छैटौं गोर्खाली रनिङ्ग कप सुरु, पहिलो खेलमा त्रिवेणी विजयी (फोटो सहित)

0

मोहसिन अलि मियाँ
गोरखा । जिल्लाकै सर्वाधिक पुस्कार राशी भएको गोर्खाली रनिङ्ग कप फुटबल प्रतियोगिता सुरु भएको छ । हरमटारी क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता मंगलबार गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा त्रिवेणी युथ क्लब मुग्लिन विजयी भएको छ । श्रीजंग गण लमजुङ्ग र त्रिवेणी बिच भएको खेलको पूरा समयसम्म एक÷एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा ४–२ गोलअन्तरले त्रिबेणी बिजयी बनेको हो ।

प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख राजनराज पन्त लगायत ।

खेलको १४ औं मिनेटमा श्रीजंग गणका ११ नम्बरका खेलाडी सतिसराज धामीले गोल गर्दै खेललाई अग्रता दिएका थिए । तर उनको अग्रतालाई २८ औ मिनेटमा त्रिवेणी युथ क्लबका १० नम्बर जर्सिका खेलाडी बिकि राईले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । सेभेन ए साइड प्रतियोगिताको ६० औ मिनेटसम्म अरु गोल नहुदा खेल १–१ को बराबरीमा रोकिएको थियो । मंगलबार भएको पहिलो खेलमा त्रिवेणी क्लबका राजन श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका छन् ।


आयोजक हरमटारी क्लबका अध्यक्ष बिशाल गुरुङको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले खेलकुद क्षेत्रलाई अघि बढाउन गोरखा नगरपालिकाले बिभिन्न कार्ययोजना निर्माण गरी अघि बढेको बताएका छन् । यस प्रतियोगितालाई समेत गोरखा नगरपालिकाको सहयोगमा गरिएको हो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष कृष्ण थापा, केन्द्रिय सदस्य रत्न कुमार श्रेष्ठ, नेकपाका नेता कृष्ण राना, जिल्ला फुटबल संघ गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले नगद २ लाख पुरस्कार पाउने आयोजकले बताएको छ । उपविजेताको लागि १ लाख र सेमिफाइनलमा पुग्ने दुई समूहलाई ५०÷५० हजार पुरस्कार स्वरुप उपलब्ध गराइने क्लबका किरण ढकालले बताए । यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वोत्कृष्ट अग्रपक्ति, मध्येपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताले जनही ७ हजार ५०० पुरस्कार पाउने छन् ।


त्यस्तै बुधबार ३ खेल हुने आयोजकले बताएको छ । बिहान ८ बजे रणसिं दल गण गोरखा र दौतरी क्लब चित्रेपोखरी बिच खेल हुनेछ भने दोस्रो खेल आरआर एफ सि हेटौडा भर्सेज हिमालयन बगैचा आरुघाट र तेस्रो खेल अल स्टार आँबुखैरेनी र मैदान काली बिच खेल हुने क्लबका ढकालले जानकारी दिए । गोरखा सदरमुकाम स्थित खेलकुद मैदानमा आयोजना गरिएको प्रतियोगिता आगामी १४ गतेसम्म चल्नेछ ।

Share.

Leave A Reply