गोरखा । गोरखाकी एक युवतीको विरगञ्ज नाकाबाट उद्धार गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका ८ घर भई हाल गोरखा नगरपालिका वडा नं ९ मा बसोबास गर्ने २० बर्षकी युवतीलाई जिल्ला प्रहरी कार्यालय पर्साले जेठ १८ गते मंगलबार विरगन्ज नाकाबाट उद्धार गरेको हो ।
तनहुँ माइती भएकी सिता थापा क्षेत्री र उनका श्रीमान भारतीय नागरिक असगुर सैफीले नेपालगन्ज पूजामा जाने भन्दै विरगन्ज नाकाबाट भारत लैजाने क्रममा उनी सहित तनहुँकी अर्की युवतीका आमाछोरीलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेलबहादुर पाण्डेले बताउनुभयो ।
अनुसन्धानका क्रममा नेपालगन्जमा हुने एक पूजामा महिनावारी नभएको दिन एक घन्टा सहभागी भए एक लाख रुपैयाँ पाईने लोभ देखाएर उनीहरुलाई विरगन्ज पुर्-याएको पाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तनहुँको ब्यास नगरपालिका सागेकी २२ बर्षकी युवतीलाई नाताले आमाजु पर्ने सिताले पैसाको लोभमा पूजामा जान सहमत गराएको र उनले गोरखाकी आफ्नी साथीलाई समेत सँगै जाउ भनेर लगेको खुलेको छ ।
गोरखाकी युवती गत १६ गते नै घरबाट निस्किएर तनहुँस्थित साथीको घरमा पुगेकी थिईन् । उनीहरुलाई विरगन्जमा पैसा लिएर नेपालगन्ज जाने भन्दै सिता दम्पतीले टिपरबाट १७ गते विरगन्ज पुर्-याएका थिए । सिता दम्पतीको गतिविधि शंकास्पद लागेपछि उनिहरुले एक पसलमा पुगेर आफुहरु समस्यामा परेको भन्दै वास्तविकता बताएका थिए । लगत्तै स्थानीय प्रहरीले दुई युवती, एक नाबालक र सिता दम्पतीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सा पुर्-याएको हो । प्रहरीले पीडित दुई युवती र नाबालकलाई मानव बेचबिखन विरुद्धमा काम गरिरहेको संस्था आफन्त नेपालको संरक्षण गृहमा पठाएको छ ।
आफन्त नेपालकी पर्सा संयोजक मनु रानाका अनुसार दुई युवतीलाई बेचविखनका लागिभारत लैजान लागिएको हो कि भन्ने आशंका गरिएको छ । युवतीहरुलाई झुक्काएर विरगन्ज नाका पुर्-याउने सिता दम्पती विरुद्ध आज जिल्ला अदालत पर्सामा मानव बेचविखन तथा ओसारपोसार सम्बन्धी मुद्धा दर्ता गरेको रानाले बताउनुभयो । उद्धार गरिएका दुई युवतीमध्ये तनहुँकी युवतीलाई पारीवारीक पुर्नमिलन गराउने र गोरखाकी युवतीलाई आफन्त नेपालको सेफ हाउसमा राखेर आत्मनिर्भर बनाउन सिप सिकाईने रानाले जानकारी दिनुभयो ।
स्रोत :choicefm.org