गोरखा
गोरखा नगरपालिका क्षेत्र भित्र पर्ने प्रमुख धार्मिक पर्यटकीय गन्तब्य मध्येको एक अकला मन्दिर नयाँ निर्माण हुने भएको छ ।
वडा नम्बर १४ गोप्लिङमा रहेको अकला माई मन्दिरको सोमवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले शिलान्यास गरेका हुन् ।
‘यो वर्ष मन्दिर निर्माण गरेर आउँदा वर्षदेखि त्यहाँ अन्य संरचनाहरु पनि निर्माण गर्ने योजना छ’ शिलान्यसपछि नगरप्रमुख पन्तले भने ‘नगरभित्रको यो एउटा धार्मीक आस्था लिएर भक्तजन पुजाआज गर्न आउने मूख्य ठाउँ हो ।’
निर्धारित समय भन्दा छिटो मन्दिर निर्माण सम्पन्न गर्न नगरप्रमुख पन्तले निर्माण ब्यवशायीलाई आग्रह गरे । अहिले उक्त मन्दिर सम्म जाने सडक पनि स्तरोन्नती भईरहेको छ ।
गोरखा नगरपालिकाको २० लाख र सांसद बिकास कोष अन्र्तगतको पूर्वाधार बिकास कार्यक्रम अन्र्तगत ३० लाख स्टमेटमा टेण्डर आह्वान गरिएको थियो ।
गोर्बुङ निर्माण सेवाले २४ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेको गोरखा नगरपालिकाका इन्जिनियर निसान पाठकले बताए । नयाँ बन्न लागेको मन्दिर पुरातात्विक प्रकारको हुनेछ ।
धार्मीक पर्यटक भित्र्याउने उद्देश्यले मन्दिरको गुरुयोजना समेत तयार गरिएको अकला मन्दिर संरक्षण समितिका अध्यक्ष कमलबहादुर भण्डारीले बताए । गुरु योजनामा दुई करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्रमागत रुपमा बजेटबाट काम गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताए ।
अकला मन्दिरमा गोरखा तनहुँ, लमजुङ, चितवन लगायतका ठाउँमा भक्तजन आउने गर्छन । मनले चाहेको पुग्ने, दुःख कष्ट परेमा भाकल गर्ने र भाकल पुरा गर्न भक्तजन आउने गरेको वडा अध्यक्ष रामबहादुर खड्काले बताए ।
असार र साउन बाहेकका महिनामा उक्त मन्दिरमा भक्तजनको चाप बढ्छ । अकला माई मन्दिरमा बली पनि चढाईन्छ । मन्दिर ब्यवस्थापन समितिले पुजारी राखेर ब्यवस्थित रुपमा नियमित पुजा पनि संचालन गर्दै आएका छन् ।
सोमवार भएको मन्दिर शिलान्यास कार्यक्रममा उपप्रमुख बिना कुमारी श्रेष्ठ, वडा सदस्य र स्थानीयहरुको उपस्थिती रहेको थियो ।सभार :दरौँदी दैनिक पत्रिका