(२०६८ पुस १२ )
चिरञ्जीवी वाग्ले जेल परेको शनिबार ९ दिन हुन्छ । उनी शुक्रबार दिउँसो कारागार कार्यालय डिल्लीबजारमा सियालमा बसेर भेट्न आउनेहरूसँग गफिइरहेका थिए । त्यही मौकामा वाग्लेसँग घनश्याम खड्काले गरेको कुराकानीको अंशः
तपाईं मन्त्री भइसकेको मान्छे, यसरी जेल पर्नुभयो, कस्तो लागिरहेको छ ?
कस्तो लागिरहेको छ भन्ने अब ? जस्तो लागे पनि नबसी सुख छैन । तर एउटा कुरा के बुझ्नुस् भने मेरा लागि जेल नौलो होइन । पहिले पनि म बसेकै थिएँ । राजनीतिमा लाग्दा राजाको शासनमा पटकपटक गरी ७ वर्षजति बसेको हुँला । अहिले पनि बस्छु । परेपछि बस्नै पर्यो नि !
कसरी बित्छ दिन ? पट्यार लाग्दैन ?
पट्यार लागेर बाहिर जान पाइने होइन । नर्कै लगेर राखे पनि बस्न परिहाल्यो । दिन त आखिर बितिहाल्दोरहेछ । रेडियो सुन्छु, किताब पढ्छु । यसोउसो गर्यो, समय घर्किहाल्छ नि ।
सबभन्दा बढी समय जेल कति बस्नुभो ?
२ वर्ष
कहिले ? कहाँ ?
३०३२ सालमा । नख्खु जेलमा
पहिले र अहिलेमा के फरक पाउनुभो ?
जेलमा के फरक हुन्छ ? उस्तै त हो नि सधैं ।
तपाईंलाई भेट्न कोको आए ?
छोरा, बुहारी, श्रीमती र आफन्तहरू आए । तर मैले दिनका दिन आउन पर्दैन भनिदिएको छु ।
पार्टीका मान्छे आएनन् ? तपाईंका समकालीन कुनै नेता ?
आजै मात्रै प्रकाशमान सिंह र बलबहादुर केसी आएर जानुभो । लोकेन्द्रबहादुर चन्द पनि आउनुभएको थियो । शेरबहादुर देउवाले फोन गर्नुभएको थियो । विदेश जान लाग्नुभएको रहेछ, फर्केपछि भेट्न आउँछु भन्नुभएको छ । शेखर कोइरालाले पनि फोन गरेर आउने कुरो गर्नुभएको
थियो । यस्तै हो । आइ नै रहेका छन् ।
सभापति सुशील कोइरालाले फोन गर्नुभएन ?
अहिलेसम्म गर्नुभएको छैन ।
तपाईंले मन्त्री हुँदा थुप्रैलाई जागिर लगाइदिनुभयो अरे, ती कोही पनि भेट्न आएका छैनन् ?
(हाँस्दै) अब ती कहाँ कहाँ होलान् । जागिर छाडेर मलाई भेट्न कसरी फुर्सद निकाल्लान् ? फेरि समय मिल्न पनि त पर्यो ।
जेलमा कुनै असुविधा त छैन ?
खासै छैन । यहाँ बिदामा पनि भेटघाट गर्न पाइँदोरहेछ । पानी पनि चौबिसै घन्टा आउने । घरमा बरु लोडसेडिङले अँध्यारो हुन्छ । यहाँ त इन्भर्टरले जतिखेर पनि उज्यालो हुन्छ । यस्तै त हो नि जेल ।
भनेपछि तपाईंलाई सजिलै भइरहेको छ ?
अब अप्ठेरो मानेर सुख पाइन्छ ? जस्तो पर्छ सहनैपर्छ नि ।
खाना घरबाट आउँछ कि आफैं पकाउनुहुन्छ ?
मैले घरबाट ल्याउन पर्दैन भनिदिएको छु । जेल प्रशासनले एउटा कैदी सहयोगी दिएको छ । उसैले पकाउँछ ।
के खानुहुन्छ ? घरमा जस्तो मीठो त हुन्न होला ।
मलाई युरिक एसिड र सुगरको रोग छ । भात, आलु, दाल, गुलियो र अरू धेरै कुरा खान हुँदैन । यहीँ पसलमा (जेलभित्रैको) साग, आँटा किन्छु र पकाउन लगाउँछु ।
निन्द्रा पर्छ ?
निन्द्रा भनेको यस्तैउस्तै हो । १०-११ बजे सुतिसक्छु । बिहान उठ्छु । सुतेपछि निदाइहालिन्छ नि ।
अहिले यहाँ एक्लै हुँदा केको सम्झना ज्यादा हुन्छ ?
यस्तै हो, बितेका कुरा म सम्झन खोज्दिनँ ।
तैपनि त मन हो । याद त हुन्छ नि ?
होइन, म पुराना कुरा सम्झन चाहन्नँ । अहिले जे छ, ठिकै छ ।
(Kantipur)