बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि गोरखाको पालुङटार नगरपालिका ९ का किसानले बाँदरका लागि जंगलमा फलफुल लगाइदिएका छन् ।
तरकारी फलफुल, बारीमा रहेको मकै घरमै आएर थन्काएको खेतीबाली बाँदरले खाएर हैरान बनाएपछि दरौँदीडाँडा सामुदायिक बनका किसानले बाँदरलाई फकाउन जंगलमै फलफुलको बिरुवा रोपेका हुन् ।
‘सँधै मकैबारी कुर्नुपर्ने, एउटा बस्तीबाट धपायो, बाँदर अर्को बस्तीमा पुगेर हैरान बनाएपछि हामीले अहिले बाँदरलाई जंगलमा भुलाउन सकिन्छ कि भनेर फलफुल रोपेका हौँ’ स्थानीय सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रुपलाल कुमालले भने ।
दुई हेक्टर भन्दाबढि जंगलमा हर्रो बर्रो, अमला, अम्बा, लप्सी लगाएको उनले बताए । ‘बनमासा सहित जंगल मिचाहा प्रजातिको रुखबिरुवा काटेर फलफुल रोपेका छौँ’, उनले भने, ‘जंगलमा फलफुल भएपछि बाँदर खेतबारी र घरसम्म आउन रोकिन्छ कि भन्ने सोचका छौँ ।’
यसबर्ष डिभिजन बन कार्यालय गोरखाले जिल्लाका बिभिन्न चारवटा सामुदायिक बनको नौ हेक्टर क्षेत्रफलमा बनजन्य फलफुल लगाउन सामुदायिक बनलाई सहयोग गरेको छ ।
गोरखा नगरपालिका १० को टक्सारटारी सामुयिक बन, धार्चे गाउँपालिका ४ को गुङगाङ सामुदायिक बन गुम्दा र थामपाखा सामुदायिक बन बारपाक सुलिकोट ४ मा एक हेक्टरमा फलफुल लगाइएको छ ।
‘यी ठाउँ बाँदरले धेरै दुःख दिने ठाउँ हो’ बन कार्यालयका सुचना अधिकारी सहायक बन अधिकृत महेश पौडेलले भने ‘अहिले बनजन्य फलफुल लगाइएको ठाउँ बस्ती नजिकका सामुदायिक बन पनि हुन् ।’ बाँदर सोझै बस्तीमा खेतीबालीमा नपुगोस् भनेर ती ठाउँ छनौट गरिएको उनले बताए । सामुदायिक बनको मागका लागि कार्यक्रम संचालन गरिएको हो ।
‘अहिले बाँदरले दुःख दिएर किसानले गरेको खेतीबाली खाईदिने, क्षति पु¥याउने क्रम बढेको छ’ डिभिजन बन अधिकृत श्रेष्ठले भने ‘जनावर र मानिस बिचको द्वन्द्व कम गर्न बनजन्य फलफुल बितरण गरेका हौँ ।’
किसानले बाँदरले खेतीबाली खाएर दुःख दिएको गुनासो गरेपछि यस वर्षदेखि गोरखामा यो कार्यक्रम संचालन गरिएको उनले बताए ।
एक हेक्टरमा करिब एक हजार छ सय बिरुवा रोपिएको छ । सामुदायिक बनलाई फलफुलको बिरुवा रोप्न बन डिभिजन कार्यालयले अनुदान दिएको सहायक बन अधिकृत महेश पौडेलले बताए । चिउरी, बेल, अम्बा, लप्सी जस्ता बनजन्य फलफुल बाँदरका लागि रोपिने उनले बताए ।साभारः दरौँदी दैनिक पत्रिका