गोरखा दरबारको छाना छाउने काम सकियो

गोरखा दरबारको छाना छाउने काम सकियो

गोरखा ।

गोरखा दरवार पुननिर्माणका क्रममा छाना छाउने काम सकिएको छ । असार पहिलो साताबाट शुरु भएको छानामा झिँगटी लगाउने काम आज सकिएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताउनुभयो ।
असार ४ गतेबाट छाना छाउने काम शुरु भएको थियो । छानामा झिँगटी छाउनका लागि काठमाण्डौंबाट आएका दक्ष कालिगढ सहित १५ जनाभन्दा बढी कामदार खटिएका थिए । छाना छाउने कामसँगै तेस्रो तल्लाको बरण्डामा आँखिझ्याल राख्ने काम पनि अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

यी काम सकिएपछि दरवारको बाहिरी स्वरुपको सबै काम पूरा हुने भुषालले बताउनुभयो । त्यसपछि भित्री काम गर्ने तयारी छ । दरवारको भुईको पूर्व, उत्तर र दक्षिणको भागमा पेटी बनाउने, हरेक तलामा तेलीया इँट्टा लगाउने र गाह्रोमा सुर्की, चुनाको लेप लगाउने काम बाँकी रहेको छ ।

वर्षाका कारण गाह्रो चिसो भएकाले सुर्की र चुनाको काम भने असोजतिर मात्रै गर्न सकिने पुरातत्व विभागबाट दरवार पुननिर्माणमा खटिनुभएका प्राविधिक नारायण बोहोराले बताउनुभयो । झ्यालढोकामा खापा हाल्ने र कोठा विभाजन गर्ने काम पनि बाँकी छ । हालसम्म दरवार पुननिर्माणको करीव ९० प्रतिशत काम सकिएको हेरचाह अड्डाका प्रमुख भुषालले बताउनुभयो ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पले गोरखा दरवारमा क्षति पुर्-याएको थियो । पुननिर्माणका लागि २०७४ सालको कात्तिकमा पचली भैरव/सिभाको जेभी नामको ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । पुननिर्माणका लागि ठेकेदार कम्पनीसँग ४ करोड ३७ लाख रुपैयामा ठेक्का सम्झौता भएपनि भेरिएसनपछिको लागत ४ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
ठेक्का समझौता अनुसार गत वर्षको मंसीरमै पुननिर्माणको सकिनु पर्ने भएपनि निर्धारित अवधीमा आधा काम पनि पूरा भएन । त्यसयता ६/६ महिना गरेर तीन पटक म्याद थप भैसकेको छ । गत मंसीरमा दोस्रो पटकको म्याद पनि सकिएको हो । निर्माण ब्यवसायीले माग गरे अनुसार ६ महिनाको म्याद थपेर गत जेठमा काम सम्पन्न गर्न भनिएपनि ढिलाई भएको पुरातत्व विभागले जनाएको छ । सार्वजनिक खरीद ऐन अनुसार गत पुषबाट ठेकेदारलाई दैनिक जरिवाना लगाएर काम गराइएको विभागका प्राविधिक नारायण बोहोराले बताउनुभयो ।साभारः च्वाईस एफ एम

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *