पालुङटार नगरपालिका ९ का चार घरपरिबार बाढीले बगाएको छ । अबिरल बर्षापछि आएको स्थानीय चुक्तीखोलाको बाढीले सेराबजारभन्दा केही तल रहेको बिमल थापा, सेराबजारभन्दा केही माथिका हरि सेढाइँ र मानबहादुर लामाको घर बगाएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिए ।
रातको समयमा घर बगाए पनि मान्छे भने भागेर सुरक्षितस्थलतर्फ गएकाले मानवीय क्षति नभएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिए ।
सोही ठाउँको खारखोलामा आएको बाढीमा बिर्दी बजारका एक परिबार स्थानीय फँसेका छन् । बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहिबार बिहानैदेखि बाढीको बीचमा फँसेको स्थानीय ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।
खोलाको बाढीले धार परिवर्तन गरेर बिर्दीबजारतिर आएर घरलाई बीचमा पारेको उनले बताए ।
झलकबहादुर अधिकारीको ७० बर्षकी आमा र तीन जना नातिनातिनी भेलको बीचमा फँसेको श्रेष्ठले बताए । उनका अनुसार दुई जना भने डोरीको सहायताले उद्धार गरिएको छ भने वृद्धा र बालबालिकालाई उद्धार गर्न नसकिएको उनले बताए ।
साथै सोही खोलाको बाढीको उच्च जोखिम बढेपछि ढुङ्गेटारीका छ घर बिस्थापित भएका छन् । खोला घर छेउमै आएपुगेपछि स्थानीय राकेश परियार, चन्द्रबहादुर गुरुङ, अनील गुरुङ, बाबुकाजी गुरुङ, द्रौपदी गुरुङ र दीपा गुरुङको परिबार बिस्थापित भएका श्रेष्ठले बताए ।
उनीहरुलाई बिहिबार बिहानै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । उनीहरु घरबाट सामान सबै निकालेर आफन्तको घरमा शरण लिन गएका श्रेष्ठले बताए ।
उद्धारका लागि रातामाटे चौकीका प्रहरी र सदरमुकामबाट थप प्रहरी र सेनाको टोली आइरहेको जानकारी पाएको श्रेष्ठले बताए ।साभारः दरौँदी दैनिक पत्रिका
क्याप्सन : बाढी प्रभावित पालुङ्टार नगरपालिका ९ को बिर्दी र ढुङ्गेटारी
तस्वीर : ज्योति दाहाल