देशका निम्ति योगदान दिनुपर्छ

देशका निम्ति योगदान दिनुपर्छ

(२०६८ पुस १२ गते)
पत्रिका पढेर डा. बाबुराम माओवादीको ठूलो नेता भएको थाहा पाएँ। २९ वर्षपछि उनलाई विद्यालयमा भेट्न पाएँ। उनकै सम्मानमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा सहभागी हुन पाएँ। म त ८७ वर्षको बूढो भइसकेँ, अब उनले देशको निम्ति योगदान दिनुपर्छ।
गोपालदत्त देवकोटा,
सहायक प्रअ अमरज्योति जनता मावि, गोरखा

तपाईंका विद्यार्थी डा. बाबुराम भट्टराई माओवादी नेता बन्दा कस्तो लाग्यो ?
नसोचेको भयो जस्तो लाग्यो। मैले उनलाई पञ्चायत, संस्कृत, सामाजिक शिक्षा पढाएको थिएँ। क्रान्तिमा लागेछन्, ठूलो व्यक्ति भएछन्। अत्यन्तै हर्ष लागेको छ। तर उनले जीर्ण अवस्थामा रहेको विद्यालयको विकास गर्न लाग्नुपर्छ।

यो विद्यालयमा डा. बाबुराम भट्टराई र डा. उपेन्द्र देवकोटाले पढेका थिए। उनीहरू ठूला मान्छे भएका छन्। उनीहरूले यस्तो विकट स्थानमा रहेको विद्यालयलाई सहयोग गर्नुपर्छ। डा. बाबुराम माओवादीका विशिष्ट नेता भएका छन्। उनले राष्ट्र बचाउनुपर्छ। गोरखाका जनताको सुखदुःखमा साथ दिनुपर्छ।

डा.बाबुराम भट्टराई भोट माग्न आएको हो कि स्कुलमा पढेका नाताले आएको जस्तो लागेको छ ?
भोट माग्नभन्दा पनि स्कुलको पूर्वविद्यार्थीको नाताले आएको जस्तो लागेको छ। हुन त आफ्नो जिल्लामा भोट माग्न आउनु नराम्रो त होइन। मसँग भोट माग्दा पनि मेरो विद्यार्थी जस्तै लाग्छ। साना, पातला थिए, अहिले पनि त्यस्तै छन्। पहिला कक्षामा पढ्दा कम बोल्ने खालका थिए। अहिले धेरै बोल्ने भएका छन्। खुसी लाग्यो।

कति वर्षपछि डा. भट्टराईलाई भेट्नुभएको हो ?
नेता भएपछि पहिलो पटक भेटेको हुँ। म बिरामी भएर दिल्लीमा जचाउन जाँदा उनले धेरै सहयोग गरेका थिए। २०३५ सालको कुरा हो। उपचारको सिलसिलामा उनलाई भेट्न हामी होस्टलमा पुगेका थियौं। उनकै कारण मैले सजिलै उपचार गर्न पाएँ। त्यसपछि उनी कहाँ थिए अत्तोपत्तो थिएन।

पत्रिका पढेर डा. बाबुराम माओवादीको ठूलो नेता भएको थाहा पाएँ। २९ वर्षपछि उनलाई विद्यालयमा भेट्न पाएँ। उनकै सम्मानमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा सहभागी हुन पाएँ। म त ८७ वर्षको बूढो भइसकें, अब उनले देशका निम्ति योगदान दिनुपर्छ।

डा. बाबुराम भट्टराईको स्वभाव कस्तो थियो ?
अत्यन्तै मिजासिलो। मैले उनलाई ८ कक्षादेखि पढाएको थिएँ। उनी साथीसँगै विद्यालयका छात्रावासमा बस्थे, आफैं पकाएर खान्थे। उनी पढाइमा कहिल्यै दोस्रो भएनन्, सधैं पहिला। उनको पढाइप्रति खुसी भएर २०२६ सालको एसएलसीमा बोर्डफस्ट भएकोमा उनलाई १ सय रुपियाँ पुरस्कार दिएका थियौं।

उनीसँग बस्ने साथीहरू पनि पढाइमा तेज थिए। तर उनको बुद्धि तीक्ष्ण थियो। पठनपाठनको क्रममा कक्षामा निकै मिहिनेती थिए। त्यही कारण होला उनी अहिले देशकै ठूलो मान्छे भएका छन्।

प्रस्तुतिः ईश्वरराज ढकाल

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *