गोरखाकी चेली मेलवादेवी

गोरखाकी चेली मेलवादेवी

गोरखाकी चेली मेलवादेवी गुरूङ नेपालकी पहिलो महिला गायिका हुन्। तर केही पत्रपत्रिकाले उनलाई अर्कै ठाउँकी चेली लेखेपछि गुरूङकी माहिली बहिनीका छोरा चन्द्रध्वजलाई चित्त बुझेन। ‘मावली गाउँ रूम्जाटारमा उनको जन्म भए पनि उनको पुर्ख्यौली घर त गोरखा हो नि,’ उनले सेतोपाटीसँग भने।

गोरखाको जोडाँडामा मेलवादेवीको बुबाको जामुने खेत, जामुने कुलो अझै रहेको र कतै पनि बसाई नसरेको भन्दै उनले मेलवादेवी गोरखाकी चेली भएको दाबी गरे।

‘पिता ज्ञानबहादुर गुरूङ (जामुने सुवेदार) र आमा सपनादेवी (सप्तदेवी) को कोखबाट जेठी छोरीका रूपमा वि.सं. १९५४ सालमा मेलवादेवीको जन्म भयो। उनका २ बहिनी र १ भाइ थिए। ७ वर्षको कलिलो उमेरमै भाइ बिते’, काठमाडौंको टेकुम बस्दै आएका नेपाल प्रहरीका पूर्व डिआइजी चन्द्रध्वज गुरूङले मेलवादेवीका बारेमा केही स्पष्ट पार्ने खोजे, ‘श्री ३ चन्द्र शमशेरका पालामा उनका बाबु नेपाली सेनाको सुवेदार थिए। उनको घर गोरखा जिल्लाको तत्कालीन सौरपानी गाउँपञ्चायत वडा नं –१, जोडाँडा हो। हाल वारपाक सुलिकोट गाउँपालिका–४ मा पर्छ।’
ओखलढुङ्गाको रूम्जाटार भन्सारमा कार्यरत हुँदा जामुने सुवेदारको रूम्जाटार जागरबोट (काफल बोट)–८ की सप्तदेवीसँग विवाह भयो। जागिरकै क्रममा ओखलढुंगा रहेको बेला मेलवादेवीको जन्म भएको थियो।

यस्तै नेपाली सेनाका रिटायर्ड निमबहादुर गुरूङले पनि आफू गायिका मेलवादेवीको छिमेकी भएको भन्दै जन्मिएको जहाँ भए पनि उनी गोरखाली चेली भएको दाबी गरे। ‘आफ्नी ठाउँकी चेलीलाई केही पत्रिका र कलाकार परिचय कोशमासमेत अर्कै ठाउँकी भनेर उल्लेख गर्दा मलाई नरमाइलो लाग्यो, गुरूङले भने।

‍‘उनी सानैदेखि मिठो स्वरकी धनी थिइन्। संगीतमा रूचि भएकाले उनका बाबु आफैंले चन्द्र शमशेरको दरबारमा आफ्नी छोरीको परिचय गराएको थिए। तिनताका दरबारमा उनको खूब चर्चा हुन्थ्यो। श्री ३ का दरवारमा भ्रमण आएका स्वदेशी तथा विदेशी पाहुना लगायत त्यहाँका कर्मचारी र सिपाहीसमेत उनको स्वरमा मन्त्रमुग्ध हुन्थे रे!,’ नेपाली सेनाका रिटायर्ड निमवहादुर गुरूङले सम्झिए।

चन्द्र शमशेरका सबै भन्दा प्रिय पात्र थिइन् मेलवादेवी। महाराज शिकार खेल्न जाँदासमेत मेलवादेवीको सुमधुर स्वर सुनेर मृगहरू पनि नजिक आएका पुर्ख्यौली घर गोरखाकै मकैसिंह, पिपलबोट लाममिछाने गाउँ रहेका ८९ वर्षिय पूर्वडिआइजी गुरूङले किस्सा सुनाए।

केही समय अगाडि नेपाल पत्रिकामा मदनमणि दिक्षितको ‘चन्द्र शमशेर-मेलवादेवी सम्बन्ध’ विषयमा आलेख छापिएको थियो। दिक्षितका हजुरबाबा काशिनाथ आचार्य दिक्षित त्यसबेला दरवारका ७ जना सल्लाहकार मध्ये एक थिए। उक्त लेखकमा मेलवादेवीको स्वरबाट चन्द्र शमशेर अति प्रभावित भएको हजुरबाबाले सुनाएको उल्लेख छ। चन्द्र शमशेरले काशिनाथसँग मेलवादेवीलाई संगीत तालिम दिएर प्रशिक्षक बनाउने योजना सुनाएका थिए रे।

उनको जादुमय स्वर र सौन्दर्यले मोहित थिए श्री ३ सरकार। उनलाई ‘मेलवा नानी’ भनेर बोलाउँथे, पछि मेलवादेवी नामले परिचित भइन्। उनलाई चन्द्र शमशेरले दुई जोर छिटको धोति, चोलो र दुई दिनमा एक मोहोर वकस पाउने गरी सिंहदरबारको उत्तरपट्टी रहेको सुसारे गृहमा बस्ने ब्यवस्था मिलाएको प्रसंग उक्त आलेखमा लेखिएको छ।

सिंहदरवारको एक संगीतसभामा मेलवादेवीलाई चन्द्र शमशेरले ‘स्वर्गकी अप्सरा’को उपमा दिँदै सुन्दर पोशाक, मोतिका माला र बहुमूल्य औंठी लगाइदिएका थिए। महाराज राति अबेरसम्म खोपीमा मेलवादेवीका गीतमा मस्त हुन्थे। यसरी चन्द्र शमशेर धेरै नजिकिएकाले उनकी कान्छी महारानी बालकुमारी देवीलाई ईर्ष्या जागेछ। सँगै मेलवादेवीलाई भित्रभित्रै रानीमा पदोन्नति गर्ने गाइगुई हल्लाले महारानीलाई झन पिरोल्न थाल्यो। उनी आत्तिइन् । रिसले चुर भइन्। त्यही रिस फेर्न एक दिन वनारसी पानको विडामा सिन्दुर मिसाएर सुसारेद्वारा मेलवादेवीलाई सेवन गर्न लगाइन्।

त्यसपछि मेलवादेवीको स्वर बिग्रियो, अर्को दिन उनको सुरिलो स्वर धोद्रो सुनियो। चन्द्र शमशेर बेचैन भए। भारतबाट बंगाली डाक्टर झिकाएर उनको जाँच गराए। नेपाल र भारतमा डाक्टर र वैद्यले उपचार गर्न नसकेपछि बेलायतबाट घाँटी रोग विशेषज्ञलाई बोलाएर समेत उपचार गराएका थिए। उनको स्वरमा केही सुधार भए पनि स्वर मोटो कायम रह्यो। तर मोटो स्वरमा राग झन मिठो र ओजिलो सुनिएछ।

संगीत प्रवीण, नरराज ढकाललगायत थुप्रै संगीतका साधकलाई मेलवादेवीले संगीत सिकाएकी थिइन्। उनले ख्यातिप्राप्त उस्तादहरू डुण्डे खाँ, बालाप्रसाद शर्मा र गणपतसँग शास्त्रीयसँग संगीत सिकेको केही लेखमा चर्चा गरिएको पाइन्छ।

उनको लोकप्रियता देखेर दरबारमा डाहा गर्नेहरू धेरै भए। लोकप्रियतासँगै उनले दुश्मन कमाइन्। दरबारिया षड्यन्त्रका कारण उनको स्वर बिग्रिएको भनाइ चर्चामा छ। यही कारण उनलाई दरबारमा बस्न मन लागेन।
उनकोबारे थोरै मात्रामा लेखहरू छापिएका छन्।

वडा हाकिम डिट्ठा कृष्ण मानन्धरका छोरा विजेश्वरी मन्दिरका पूजारी कृष्णभक्त मानन्धरसँग मेलवादेवीको विवाह दक्षिणकाली मन्दिरमा भएको थियो। उनले पूजारीकी दोस्री श्रीमतिको रूपमा बिहे गरेकी थिइन्’, मेलवादेवीकी माहिली बहिनीका छोरासमेत रहेका चन्द्रध्वजले गुरूङले भने, ‘दुई छोरीकी आमा मेलवादेवीले श्रीमानको खासै माया पाइनन्, बरू अपहेलना झेल्नुपर्‍यो। यही दिक्दारीले साहसिक र स्वालम्बी उनी छोरी च्यापेर मुग्लान पसिन्। उनका छोरीहरूको भारतको कानपुर र मुम्बईमा विवाह भयो।’

भारतको कलतत्तामा बस्न थालेकी उनी त्यहाँ पनि निरन्तर संगीत साधनामा लागिन्। उता पनि उनको स्वरको चर्चा चल्थ्यो। उनी विभिन्न संगीत समारोहमा भाग लिन्थिन्। उनले जीवनकालमा दर्जनौं पदक र पुरस्कार पाएको गुरूङले सम्झिए। ‘उनलाई भारतमा ‘ठुमरी रानी’ समेत भनिन्थ्यो,’ उनले भने।

२०६० सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘साहित्यकार–कलाकार परिचय कोश’ मा मेलवादेवी गुरूङको जन्मस्थान रूम्झाटार, ओखलढुंगा लेखिएको छ। सोही पुस्तकका अनुसार उनको पहिलो रचना ‘सवारी मेरो रेलैमा’ कलकत्तामा हिजमास्टर भ्वाइस (एचएमभी) स्टुडियोमा रेकर्ड गराएकी उल्लेख छ।

नेपाली सांगीतिक इतिहासमा गीत रेकर्ड गराउने पहिलो नेपाली गायिका मेलवादेवीका ‘आऊ न बसौँ पियारी मिर्मिरे झ्यालैमा…’, ‘हाई मेरो परदेशी प्रितम छाडेर जानु भो…’, ‘यो जिन्दगीको के भरोसा…’, ‘माया मारी निष्ठुरीले छानी छानी रस लिएर…’, ‘सवारी मेरो रेलैमा…’का साथै शुक्रराज शास् त्रीको रचनामा ‘न घरलाई घर कहिन्छ…’ आदि गीत निकै लोकप्रिय छन् ।

‘उनले नेपाली, हिन्दी, नेवारी, बंगाली र उर्दू भाषामा प्रसस्तै गीत गाएकी छिन्। उनले कति गीत गाइन, कति रेकर्ड भए कही पर्याप्त अभिलेख छैन। उनी आफैं गीत रचना गर्थिन्। संगीत भर्थिन्। गाउँथिन्’, सम्झिए।

मुग्लान गएपछि एक पटक आमा बित्दा मात्र उनी नेपाल आएको डिआइजी गुरुङले सुनाए। ‘आमा बित्दा नेपाल आएकी उनी त्यसपछि कहिल्यै मातृभूमि फर्किनन्।’
मेलवादेवीको ५३ वर्षको उमेरमा सन् १९५५ मा दुर्घटनामा परेर भारतमा निधन भएको थियो।

उनको अन्तिम इच्छाअनुसार मृत्युपछि चितासँगै आफ्ना गीतका क्यासेट र प्राप्त गरेका पुरस्कारसहित हार्मोनियमसमेत जलाइएको गुरूङले जानकारी दिए।

उनको चर्चित गीत ‘सवारी मेरी रेलैमा’ युट्यूवमा समेत सुन्न पाइन्छ।

‘बिरानो देशैमा लैलैमै मरी जाउँला बरिलैलै
रोइदिने कोही छैन
सवारी मेरो रेलैमा ।’
पूर्वडिआइजी गुरूङले आफ्नी ठूली आमा मेलवादेवीवारे केही पत्रपत्रिकाले भ्रमपूर्ण र मनगढन्ते लेख छापेको भन्दै असन्तुष्टी पोखे। ‘मेलवादेवी विलक्षण प्रतिभा बोकेकी गोर्खाली चेली हुन्। उनीजस्ता लिजेण्डका विषयमा सही जानकारी नेपाल प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाले राख्नुपर्छ’, उनले भने, ‘हुलाक टिकटमा उनको फोटो छापेर राज्यले प्रशंसनीय काम गरेको छ। तर यतिले पुग्दैन, अब उनको विषयमा राम्रो अध्ययन गरेर उनका गीत, संगीत र सृजनाको सही अभिलेखिकरण हुनुपर्छ।’

स्वदेश र विदेशमा समेत ख्याती कमाएकी नेपाली चेली मेलवादेवीको भौतिक शरीर हामी माझ नभए पनि उनको काम बाँचिरहेको छ।साभारःसेतोपाटी

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *