गोरखा नगरपालिकाले संचालनमा ल्यायो ३० वेडको आइशोलेसन

गोरखा नगरपालिकाले संचालनमा ल्यायो ३० वेडको आइशोलेसन

गोरखा नगरपालिकाले ३० वेड क्षमताको आइशोलेसन संचालनमा ल्याएको छ । गोरखा नगरपालिका ६ छहरे स्थित गोरखा उद्योग बाणिज्य संघको भबनमा आइशोलेसन बनाइएको हो ।

‘आइशोलेसन तयार भईसक्यो, अब हामीले बिरामी राखेर ३० जना सम्मलाई सहज सेवा दिन सक्छौँ’ गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भने । उक्त आइशोलेसनमा ४६ वटा अक्सिजन सिलिण्डर, तीनवटा अक्सिजन कन्सन्ट्रेटर रहेको छ । ‘हामीले डाक्टर सहित स्वास्थ्यकर्मी राखेका छौँ’ मेयर पन्तले भने ‘आइशोलेसन बस्नुपर्ने अवस्थाका कोरोना संक्रमित बिरामीलाई राखेर सहज सेवा दिन सक्छौँ ।’
उक्त आइशोलेसनमा सुविधा सम्पन्न शौचालय, बस्ने ठाउँ ब्यवस्थित रहेको छ । ‘अस्पतालको सरह सेवा दिने गरी तयारी भएको छ’ गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले भने । स्वास्थ्यकर्मी, आवश्यक कर्मचारी सबै तयारी गरिएको र आइशोलेसनमा बिरामी बस्न सुरु भएपछि सबै सेवा एकै साथ दिन सक्ने उनले बताए । ‘आजकै दिनदेखि बिरामी राख्ने अवस्थामा छौँ’ उनले भने ।
उक्त आइशोलेसनको शनिवार जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएम्सी)का संयोजक एवं प्रमुख जिल्ला अधिकारी सहितको टोलीले निरीक्षण गरेको छ । प्रजिअ शालिग्राम शर्मा पौडेल, नगरप्रमुख राजनराज पन्त, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, वडा अध्यक्ष नारायणबाबु अर्याल, उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठ लगायतको टोली निरीक्षण गर्न पुगेका थिए ।
गोरखा अस्पतालमा भएका वेड खाली रहेकाले तत्काल नगरपालिकाले निर्माण गरेको आइशोलेसनमा बिरामी राख्नुपर्ने अवस्थामा जिल्लामा छैन । ‘भोली कुनैबेला संक्रमणदर बढ्यो भने तत्काल यो आइशोलेसनको प्रयोग हुन्छ’ प्रजिअ शर्माले भने ‘अझै कोरोना पूर्ण रुपमा नियन्त्रण नभएको, ग्रामिण भेगमा बढ्दो संक्रमणका कारण आइशोलेसन तयारी अवस्थामा राख्नुपर्छ ।’ अहिले बनेको आइशोलेसनबाट चिकित्सक सहितको सेवा दिन सकिने भएकाले बिरामीको उपचार प्रभावकारी हुने उनले बताए । ‘अहिले ग्रामिण भेगहरुमा पालिकाले पनि आइशोलेसन निर्माण गरेका छन्, दाताहरुको सहयोगले पनि केही सजिलो भएको छ’ उनले भने ।
उद्योग बाणिज्य संघमा निर्माण भएको आइशोलेसन ब्यवस्थित रहेको र बिरामीलाई सहजै राख्न सकिने डाक्टर बिनोद दुवाडीले बताए । ‘बतावरण राम्रो छ, बेडहरुपनि ब्यवस्थित गरेर दुरी कायम गरि राखेका छौँ’ उनले भने ‘हामीलाई चिकित्सकिय सेवा दिन पनि सहज छ ।’
गोरखा नगरपालिका भित्र अहिले संक्रिय संक्रमितको संख्या एक सय भन्दा कम छ । ‘संक्रमण देखिएको ठाउँमा पिसिआर गर्ने, तत्काल होम आइशोलेसनमा बस्न अनुरोध गर्ने गरेका छौँ’ गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले भने । अहिले होम आइशोलेसनमा बसेकाहरुको अवस्था समान्य रहेको बताउँदै उनले भने ‘थप समस्या भयो भने स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधिलाई फोन गर्न भनेका छौँ, त्यसपछि अस्पताल सम्म ल्याएर थप उपचार गर्छौँ ।’
आइशोलेसन कक्षमा सुरक्षाकर्मी, चिकित्सकको लागि छुट्टै बस्ने ठाउँको ब्यवस्था गरिएको छ । तारबार सहितको कम्पाउण्ड रहेको भबन भएकाले बिरामीको उपचारमा सहज हुने नगरपालिकाले जनाएको छ । आइशोलेसन क्षेत्रमा सिसिक्यामेराबाट पनि निग्रानी गरिएको छ ।
सभार :दरौँदी दैनिक पत्रिका

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *