गोरखा अस्पतालका कर्मचारीहरुले मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शान्ति भुर्तेललाई निलम्वन गरि कारवाही गर्न माग गरेका छन् ।
अस्पताल विकास समिति कर्मचारी युनियनको इकाई समितिले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आइतवार ज्ञापनपत्र बुझाउँदै अस्पतालको कार्यस्थलमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि मेसु भुर्तेलले दुब्र्यवहार गरेको आरोप लगाएका छन् ।
अस्पताल प्रमुखबाट स्वास्थ्यकर्मीहरुलाई धाकधम्की दिने तथा विभेदपूर्ण शब्द प्रयोग हुने गरेको भन्दै कर्मचारी युनियनले प्रेस विज्ञप्ति पनि प्रकाशित गरेको छ । कर्मचारी युनियन ईकाई समिति अध्यक्ष चिजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा अस्पताल प्रमुखले कर्मचारीप्रति गर्ने ब्यवहार राम्रो नभएको उल्लेख गरिएको छ । ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा मेसु भुर्तेलले गरेका गलत काम भन्दै १० बुँदे विवरण पनि उल्लेख गरिएको छ । जसमा अस्पतालको गाडी नीजि काममा प्रयोग गरेको, कर्मचारीलाई समयमा तलव तथा सेवा सुविधा नदिएको, अस्पताल मातहतका कर्मचारीलाई नीजि काममा लगाएको जस्ता आरोप लगाइएको छ ।
यही ब्यहोराको पत्र कर्मचारी युनियनले अस्पताल ब्यवस्थापन समितिलाई पनि बुझाएको छ । कर्मचारीले लगाएका आरोपबारे मेसु भुर्तेलको प्रतिक्रिया लिन सकिएको छैन ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने अस्पतालको विवादलाई आन्तरिक रुपमै मिलाउनु पर्ने बताउनुभयो । महामारीका बेला विवाद गर्नुभन्दा अस्पताल ब्यवस्थापन समिति लगायतसँग छलफल गरि समस्या समाधान गर्नुपर्नेमा उहाँको जोड छ ।
ब्यवहारिक रुपमा भने आफूले अस्पताल ब्यवस्थापन समिति र मेडिकल सुपरिटेण्डेन्टसँग छलफल गर्ने उहाँले बताउनुभयो ।
सभार : choicefm.org