जनताले अपेक्षा गरे अनुसार सरकारले काम गरेन ः प्रचण्ड

0

मोहसिन अलि मियाँ
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको एक बर्ष सन्तोषजनक हुन नसकेको बताएका छन् । मंगलबार गोरखाको वारपाक सुलिकोट गाउँपालिका ६ ताकुकोटमा जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताएका हुन् । ‘नेकपाको दुई तिहाईको सरकारले जुन किसिमले काम गर्ला भन्ने जनताले सोचेका थिए, त्यो भएन’ उनले थपे ‘देशमा सम्बृद्धि आउला, बृद्धभत्ता बढ्ला, विकास होला भनेर सोचेका जनताले एक बर्षमा त्यो पाउन सकेनन् ।’

सोचे अनुसार सरकारले काम गर्न नसकेको कुरा आफुले मात्रै नभई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत महसुस गरेको प्रचण्डले बताए । यस बिषयमा आफुले प्रधानमन्त्रीसंग छलफल गरेको समेत बताए । ‘सरकारको काम सन्तोषजनक भएन भन्ने कुरा मलाई मात्रै होइन, प्रधानमन्त्री जी ले पनि महसुस गर्नुभएको छ, हाम्रो यस बिषयमा छलफल भएको छ ।’ प्रचण्डले भने ‘यो बर्ष छुटेका, गर्न नसकेका कामलाई आगामी बजेटमा राखेर अघि बढाउछौ, जनताले महसुस गर्ने गरी बजेट बनाउछौ, काम गर्छौ ।’

जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेल स्मृती पार्क शिलन्यास गर्न ताकुकोट पुगेका अध्यक्ष प्रचण्डले २०५२ सालमा जनयुद्ध सुरु गर्दा आफु गोरखामै रहेर तालिम गरेको स्मरण समेत गरे । जनयुद्धको पहिलो तालिम गोरखा कै सिरानचोकमा भएको सम्झदै उनले हतियारको भन्दा बिचार र राजनितीको लडाई गर्न आफुलाई चुनौतीपूर्ण बनेको बताए । ‘हिजो हतियारको लडाई ग¥यौ, बिभिन्न कष्ट र घेरा तोड्न सफल भएर आज यहाँसम्म आइपुग्यौ’ उनले थपे ‘तर आज महसुस हुन्छ, हतियारको लडाई भन्दा बिचार र राजनितिक लडाई चुनौतीपूर्ण, झन् कठिन खाले कडाई लड्नुपरेको छ ।’

आफुले कम्युनिष्टको एकताका लागि २०६४ साल मै प्रयास गरेको खुलासा गर्दै प्रचण्डले १० बर्षपछि आएर सफल भएको बताए । ‘मैले शान्तीप्रकृया सुरु हुदैगर्दा २०६४ मै बाम एकताको लागि प्रयास सुरु गरेको थिए’ उनले भने ‘तर त्यतिबेला सफल हुन दिइएन, १० बर्षपछि आएर एकता भयो, निर्वाचनबाट जनताले यसलाई अनुमोदन गरिसकेका छन्, यसलाई टिकाउनु हाम्रो जिम्मेवारी हो ।’
जनयुद्धमा मारिएका शहिद परिवारले अझैसम्म न्याय नपाएको बताउदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उनिहरुलाई परिचयपत्र, रोजगारी र क्षतिपूर्तिको ग्यारेण्टी गर्नुपर्ने बताए ।

शहिदका परिवारले पाएको १० लाख रुपैया मात्रै प्रयाप्त नहुने उनको तर्क छ । ‘१० लाख रकम प्रयाप्त छैन, अब उनिहरुलाई हामीले परिचयपत्र, रोगजारी र थप क्षतीपूर्तिको ब्यवस्था गर्न जरुरी छ’ उनले थपे ‘हामी यो ब्यवस्था गर्न लागिपरेका छौ, काम अन्तिम चरणमा पुगेको छ ।’ त्यस्तै वारपाक सुलिकोट गाउँपालिकाका स्थानीयले घ्याम्पेशाल, देउराली, ताकुकोट, साँरासौरपानी हुदै वारपाक जाने सडक पिच गर्न, उल्टेदेखि मोहोरिया हुदै गाउँपालिका जाने सडकको स्तरोन्नती गर्न, २५ शैयाको अस्पताल, प्राविधिक शिक्षालय लगायत गाउँपालिकाभित्रका धार्मिक एवं साँस्कृतिक ऐतिहासिक धरोहरको संरक्षणमा पहल गर्ने प्रचण्डले आश्वासन समेत दिएका छन् ।

सोही कार्यक्रममा बोल्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता भएको ९ महिना बितिसक्दा समेत संगठन विस्तारको कामले तिब्रता नपाएको प्रति असन्तोष ब्यक्त गरे । यस अवधीमा महसुस भएका कमि कमजोरीलाई सुधार गरेर पार्टी नेतृत्व अघि बढ्नुपर्नेमा उनको जोड थियो । त्यस्तै श्रेष्ठले नेपाल सामाजिक युग सहितको सम्बृद्धिको चरणमा रहेको बताउदै जनताको भरोसा टुट्न दिन नहुने बताएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका ८ मा झण्डै ५ करोडको लगानीमा शहिद दिलबहादुर रम्तेल स्मृती पार्क निर्माण हुने भएको छ । पार्कको मंगलबार प्रचण्डले शिलन्यास गरेका हुन् । रम्तेलको घर नजिकै करिब ९ रोपनी क्षेत्रफलमा बन्न लागेको पार्क निर्माणका लागि यस बर्ष गाउँपालिकाले १५ लाख रकम बिनियोजन गरेको छ । २०५२ साल फागुन १४ गते प्रहरीको गोली लागि रम्तेलको ज्यान गएको थियो ।

त्यस्तै मंगलबार नै गाउँपालिकाको भवन प्रचण्डले शिलन्यास गरेका छन् । वारपाक सुलिकोट ६ को ताकुकोटमा करिब ७ करोड लाग्ने अनुमान गरिएको ३२ कोठे भवन निर्माणका लागि यस बर्ष जिल्ला समन्वय समितिबाट १ करोड र गाउँपालिकाबाट ७० लाख रकम बिनियोजन भएको गाउँपालिकाले जनाएको छ ।

सोही अवसरमा ताकुकोटमा निर्माण भएको सूर्यज्योती माविको नवनिर्मित भवनको समेत अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् । सेभ द चिल्ड्रनको आर्थिक सहयोगमा श्री स्वाँरा सघन गाउँविकास केन्द्रले निर्माण गरेको भवन निर्माणमा ३ करोड ६५ लाख लगानी भएको छ । गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री एवं नेकपाका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, पूर्व निर्वाचन आयुक्त एवं सम्बृद्ध वारपाक सुलिकोट सल्लाहकार समितिका संयोजक दोलखबहादुर गुरुङ, गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, सूर्यज्योती माविका प्रअ भिमकुमार श्रेष्ठ, सेभ द चिल्ड्रेनका यादव मैनाली लगायतले बोलेका थिए ।

मंगलबार नै गण्डकी गाउँपालिका वडा नम्बर ७ को वडाभवन समेत उद्घाटन गरेका छन् । घ्याल्चोकमा आयोजित प्रतिनिधी सभा सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्री लेखबहादुर थापा लगायतले बोलेका थिए ।

तस्विर ः मोहसिन अलि मियाँ/हाम्रो गोर्खा डटकम

Share.

Leave A Reply