गोरखामा ठेकेदारले समयमै काम नगर्दा बराह–ढुङ्गागाढे सडक हिलाम्य, यात्रा सकसपूर्ण

गोरखामा ठेकेदारले समयमै काम नगर्दा बराह–ढुङ्गागाढे सडक हिलाम्य, यात्रा सकसपूर्ण

गोरखा
गोरखा सदरमुकाम भएर ग्रामीण भेग जाने अस्पतालमार्ग(बराह(फिनाम सडक खण्डमा निर्माण ब्यवशायीको लापर्वाहीले पैदलयात्रीले सास्ती खेप्नु परेको छ । २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको बानियाँ निर्माण सेवाले सडक निर्माण कार्य ढिला गर्दा सडक अहिले हिलाम्य छ ।
केहीदिनको बर्षातपछि अहिले उक्त सडकमा दिनहुँ मोटरसाईकलमा सवार यात्रु दुर्घटनामा पर्ने गरेका छन् ।

साना सवारी साधन उक्त सडक भएर चल्न मुस्किल छ । आईतबार राती ढुङ्गागाढे चोकबाट अगाडी घण्टौँसम्म ट्याक्सी सडकमै फसेको ब्यवशायी कुमार श्रेष्ठले बताए ।
घ्याम्पेशाल आरुघाटका लागि सामग्री लिएर गएका एक दर्जन टूक पनि ढुङ्गागाढेमा रोकिएका थिए ।
फिनामदेखि घ्याम्पेशाल खण्ड कालोपत्रे भएको छ । तर सदरमुकामदेखि कालोपत्रे सडकसम्म पुग्न सास्ती भोग्नुपरेको गुनासो उक्त सडक भएर यात्रा गर्नेहरुले गरेका छन् ।
निर्माण जिम्मा लिने कम्पनीले काम गर्दा अरुलाई बाधा नपर्ने, असर नहुने गरी काम गर्नुपर्छ । सडक भएर यात्रा गर्नेहरु एउटा गाडी आएपछि टाढा दौडनुपर्ने, पर्खिएर बस्नुपर्ने बाध्यता छ ।

एक दिन लगाएको पोशाक अर्को दिन लगाउन नमिल्ने गरी धुलाम्य हुने गरेको भन्दै पैदल यात्रुले गुनासो गर्ने गरेका छन् ।
निर्माण ब्यवशायीले सडक खनेर छाडेका छन् । ग्राबेल नगरेका कारण र बिस्तार मात्रै गरेकाले पानीले झनै हिलो बनाएको छ ।
सडक हिलो भयो भनेर स्थानीयले दिनदिनै गुनासो गर्ने गरेको वडा नम्बर ८ का अध्यक्ष कृष्ण केसीले बताए ।

सडक वरपर घर भएकाहरुले पनि हिलाम्य सडकको कारण दुःख भोग्नु परेको बताएका छन् ।
गोरखा सदरमुकाम भएर आरुघाट, घ्याम्पेशाल, बुङ्कोट, बोर्लाङ, सोती, माछाखोला, ताकुकोट लगायत ठाउँमा सवारी साधन आउजाउ गर्छन । ग्रामिण भेगको मूख्य ब्यापारीक केन्द्र आरुघाट जाने उक्त सडक खण्डमा निषेधाज्ञा भएपनि निर्माण र खाद्यान्नका सवारी निरन्तर चलिरहेका छन् ।
चार दशमलव ६ किलोमिटर सडक दुई वर्ष भित्र निर्माण सक्ने गरी ८ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो । सडकमा अहिले काम गर्ने मान्छे खासै देखिँदैनन् । ‘कामको गति सन्तोष मान्ने खालको छैन’, पूर्वाधार बिकास कार्यालय गोरखाका इन्जिनियर गणेश सुवेदीले भने ‘हामीले पटक पटक निर्माण ब्यवशायीलाई काम छिटो गर्न भनेका छौँ ।’ ब्यवशायीले कालोपत्रे गर्ने समय अझै एक वर्ष बाँकी छ ।

समय अगाबै सिध्याउन अनुरोध गरेको बताउँदै इन्जिनियर सुवेदीले भने ‘वर्षात रोकियो भने केही दिनमा ग्राबेल गरेर सवारी साधन चल्न सहज हुने बनाउन भनेका छौँ, तयारी गर्दैछन् ।’
उक्त सडकमा अहिलेसम्म कबिर २५ प्रतिशत काम भएको कार्यालयले जनाएको छ ।साभारः दरौँदी दैनिक पत्रिका

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *