बडादसैँ र गोरखकाली मन्दिरको धार्मिक एवम् ऐतिहासिक महत्व

गोर्खा पर्यटन

रामशरण आचार्य
गोरखा।
लोकतन्त्र स्थापना पछिको पहिलो बडादसैँ नेपालीहरूको घर आँगनमा प्रवेश गरिसकेको छ। भय, त्रास एवम् आसुरी प्रवृत्तिको अन्त्य भई समाजमा शान्ति, सद्भाव तथा आत्मियता र भावनात्मक समिप्यता स्थापित भएको धार्मिक सन्दर्भमा हर्षोउल्लासका साथ नेपालीहरूले दसैँ पर्व मनाउँदै आएको पाइन्छ।बडादसैँ नेपालीहरूको महान् एवम् सबैभन्दा ठूलोपर्व हो। यस पर्वले नेपालीहरूको घरपरिवार तथा समाजमा आत्मियता, सद्भाव, समिप्यता, भाइचारा एवम् मानवीय सदाचारको सिर्जना गर्ने तथा परिवार र समाजबाट रिसराग, द्वेष र कटुताको अन्त्य गर्दछ भन्ने धार्मिक विश्वाससमेत रहेको छ। आसुरी एवम् राक्षसी प्रवृत्तिको अन्त गरी मानव समाजमा सुख,शान्ति र भावनात्मक आत्मियताको श्रीवृद्धि गर्ने देवी महादुर्गा कालीका भगवतीको मठ मन्दिर तथा आफ्नो घरमा देवी दुर्गा कालिकाको प्रतिमूर्ति खडा गरी विशेष पूजा आराधना एवम् श्रद्धा गर्दै नेपालीहरूले महान् पर्व बडादसैँ खुसीयाली एवम् हर्षोल्लास र मनोरञ्जन गरेर मनाउने धार्मिक प्रचलन छ।यसैक्रममा सिङ्गो राष्ट्र नेपाल निर्माणको श्रीगणेश गर्ने गोरखा जिल्लाको गोरखकाली दरबारमा बडादसैँ अवधिभर शक्तिस्वरूपा महाकाली देवी दुर्गा भगवती गोरखकालीकाको मन्दिरमा धार्मिक परम्परा तथा बैदिक विधिपूर्वक हुने बिशेष शक्ति पूजा तथा शक्तिको आराधना तथा धार्मिक मेलाको कारण बडादसैँको अवसरमा गोरखकाली मन्दिरको धार्मिक एंव ऐतिहासिक महत्व नेपालीहरू माझ अतुलनीय रहेको पाइन्छ।गोरखा दरवारस्थित मन्दिर दसैँघरमा नवरात्री प्रारम्भ हुने घटस्थापनाको
दिन बिहान सबेरै दुर्गा भगवतीको प्रतिमालाई विधिवत दियो, कलश र नगराबाजा कैलाश कोठाबाट पूजा कोठामा स्थानान्तरण गर्ने कार्य
गरियो।यसरी देउता सार्ने कार्य शदियौंदेखि चलिआएको छ र आज पनि कायमै छ। यस पटकको घटस्थापनाको दिन पनि यो सबै प्रक्रिया पूरा गरियो।घटस्थापनाका दिन दुर्गा भगवतीको सवारी अर्थात् स्थानान्तरण गरिएको हेर्न गोरखा दरबारको प्रांगणमा हजारौं श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो। घटस्थापनाको दिन बिहान चार बजेदेखि नै गोरखा दरबारमा देवता सारेको हेर्न जाने केटाकेटी, युवायुवती तथा बूढाबूढीहरूको भिड लागिरहन्छ।गोरखा जिल्लालगायत मुलुकका विभिन्न स्थानबाट सयाँभक्तजन गोरखा दरबारमा घटस्थापनाका दिन देवी दुर्गा भगवतीको प्रत्यक्ष अवलोकन एवम् पूजा आराधानाका लागि आउँछन्।यसरी गोरखकाली दरबारमा हर्षबढाइँका साथ देउता सार्ने अर्थात् देवी महादुर्गा कालीका भगवतीको प्रतिमा स्थानान्तरण गरिने प्रथाको प्रारम्भ सम्पन्न भएपश्चात् मात्र हुन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको घोषणाको प्रतीक मानिन्छ।देवी भगवतीको सवारी पूजाकोठामा भएपछिको शुभसाइतमा गोरखा दरबारस्थित दसैँघरमा
विधिपूवर्क दियो, कलश र गणेशको पूजा गर्ने र माटोको पूर्णघडामा गाईको गोबर राखी घाम नर्छिने अँध्यारो कोठामा जौ वा मकै रोपेर
वैदिक विधिअनुसार जमरा राखी पञ्चरत्न चढाई शक्तिरूपी दुर्गा भवानीको पूजाआराधाना गर्ने परम्परा छ।तर यसवर्षको प्रारम्भसँगै
नेपालबाट राजतन्त्रले बिदा लिएको हुँदा नेपालको राजनीतिक परिवर्तनले मुलुकमा गरेको क्रमभङ्ग जस्तै यसवर्षको बडादसैँदेखि गोरखा दरबारस्थित दसैँघरको ऐतिहासिक एवम् धार्मिक परम्परामा पनि क्रमभङ्ग भएको छ।गोरखकाली मन्दिरका पुजारीका अनुसार बडादसैँको प्रतिपदादेखि हरेक दिन गोरखकाली दरबारस्थित दसैँघरमा धार्मिक परम्पराअनुसार महाकाली,महालक्ष्मी,महासरस्वतीलगायत नवदुर्गाको
पूजा आराधाना एवम् चण्डी र भगवती स्तोत्र पाठ गरिने कार्यले भने यसवर्ष पनि विगतमा झैं निरन्तरता पाउने भएको छ।बडादसैँको
हरेक दिन बिहान सयौं श्रद्धालु भक्तजनहरूको नवदुर्गाको दर्शन एवम् पूजा आराधाना तथा चण्डी र भगवती स्तोत्र पाठ गर्न गोरखा
दरबारस्थित दसैँघरमा दुर्गा भगवती कालिकाको मन्दिरमा ठूलो भीड लागि रहेको छ। बडादसैँको सातौं दिन गोरखा दरबारस्थित दसैँघरमा
वैदिक विधिपूर्वक फूलपाती भित्र्याउने कार्य हुन्छ। सो दसैँघरमा सल्यानबाट ल्याइएको भार जसमा उखुको बोट,केराको बोट,बेलपत्र,दारिम,धानको बाला,अशोकका पात,अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीको रूपमा हाँडी, गाग्रा र आँखुकोषको माछा ल्याएपछि मात्र फूलपाती भित्र्याउने चलन छ। तर, यस वर्षको दसैँदेखि उक्त परम्परा तथा धार्मिक प्रचलन टुट्ने भएको छ। गोरखा दरबारस्थित दसैँघरमा बैदिक विधिअनुरूप फूलपाती भित्र्याएपछि परम्पराअनुसार गोरखा दरबारबाट फूलपाती विगत वर्षको दसैँमा राजधानीको हनुमानढोकास्थित दसैँघरमा पठाउने गरिएकोमा यसवर्षदेखि सरकारले सो परम्पराको अन्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *