरुले बाँध भन्दा खोला धेरै गहिरिएर गयो, रोपाइँ गर्ने बेलाको खेत सुख्खा लाग्ने भयो भनेर उत्खनन गर्न रोकेका हुन्’, वडाअध्यक्ष थापाले भने, ‘म बिरामी भएकाले फिल्डमा जान सकिन । तर मैले टेलिफोन गरी त्यहाँ उत्खनन नगर्न भनेको छु ।

गोरखा नगरपालिका वडा नं. ८ खोलखोलेदेखि नगरपालिका कार्यालयसम्मको सडक कालोपत्रे गर्नका लागि भन्दै सो निर्माण कम्पनीले शनिबार बिहान उत्खनन गर्न जेसिबी तथा ट्रिपरहरु बगरमा लगेको थियो । दुईखेप ओसारिसकेपछि थाहा पाएर किसानहरुले अबरोध गरेको उनले बताए ।

यसअघि पनि सो ठाउँमा खोप्लाङी कन्स्ट्रक्शनले उत्खनन गरिसकेको र फेरि उत्खनन गर्दा खोला भन्दा बाँध आकासिने भन्दै स्थानीयबासीले रोकेको स्थानीय वुद्धि कुमालले जानकारी दिए ।

‘त्यही ठाउँमा पहिले पनि उत्खनन भएको हो । बाँध भन्दा खोला यसै पनि चार, पाँच फिट गहिरिएर गएको छ’, उनले भने, ‘पहिल्यै रोक्नु पथ्र्यो । रोक्न सकिएन । यत्रोयत्रो फाँट सुक्का लाग्ने अबस्था भइसकेको छ । धमाधम बिउ राख्ने सिजन छ । किसानहरुले दिनभर टण्टलापुर घाममा खोलाबाट गाग्रीमा, बाल्टीमा पानी बोकेर ब्याड भिजाएको तपाईले देख्न सक्नुहुन्छ । हाम्रो मर्का कसले बुझ्ने ?’

पहिले बनाएको नहरमा पानी नचढेकाले यस्तो अबस्था आएको उनले बताए ।

दिनभरको विवादपछि उत्खनन गर्न स्थानीय किसान सहमत भएका छन् । ट्रिपर हिड्दा बिगारेको बाटो सम्याइदिने र अहिले उत्खनन गर्न दिने बिषयमा सहमति भएको फिल्डमा खटिएका नगरपालिकाका प्राविधिक कपिल कोइरालाले जानकारी दिए ।

सभार : दरौँदी दैनिक

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *