नेकपाले टुंग्यायो गाउँपालिका नेतृत्व, दुई नगरपालिकामा सहमती जुटेन

0

पूर्व माओवादीलाई ६ र एमालेलाई ३ गाउँपालिका

मोहसिन अलि मियाँ
गोरखा, १५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले जिल्लाको ९ स्थानीय तहमा नेतृत्व चयन गरेको छ । ११ स्थानीय तह रहेको गोरखामा ९ गाउँपालिकाको अध्यक्ष र सचिव टुंगिएपनि दुई नगरपालिकामा भने नेतृत्वका बिषयमा सहमती जुट्न सकेन । शुक्रबार पार्टी कार्यालय पाटेचौरमा बसेको जिल्ला पार्टी कमिटी, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य, प्रदेश सदस्यहरुको बैठकबाट ९ गाउँपालिका मध्ये ३ वटामा पूर्व एमाले र ६ वटामा पूर्व माओवादीले नेतृत्व गर्ने गरी जिम्मेवारी बाँडफाँड भएको अध्यक्ष लेखबहादुर थापाले बताए ।

नेकपा माओवादी र एमालेले एकता घोषणा गरेको एक बर्षपछि नेकपाले जिल्ला र स्थानीय तहमा नेतृत्व चयन गर्न सफल भएको हो । केहि दिनअघि मात्रै जिल्ला नेतृत्व तोकेको नेकपाले अजिरकोट, भिमसेन थापा, बारपाक सुलिकोट, गण्डकी, चुमनुब्री र धार्चेमा पूर्व माओवादीलाई नेतृत्व दिएको छ भने आरुघाट, शहिद लखन र सिरानचोकमा पूर्व एमालेले नेतृत्व पाएको छ । जसअनुसार अध्यक्ष र सचिवमा पूर्व दुई अलगअलग पार्टीका प्रतिनिधी रहनेगरी सहमती जुटेको छ ।

जसअनुसार अजिरकोट गाउँपालिकामा पूर्व माओवादीका सनिल परियार अध्यक्ष चयन भए भने सचिवमा पूर्व एमालेका सन बहादुर तामाङले जिम्मेवारी पाएका छन् । त्यस्तै भिमसेन थापा गाउँपालिकामा अध्यक्षमा सुजन पाण्डे र सचिवमा साधुराम थापा चयन भएका छन् । यसैगरी बारपाक सुलीकोटमा नर बहादुर गुरुङ अध्यक्ष हुदा पूर्व एमालेका सुजन गुरुङ सचिव भए भने गण्डकीको अध्यक्षमा सिताराम रसाईली र सचिवमा लेबेन्द्र गुरुङले जिम्मेवारी पाएका छन् । त्यस्तै चुवनुव्री गाउँपालिकामा पूर्व माओवादी कै कुमारी गुरुङ अध्यक्ष हुदा एमालेका राजु गुरुङ सचिव भए भने धार्चेको अध्यक्षमा लक्ष्मण गुरुङ र सचिवमा शेर बहादुर गुरुङ चयन भएका छन् ।

यसैगरी पूर्व एमालेको भागमा पारेको तिन गाउँपालिकामध्ये आरुघाट गाउँपालिकामा नारायण ध्वज खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । त्याहा पूर्व माओवादीका श्याम कुमार श्रेष्ठ सचिव भएका छन् । त्यस्तै सहिद लखनमा एमालेकै मनोज जि.सि.ले अध्यक्षको जिम्मेवारी पाउदा धुव्र खनाल सचिव चयन भए भने सिरानचोकमा देवराज श्रेष्ठ अध्यक्ष भएका छन् भने पूर्व माओवादीका सितल पोखरेलले सचिवको जिम्मेवारी पाएका छन् ।

गोरखा र पालुङ्टारमा विवाद
यता गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकामा भने नेतृत्वको बिषयमा पूर्व दुई पार्टीबिच विवाद पैदा भएको छ । गोरखा नगरपालिकामा पूर्व माओवादी र एमाले दुवैले नेतृत्व दावी गरेपछि सहमती जुट्न नसकेको जिल्ला अध्यक्ष थापाले बताए । ‘सबै गाउँपालिकामा सहमतीमै नेतृत्व चयन भयो । तर गोरखा नगरपालिका र पालुङ्टारका बिषयमा साथीहरुको आ–आफ्नै अडान र दावी रह्यो’ अध्यक्ष थापाले भने ‘गोरखा नगरपालिकामा दुवै पार्टीको दावी छ । शुक्रबार दुई नगरपालिकामा सहमती नभएकाले गाउँपालिकाको मात्रै टुंग्याएका हौ तर नगरपालिकाको पनि अध्यक्ष र सचिव भने सबै टुंगिएको छ ।’

गोरखा नगरपालिकाको बिषयमा सहमती जुट्न नसकेपछि प्रदेश समितिलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिनेगरी बैठक सकिएको उनको भनाई छ । ‘हामी विवाद गर्न चाहान्नौ । सबै मिलेर जानुपर्छ भन्ने हो ।’ उनले थपे ‘दुई नगरपालिकाको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश समितिलाई दिने निर्णय गरेका छौ र प्रदेशले जसलाई जिम्मेवारी दिन्छ त्यो सबैलाई मान्य हुने भन्ने सहमती पनि बनेको छ ।

Share.

Leave A Reply