लाप्राकमा धुमधामले भयो मकैको बिहे

0

हाम्रो गोर्खा
गोरखा । फागुन लगनको महिना हो । अहिले धेरै जोडीहरु बैवाहिक बन्धनमा बाँधिरहेका छन् । बिहे भन्ने बित्तिकै एक पुरुष र महिला बिच हुने पारिवारिक एवं सास्कृतिक बन्धन भनेर बुझिन्छ ।तर जिल्लाको लाप्राकमा पनि यस्तै अनौठो बिहे भएको छ । सधै जस्तै यस वर्ष पनि लाप्राकको किसानहरुमा मंगलबार किसानले हर्ष र उल्लासका साथ मकैको बिहे गरेको स्थानीय समेत रहेका धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ्गले जानकारी दिए । ‘यो हाम्रो परम्परा देखि चलिआएको कुरा हो’ उनले भने ‘सोही अनुसार यस वर्ष पनि मकैको बिहे सम्पन्न भएको छ ।’
हरेक वर्ष बिहे गरेपछि मात्र मकै छर्ने स्थानीयको परम्परा छ । बिहे नगरी मकै छर्दा दाना नलाग्ने र घोगा सानो लाग्ने जस्ता समस्या देखिने जनविश्वास छ ।‘बिहे नर्गदासम्म कसैले मकै छर्दैन’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘त्यसैले साईत अनुसार आज मकैको बिहे गरिएको हो ।’ बिक्रम सम्वत १८१५ साल देखि चलिआएको उक्त परम्परा स्थानीयले अहिलेसम्म धानेका छन् । अनिकालबाट जोगाउन देउतालाई पुकार्दै मकैको बिहे गर्ने चलन चलाइएको बुढापाको भनाई छ । मकैको बिहे गर्ने साईत अनुसार फागुन १३ गते सोमबार दिउँसो ३ः३० बजे सिंगै मकै जमिनमा गाडिएको थियो । त्यही मकै मंगलबार बिहान ८ः३० बजे जमिनबाट निकालेर सबै स्थानीय भेला भई बाजागाजा सहित गाउँ परिक्रमा गरेर बिहे सम्पन्न गरिएको हो । मकैको विहेमा साना केटा केटीलाई दुलाहा दुलही बनाएर जन्ती लैजाने र बेहुली लिएर आउने चलन छ । जन्ती जादा गाउँलेले ढ्यांग्रो, झ्याली, मादल जस्ता बाध्यबाधन बजाएर नाचगान समेत गर्ने गर्छन । बिहे सकिएपछि मकै कै भोज पकाएर खाने प्रचलन रहि आएको छ । सोही क्रममा स्थानियले घाटु नाच समेत देखाएका थिए । सामुहिक रुपमा असीना, पानी, खडेरीबाट अन्न जोगाई दिन भन्दै उनीहरुले भगवानसँग प्राथना समेत गरेका छन् ।

Share.

Leave A Reply