गोरखा
गोरखाको बारपाकमा अक्सिजन मिनी प्लान्ट स्थापना भएको छ । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको सहयोग एवंम् स्थानीय वीरबहादुर घलेको अगुवाईमा बारपाकमा अक्सिजन मिनी प्लान्ट स्थापना गरिएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर रीतेश देव नेतृत्वको टोलीले आज बारपाक सुलिकोट गाउँपालिका वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङ र बारपाक स्वास्थ्य चौकीका प्रमुख अमरेन्द्र कुमार शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभयो ।
बारपाक स्वास्थ्यचौकी नजिकै रहेको महिला समूहको भवनमा आविष्कार केन्द्रका ८ जना प्राविधिकको टोलीले अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याएका हुन् । सोही भवनमा निर्माण गरीएको १२ बेड आइसोलेसनमा अक्सिजन जोडिएको छ । प्लान्टबाट प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन हुने स्वास्थ्य चौकी प्रमुख शाहले बताउनुभयो ।
प्लान्ट स्थापनाका लागि आबश्यक उपकरण तथा प्राविधिक सहयोग आविष्कार केन्द्रले गरेको गाउँमा अक्सिजन प्लान्ट निर्माणका लागि अगुवाई गर्ने घलेले बताउनुभयो । करीब २० लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना भएको उहाँको भनाई छ । आविष्कार केन्द्रले उपलब्ध गराएको उपकरण ढुवानी र प्राविधिकहरुको बारपाक बसाई खर्च बारपाक सुलिकोट गाउँपालिकाले ब्यहोरेको घलेले जानकारी दिनुभयो ।
भौगोलिक कारण सिलीण्डरमा अक्सिजन भरेर पुर्-याउन समस्या हुने भएकाले गाउँमा नै अक्सिजन प्लान्ट स्थापना गरेको घलेले बताउनुभयो । हाल कोभिडका बिरामीलाई लक्ष्यीत गरी प्लान्ट स्थापना गरिएको हो । प्लान्ट स्थापना भएपछि शरीरमा अक्सिजनको कमी भएका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता नरहने स्वास्थ्य चौकी प्रमुख शाहले बताउनुभयो ।साभारः च्वाईस एफ एम