भिमसेन पार्क प्रवेशका लागि शुल्क लाग्ने

भिमसेन पार्क प्रवेशका लागि शुल्क लाग्ने

गोरखाको पीपलथोकमा रहेको भिमसेन पार्क प्रवेशका लागि शुल्क लाग्ने भएको छ । वडा कार्यालयको पहलमा भिमसेन थापा स्मारक पार्क संरक्षण समिति गठन गरि माघ १ गतेदेखि पार्क प्रवेशका लागि शुल्क लिने निणर्य भएको समितिका अध्यक्ष राजु थापाले बताउनुभयो । विद्यार्थीका लागि ५ र अन्यका लागि १० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । विहान ८ बजेदेखि साँझ ५ बजेसम्म पार्क खुल्ला रहने थापाले बताउनुभयो । पार्क प्रवेश शुल्कबाट संकलन भएको रकम सो क्षेत्रको संरक्षण र विकासमा खर्च गर्ने तय भएको उहाँको भनाई छ ।
नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो पिपलथोकमा गोरखा नगरपालिकाको सहयोगमा भिमसेन थापाको सालिक सहित पार्क बनाएपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । विशेष गरी शनिबार र विदाको अन्य दिनमा पार्क घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बढेको पार्क निर्माणका लागि जग्गादान गर्नुभएका स्थानीय बासिन्दा मकरबहादुर गुरुङले बताउनुभयो । अन्य दिनमा १ शय भन्दा बढी र शनिवार तथा विदाको अन्य दिनमा ५ शय भन्दा बढी पर्यटक पार्कमा पुग्ने गरेका उहाँको भनाई छ । भीमसेन उद्यान नजिकै थापाकै पालामा बनेको प्राचीन जर्नेल धारा पनि रहेको छ ।

ऐतिहासिक महत्व बोकेको पीपलथोकबाट मनासलु, हिमाल चुली, गणेश हिमाल, लम्जुङ हिमाल, माछापुच्छ्रे लगायत हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । साथै जिल्लाको चर्चित तथा ऐतिहासिक र पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिग कोट, ताकुकोटको दृश्यावलोकन गर्न सकिन्छ । उद्यानमा धुपीलगायत विभिन्न जातका बोटबिरुवा हुर्काइएको छ । फूलबारी बनाइएको छ भने आराम गर्न मिल्ने प्रतीक्षालयहरु बनाइएको छ । सदरमुकामबाट गोरखा दरबार हुँदै पीपलथोक पुग्न सकिन्छ ।
स्रोत :choicefm.org

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *