गोरखा नगरपालिकाको बजेट १ अर्ब ५ करोड

गोरखा नगरपालिकाको बजेट १ अर्ब ५ करोड

असार १०, गोरखा । गोरखा नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ का लागि १ अर्ब ५ करोड १ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको छ । गोरखा नगरपालिकाको आज भएको आठौं नगरसभामा उपप्रमुख विनाकुमारी श्रेष्ठले आगामी आर्थिक बर्षका लागि १ अर्ब ५ करोड १ लाख २२ हजार ७ सय ३५ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा कोरोना उपचार नियन्त्रण र रोकथाम, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, कृषि उत्पादकत्व बढाएर खाद्य सुरक्षाको प्रत्याभूती, भौतिक पुर्वाधार, पर्यटन, शिक्षा, खानेपानी तथा सरसफाई लगायतका क्षेत्रलाई प्राथमिकता दिईएको छ। बजेटमा नगरभित्रका १४ वटै वडाको न्यायोचित र समानुपातिक विकासका लागि प्रतिवडा न्युनतम ९० लाख रुपैयाँ हुने गरी वडागत योजनालाई प्राथमिकता दिईएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख राजनराज पन्तले नगर क्षेत्रका रेडियोको विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने र स्थानीय पत्रिकाका लागि स्थानीय लोक कल्याणकारी अनुदानका रुपमा बार्षिक एक लाख रुपैयाँ दिने नीति लिएको जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रम अनुसार एक सय सम्म धारा भएका साना लिफ्टिङ खानेपानी आयोजनाका लागि नगरपालिकाले विद्युत शुल्क मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै, दलित सिमान्तकृत अल्पसंख्यक समुदायका दिर्घरोगीलाई आंशिक तथा पूणर् निशुल्क उपचार र अपाङ्गता भएका नागरिकलाई नगरपालिकाले दिने सिफारिसमा लाग्ने दस्तुर छुट दिने निति लिईएको छ । ६५ बर्ष माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड भएका अपाङ्गता भएका ब्यक्ति, अशक्त, असाहाय र सुत्केरी महिलालाई उपचारका लागि अस्पताल आउजाउ गर्न निशुल्क एम्बुलेन्स सेवा दिईने नगरप्रमुख पन्तले बताउनुभयो ।

नगरपालिकाले नगर क्षेत्रभित्रका एउटा सामुदायिक विद्यालयमा ब्यबसायिक कृषिशिक्षा लागु गर्ने, स्नातकोत्तर तहका विद्यार्थीलाई अनुसन्धानका लागि प्राविधिक तथा आर्थिक सहयोग गर्ने, स्थानीय क्षेत्रमै युवालाई रोजगारी सिर्जना गर्ने, साइकल पदमार्ग निर्माणका लागि अध्ययन गर्ने, नगरभित्रका कला, साहित्यको प्रबद्र्धनका लागि गोरखा प्रज्ञा प्रतिष्ठान गठन गर्ने,आगामी बर्षदेखी असल बुहारी सम्मान गर्ने लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *