स्रोत ब्यक्ति विद्यालय फिर्ता, गोरखाका १५ शिक्षकको जागिर धरापमा

0

मोहसिन अलि मियाँ
गोरखा । जिल्ला भर रहेका स्रोत ब्यक्तिहरुलाई काज फिर्ता गरिएको छ । हाल गोरखाका ११ वटै स्थानीय तहको बिभिन्न स्रोत केन्द्रमा कार्यरत १५ जना आरपीलाई साविककै विद्यालयमा काज फिर्ता गराइएको हो । बिहिबार शिक्षा विकास तथा समन्वय इकाईले सबै स्थानीय तहमा कार्यरत स्रोत ब्यक्तिलाई पत्र काट्दै फिर्ता हुन भनेको हो । ‘माथीबाट आएको निर्देशन अनुसार हामीले ११ वटै पालिकाका आरपीलाई काज फिर्ता हुन पत्र काटिसक्यौ’ इकाईका शाखा अधिकृत सुवासचन्द्र आचार्यले भने ‘उहाँहरु पदाधिकार रहेकै स्कुलमा गएर साविककै पदमा रहने गरी काज फिर्ता गरेका हौ ।’

संघिय सरकारको गत ३ गतेको मन्त्रीपरिषदको बैठकले देशभर रहेका १ हजार ५३ जना आरपी हटाउने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मान्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लालाई बुधबार पत्र काटेको थियो । गोरखामा १८ स्रोत केन्द्र रहेपनि ३ स्थानमा भने दरवन्दी खाली थियो । शहिद लखन, वारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाको गरी तिन केन्द्रमा दरवन्दी खाली रहेकाले १५ जनालाई काज फिर्ता गरी तत्काल विद्यालयमा हाजिर हुन इकाईले भनेको हो । ‘३ केन्द्रमा आरपी थिएनन्, १५ जनालाई हामीले हामीले तत्कालै रमना लिई विद्यालयमा हाजिर हुन भनेका छौ ।’ शाखा अधिकृत आचार्यले भने ।

त्यस्तै इकाईले आरपीहरुलाई काटेको पत्रमा स्रोत केन्द्रको छाप, आर्थिक हरहिसाव, अन्य अभिलेखहरुको विवरण पेश गरी तत्काल बजबुझारथ गर्न आउन समेत भनेको छ । ‘अहिलेसम्म प्रयोग भएको स्रोत केन्द्रको छाप, आर्थिक विवरण तथा अन्य प्रशासनिक अभिलेखहरुको विवरण तत्काल बुझाउन आरपीलाई भनेका छौ ।’ आचार्यले थपे ‘केन्द्रमा भएको फर्निचर लगायत अन्य भौतिक सामाग्री भने विद्यालयमा बुझाएर सक्कल पत्र इकाईमा ल्याएर बझबुझारथ गर्न पत्र पठाएका छौ ।’
जिल्लामा रहेका १५ आरपी मध्ये २ जना निमावी र १३ जना मावी तहका छन् । आरपीमा काज आएसंगै विद्यालयले करारमा उनिहरुको ठाउँमा राखेको शिक्षकको भने स्वत अवकाश हुने इकाईले बताएको छ । सरकारले प्रत्येक स्थानीय तहमा शिक्षा, युवा तथा खेलकुद शाखा स्थापना गरेसंगै आरपीको भुमिका आवस्यक नदेखिएपछि उनिहरुलाई विद्यालयमा फिर्ता गरिएको हो ।

Share.

Leave A Reply