पानी पधेरो
काठमाडौँ । कोभिड १९ को संक्रमण तीव्र रुपमा बढिरहेको छ । पहिले शहरी इलाकामा फैलिएको कोभिड अहिले गाउँ–गाउँमा पनि पुगेको छ । संक्रमितको संख्या धेरै भएकोले नेपालमा अक्सिजन अभाव, उपचारको लागि बेड अभाव भइरहेको छ । यही अभावमा अक्सिजनकै कारणले अजिरकोट गाउँपालिका क्षेत्रका मानिसले ज्यान गुमाउन नपरोस् भनेर गोरखा गुरुङ समाज यूकेले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
अजिरकोट घर भई हाल यूके नै बस्दै आएका शेरबहादुर गुरुङको पहलमा गोरखा गुरुङ समाज युकेका अध्यक्ष मीनबहादुर गुरुङ नेतृत्वको टिमले भच्चेक स्वास्थ्य चौकीलाई उक्त कन्सन्ट्रेटर सहयोग गरेको हो । गोरखा गुरुङ समाज युकेको सहयोगमा प्राप्त उक्त सामाग्री अजिरकोट गाउँपालिका ३ का वडा अध्यक्ष तयाराज गुरुङले गाउँपालिकाका अध्यक्ष फडिन्द्र धिताल, गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडी, गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्टलाई सामूहिक रुपमा हस्तान्तरण गरे ।
अजिरकोट गाउँपालिकाभरि अहिलेसम्म ४२ जना कोरोनाका सक्रिय संक्रमित छन् । अजिरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीका अनुसार भच्चेक स्वास्थ्य चौकीमा अक्सिजनसहितको ६ बेड आइशोलेसन तयार भएको छ । उक्त ठाउँमा अक्सिजन कन्सन्ट्रेटर नभएपछि गुरुङ समाज यूकेले सहयोग गरेको हो ।
स्रोत :panipadhero.com
भच्चेक स्वास्थ्य चौकीलाई गोरखा गुरुङ समाज युकेद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग
