ओझेलमा प्रजातान्त्रिक आन्दोलनका महान योद्धा जय सिं चुमी राना मगर

0

रुद्र बहादुर राना मगर

नेपाल हजारौ वीर वीरङ्गनाहरुको कठोर संघर्ष र वलिदानी त्यागले विश्वमान चित्रमा स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न र अखण्ड राज्यको रुपमा स्थापित गौरवशाली राष्ट्र हो । नेपाल एकिकरण, विस्तारवादी भारतीय अंग्रेज सरकार विरुद्धको युद्ध तथा ईतिहासको विभिन्न कालखण्डहरुमा निरंकुश शासन ब्यबस्थाको अन्त्य गरि राजनीतिक स्वतन्त्रता र हक अधिकार बहाली गराउने अधियानमा नेपाल आमाका थुप्रै सन्ततीहरुले प्राणोत्सर्ग गरेका छन् । राष्ट्र राष्ट्रियाता राष्ट्रिय अखण्डता र स्वतन्त्रता जस्ता राष्ट्रिय स्वार्थ एवं आम जनसमुदायको सामुहिक हितका निम्ति कठीन यातना र संघर्षका चुनौतिहरुसंग उच्च शाहसका साथ मुकाविला गर्दै प्राण समेत वलिदानी गर्ने ब्यक्तित्वहरु वास्तवमै राष्ट्रिय गौरवका स्रोत हुन । जसको योगदानले गर्दा हामी आज सम्म स्वाधिन नेपाल राष्ट्रको स्वतन्त्र जनताको रुपमा विश्वसामु चिनिने सौभाग्य पाएका हौ । त्यसैले आजको स्वाधीन, स्वतन्त्र र अखण्ड नेपाल, नेपालको ईतिहास मात्र होईन नेपाली जातिको गौरवको निशानी हो ।’

आज माघ १६ गते शहिद दिवस, शहिद भन्नासाथ राणा शासन विरुद्ध उभिदा ज्यान गुमाएका चार विभुति दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठको सम्झना गरिन्छ । अनि यी चार जनालाई मृत्यूदण्ड दिईएको दिनलाई हामी शहिद दिवस भनेर मनाउछौ । शहिद दिवस मनाईरहदा ओझेलमा पारिएका प्रथम शहिद लखन थापा मगर र अर्का महान शहिद भएर पनि शहिदको कोटीमा अट्न नसकेको विर योद्धा हुन जय सिंह चुमी राना मगर । आज शहिद दिवसको अवसरमा उहाँकै वारेमा केही चर्चा गर्न लागिएको हो ।

नेपालमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार तथा कनुनी राज्य स्थापना लगायत सवै खाले सामन्तबादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हुदै हाँसी हाँसी जीवनको वलिदान दिने ती महान शहिद हुन जय सिं चुमी राना मगर उहाँको जन्म गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ७ साविक बुंकोट गा.वि.स. वडा नं. ४, काहुले भंगारमा सामान्य चुमी परिवारमा भएको थियो । काहुलेमा जन्म भएको जय सिं चुमी राना मगर र लखन थापा मगर घनिष्ट साथी थिए । त्यतिवेला नेपालमा सर्वसाधाराण जनताहरुले औपचारिक शिक्षा हासिल गर्नको लागि कुनै पनि ब्यबस्था थिएन ।

वि.सं. १९१० मा मात्र नेपालको पहिलो शिक्षालयको रुपमा दरवार स्कुल स्थापना भएको थियो । त्येति वेला नेपालको दुर्गम ठाउँहरुको त कुरै छाडौ राजधानी शहर काठमाण्डौमा समेत सर्वसाधारण जनताको निम्ति शिक्षा आर्जनको लागि कुनै ब्यबस्था थिएन । उच्च वर्गिय र राणा परिवार भित्र भने शिक्षालाई बन्देज गरिएको थिएन त्यसैले साधारण ग्रामिण परिवारमा जन्मेका चुमी मगरले औपचारिक शिक्षा भने लिन पाएनन् । ग्रामिण परिबेशमा सामान्य रुपमा उनको बाल्यकाल बितेको थियो । सानै देखि स्वाभिमानी, ईमान्दारी र मिलनसार जय सिं चुमी युवा अबश्थामा नेपाली सेनाको पुरानो गोरख पल्टनमा भर्ना हुन पुगे । बाल्यकालका साथी लखन थापा मगर पनि सोही पल्टनमा भर्ना भएका थिए । उनिहरुविचको मित्रता निकै घनिष्ट थियो । लखन थापा मगर र जय सिं चुमी राना मगर एउटै गाउँ र पल्टनमा रहेको कारण हरेक कुरामा एक आपसमा सरसल्लाह गर्दथे ।

सैनिक अबश्था
सहिद जय सिंह चुमी राना मगर पुरानो गोरख गण नामक पल्टनमा भर्ति भएका थिए । गोरख गण पुरानो ऐतिहासिक महत्व बोकेको मगर पल्टन थियो । पृथ्वी नारायण शाहले स्थापना गरेको गोरखगण नामक मगर पल्टनमा सव भन्दा तल्लो दर्जा सिपाहीमा भर्ति भै क्याप्टेन जस्तो माथिल्लो दर्जामा पुग्न सफल भएका थिए । उनी र लखन थापा दुवैमा तेज बुद्धि, अस्त्र शस्त्र चलाउन सक्ने क्षमता र विर साहसी भएकै कारणले कलिलै उमेरमा उच्च पद प्राप्त गरेका थिए । र उनी सो पल्टनमा वि.स. १९२५ मा क्याप्टेन जस्तो उच्च र मर्यादित पद सम्म पुग्न सफल भएका थिए जुन दर्जा लखन थापा मगरको र उनको एकै र संगै भएको थियो । सव भन्दा तल्लो दर्जा सिपाहीमा भर्ती भै क्याप्टेन जस्तो माथिल्लो दर्जामा पुग्न सफल भएका थिए ।

उनमा तेज बुद्धि, अस्त्र सस्त्र चलाउन सक्ने क्षमता र वीर साहस भएकै कारणले सानैै उमेरमा भर्ति भै लगभग ३१÷३२ बर्ष पुग्दा नपुग्दै क्याप्टेन भै सकेको थियो । पल्टनमा बहाल रहेको अबश्थामा ई.सं. १८५७ सालमा भारतमा अग्रेज उपनिबेस विरुद्ध सिपाही बिद्रोह भएपछि नेपालबाट २६ नेपाली पल्टन जादा जय सिंह चुमी राना मगर आफ्नो पुरानो गोरख पल्टन संगै भारत पुगेको थियो । त्येति बेला जंग बहादुरको आदेशमा पुरानो गोरख पल्टन भारतको लखनउमा खटिएको थियो । त्येती बेला भारतिय जनताको स्वतन्त्र बन्ने चाहना विरुद्ध नेपाली सेना परिचालन गरेर जंग बहादुरले दुरुपयोग गरिरहेको चुमीलाई बोध भयो र सोही क्रममा लखन थापा मगर र जय सिंह चुमी विच जंग बहादुर राणाको निरंकुशता विरुद्ध विद्रोह गर्ने सवालमा पटक पटक छलफल हुने गर्दथ्यो ।

वि.स. १९२७ सालमा जयसिंह चुमी राना मगर र लखन थापा मगर ३ महिनाको बिदामा घर आएको थियो । दुवै जना गोरखा बुंकोट काहुले तर्फ लागे जयसिं चुमी राना मगरको घर काहुले भंगार पुगी बसे । जंग बहादुर राणा श्री ३ महाराज प्रधान मन्त्री भैसकेको अबश्थामा राणा शासनको बडो कठोर राणा शासन ब्यबस्था, नेपाली जनता माथि गरिएको अत्याचार, दमन र शोषण विरुद्ध अन्त्य गर्नु पर्छ भन्ने धारणा थियो । अन्यायका विरुद्ध हतियार उठाउन ज्यानै समेत अर्पण गर्न पछि नपर्ने चुमी युद्धको मैदानमा उत्रिन तयार भै आफ्नै घर संगै जोडिएको प्रथम शहिद लखन थापा मगरको घरेडी काहुलेमा भब्य दरबारको निर्माण गरि विद्रोह सुरु गरेको थियो ।

 

बिद्रोह र संलग्नता
नेपालको तत्कालिन समयमा राणा परिवारका सदस्यहरुमात्र बंशाणुगत रुपमा रोलक्रम अनुसार प्रधानमन्त्रि बन्ने शाासन बसालेको थियो । त्यतिबेला राणा शासन ज्यादै शक्तिशाली र निरंकुश थियो । जनता माथि कठोर ब्यबहार गर्ने, नियन्त्रणमा राख्ने, दमन र शोषण गर्ने तथा अत्याचार गर्ने गर्दथ्यो । जंग बहादुर राणाले जे बोले जे गरे त्यहि नै कानुन सरह मान्दथ्यो राणा कै हुकुमी शासन चलाईन्थ्यो । जुन समयमा कानुन बनाउने लागु गर्ने र जनतालाई सजाय दिने जस्ता कार्य राणाहरुकै हातमा थियो । जुन कानुन राणा बंश भन्दा अन्य जनताहरुलाई कानुनमा बाध्थ्यो र राणाहरु भने त्यो कानुन भन्दा माथि हुन्थ्यो अहिले कानुन भन्दा माथि कोही हुदैन भन्ने भनाई यथार्थ परक छ तर त्यति बेला राणाहरु सामान्य कानुन भन्दा माथि थिए ।

राणाहरुले शासन चलाउथे सब नेपाली जनताहरु राणा शासकहरु देखि त्रसित थिए । उनीहरुको विरुद्धमा सांगठनिक रुपमा वा कुनै पनि ब्यक्तिले आवाज उठाउन पाईदैनथ्यो र सक्ने स्थितीको नेपाली जनता पनि थिएन । त्येति बेलाको जनताहरुलाई हक अधिकार केही थिएन । कुनै पनि किसिमको राजनितिक अधिकार र स्वतन्त्रता थिएन असमानता, जातिय विभेद हुन्थ्यो । जनताहरुलाई स्वास्थ्य, शिक्षाबाट बन्चित गराईन्थ्यो जनताहरु सवै त्रसित र भयवित अबस्थामा बाच्नु पर्ने बाध्य थियो । नेपालमा यस्तो शासनको ब्यबस्था देखि यस्तो शासनको कुनै पनि हालतमा अन्त्य गर्नु पर्छ भन्ने जय सिंह चुमी राना मगरको मनमा लाग्यो । जुन शासनको निम्ती प्रथम शहिद लखन थापा मगरले लिएको साहसमा जुन सुकै कठिनाई सुजना हुने अबश्थामा पनि साथ र सहयोग दिन चुमी हर कदम तयार थियो । प्रथम शहिद लखन थापा मगरको नेतृत्वमा गोरखा जिल्लाको साविक बुंकोट काहुले भंगारमा २००० जति युवाहरुको फौज बनाएर फौजका लागी आबश्यक पर्ने टुडिखेल तालिम संचालन गर्ने ठाउँ, तारो हान्ने ठाउँ, खाने, बस्ने आदि बन्दोबस्त मिलाए चारै तिरबाट बलियो किल्लाले घेरी दरबारको निर्माण गरे दरबारको अगाडी प्रतिकात्मक मनकामनाको मन्दिर निर्माण गरे ।

मनकामनाको उक्त मन्दिरमा गोरखनाथ, गोरखकाली लगायतका देवि देवताहरुलाई भित्र्याएका थिए । मन्दिरको दक्षिण तर्फ ढुङ्गे धारा र एउटा पानी पोखरी समेत निर्माण गरेका थिए र सेनाका लागी तलब भत्ता र हातहतियारको रुपमा ६० नाल बन्दुक र ठुला संख्यामा तरबार, खुडा, कतरी भाला, धनुकाड, शोला, छुरी र डण्डीहरुको ब्यबस्था गरिएको थियो । उक्त दरबारमा धेरै सैनिकहरु भर्ना गराए जसमध्ये धेरै चनाखो शाहसिक र बहादुरी देखाउन सक्ने प्रथम शहिद लखन थापा मगरको घनिष्ट मित्र एवं सहयोद्धा जय सिंह चुमी रानालाई सबै दरबार सम्हाल्न दिईएको थियो । टुडीखेलमा सैनिकहरुलाई उनले तालिम दिईन्थ्यो । लखन थापाको साथी जय सिंह चुमी पुर्व सेना भएकोले सैन्य प्रशिक्षण गराउन सहज बन्यो । जंग बहादुरको क्रुर र निरंकुश शासनको विरुद्ध धार्मिक शक्तिको आडमा लखन थापा मगरले राजनीतिक संगठन गरेका थिए । उनले जय सिंह चुमी रानालाई वि.सं. १९२७ देखि नै सैन्य संगठन गर्न जनरलको पदावी दिएको थियो र त्यसै बेला देखि आन्तरिक मिलिसियाहरु तयार गर्ने काम प्रारम्भ भएको थियो । बाह्य रुपमा संगठनलाई जोसमनी मतका सन्त संगठन भन्ने प्रचार गरियो तर भित्र भित्रै जंग बहादुर विरोधी कृयाकलापहरुको तयारी भईरहेको हुन्थ्यो ।

वि.सं. १९३२ सालतिर सम्पुर्ण बिद्रोहीहरुको आग्रहमा राजद्रोही सरकार खडा गरी त्यसको मुख्तियार (प्रधानमन्त्रि) आफै भए र जय सिंह चुमी राना मगरलाई सेनाको प्रधान सेनापति बनाईएको थियो (लखन थापा मगर राजा र जय सिंह चुमी राना मगरलाई मन्त्रि वनाएको भन्ने भनाई पनि रहेको पाईन्छ) यसरी चुमी पुरानो गोरखगणमा भर्ना भै प्रथम शहिद लखन थापा मगरसंगसंगै क्याप्टेन जस्तो उच्च पदमा पुग्न सफल भएको र नेपालको राणाहरुले जनतामाथि गरेको ब्यबहार, दमन, शोषण प्रति लखन थापा मगरको नेतृत्वमा निर्माण भएको विद्रोह किल्ला २००० सेना मध्ये सेनाको प्रधान सेनापति र जनताहरुको आग्रहमा राजद्रोही सरकारको मन्त्री जस्तो स्थानमा रही आफ्नो स्वार्थको लागी नभएर सिंगो देश र नेपाली जनताको लागी जिवन वलिदान गर्ने महान ब्यक्ति चुमीले ठुलो योगदान र सहयोग दिएको छ जुन चुमीको योगदान विना नेपालमा प्रजातन्त्रको सुरुवात असम्भब थियो ।

चुमीलाई दमन, फाँसी र दमन
वि.सं. १९३२ सालमा सम्पुर्ण विद्रोही जनसमुदायले राजद्रोही सरकारको सेनापतिमा जय सिंह चुमी राना मगरलाई घोषणा गरी नेपाली जनताद्धारा घोषित पहिलो बैकल्पिक बिद्रोह गरियो । तत्कालिन समयमा सर्वजित थापा क्षेत्री पिपलथोकमा बसी गोरखाको मुद्धामामिला हेर्दथे । उनले गोरखाको बुंकोटमा जंग बहादुरको शासन सत्ता विरुद्ध लखन थापा मगरको नेतृत्वमा सशस्त्र जन विद्रोहको तयारी भईरहेको उजुरी जंग बहादुर समक्ष जाहेर गरे यो सूचना पाएपछि जंग बहादुर क्रुद्ध भए । उनले लखन थापा र उनका सहयोद्धा जय सिंह चुमी राना मगरलाई पक्रेर काठमाण्डौ ल्याउन भनि कान्छा भाई धीर शमसेरलाई आदेश दिए ।

आदेश बमोजिम देविदत्त पल्टनका सैनिकहरु गोरखा पुगी विद्रोह किल्लालाई चारै तिरबाट घेराहाले देविदत्त पल्टन र विद्रोही सेनाविच भिडन्त भयो । भनिन्छ त्यो बिद्रोहमा दवाउन धीर शमसेरलाई पनि हम्मे हम्मे परेको थयो अन्तमा बिद्रोहीहरु पक्राउ परे । उनीहरुलाई बासको पिंजडामा कैद गरी यातनापुर्वक काठमाण्डौ पु्याईयो ।

विद्रोहिहरु विरुद्ध थापाथली दरबारमा मुद्धा चलाईयो साथै वर्वरतापुर्वक कोर्रा हानी ठुलो यातना दिईयो । जय सिं चुमी र मित्र लखन थापा मगर लगायत सहयोगीहरुलाई गोरखा बुंकोट काहुले भंगार स्थित उनीहरुकै किल्ला परिसरको मनकामना मन्दिर अगाडी स्थानीय जनसमुदायको उपस्थितिमा झुन्ड्याएर मार्ने फैसला भयो तर राणा शासक सामु उनीहरु झुकेनन् ।

देविदत्त पल्टनका सैनिकहरुले मृत्यूदण्ड सुनाएका विद्रोहीहरुलाई गोरखा पु्याए । उनी शाहसी जय सिंह चुमी राना देश र जनताको निम्ती वलिदान दिन तयार भए । वि.सं.१९३३ फागुन २ गते गोरखा बुंकोट काहुलेको आफ्नै किल्ला परिसर भित्र मनकामना मन्दिर अगाडिको बेलौती (अम्बा) को रुखमा जै सिंह चुमी राना मगरलाई र दायाँ तर्फ खिर्राको रुखमा प्रथम शहिद लखन थापा मगरलाई झण्ड्याएर संगै मृत्यू दण्ड दिईएको थियो ।

यसरी जय सिंह चुमी राना मगरलाई झुण्डाएर हत्या गरी सकेपश्चात पनि शाखा सन्तानलाई नै सखाप पार्नु पर्छ भनी राणाहरुद्धारा चुमी सन्तानको खोजी भयो खोज तलास चल्न थाले संगै तत्काल उहाका छोरा अजव सिंह चुमी करिव ६÷७ महिनाको शिशु अबश्थामै मामाघर रानाहरुकोमा लुकाउनको निम्ती साविक घैरुङ्ग रानीस्वारा हाल शहिद लखन गाउँपालिका वडा नं. ६, लगे र त्यहापनि पक्रने त्रासले मामालीले अझै बढि सुरक्षित गर्नको निम्ती नजिकैको जंगलमा रहेको झाक्री पहाडमा लगी लुकाएर राखे ।

यसरी मामालीले दैनिक धेरै समय सम्म उज्यालो नहुदै सो झाक्री पहाडमा लाने र बेलुकी बेलुकी आफ्नो घरमा ल्याई राख्ने गरिन्थ्यो । धेरै समय पश्चात छोरा अजव सिंह चुमी राना करिब १६÷१७ बर्षको उमेरमा बिरोधी प्रति प्रतिरोध गर्न सक्ने क्षमता र बुझ्ने भए पश्चात पुन आफ्नै जन्म थलो काहुले आई बसोबास सुरु गरेको थियो । र सोही समयमा जय सिंह चुमी राना मगरको फाँसी पश्चात पनि सन्तानहरुलाई बस्न निकै त्रासपुर्ण वातावरण थियो त्रसित भएर बाच्नु पर्ने अबश्था थियो ।

जय सिंह चुमीराना मगरलाई सहिद घोषणा गर्नुपर्ने कारण
सामरिक क्षमता, योग्यता, अनुभव, नेतृत्व र कामण्ड गर्नसक्ने सिप भएको एक शाहसिक तथा प्रतिभाशाली मगरको छोरा जय सिंह चुमी राना मगर कुनै जात, धर्म, बर्ण, लिङ्ग, ब्यक्ति वा समुदायको निम्ती वलिदान दिएका थिएनन् । शोषित पिडित, थिचो मिचो, एवं उत्पिडित पारिएको जनताको स्वतन्त्रता तथा हक अधिकारको सुरक्षा गर्नको लागी उनी सशस्त्र विद्रोहमा होमिएर सिंगो नेपाल र नेपाली जनताको लागी आफ्नो प्राणको लागी आहुती दिएका थिए त्यसैले यो ऐतिहासिक घटना पनि हो ।

राष्ट्र निर्माणको क्रममा वीर पुर्खाका वलिदान नीपुर्ण भावनाको माध्यमद्धारा नेपाली समाजलाई समयको प्रवाह र जनताको चाहना अनुरुप अगाडी बढ्नको निमित्त यो राष्ट्रको विर सपुत जय सिंह चुमी रानाले पु्याएको योगदानलाई विर्सन सकिन्न । देश र जनताको स्वाभिमान तथा प्रजातन्त्रको प्राप्तीको लागि चुमीको ठुलो योगदान रहेको छ । प्रजातन्त्रको पे्ररणाको स्रोत मानिने सपुत प्रथम शहिद लखन थापा मगरका कर्मठ सहयोद्धा मारिएको पनि आज १४२ बर्ष भै सकेको छ । यसविच राज्य शक्तिमा धेरै परिवर्तन भयो ।

राणा शासन प्रजातन्त्र, पञ्चायत, पुन संसदिय प्रजातन्त्र हुदै २०६२÷०६३ को जन आन्दोलनद्धारा मुलुक लोकतान्त्रिक गणतान्त्रमा प्रवेश गरेको छ । मुलुक यहा सम्म आई पुग्दा पनि आदम्य शाहस र वीरताका प्रतिक आदर्श शहिदले देखाएको मार्ग त्याग संघर्ष र वलिदानको खाश सम्मान हुन सकेको छैन । आज देशमा सहिदको अबमुल्य हुदैछ योगदान गर्ने सहिदको घोर अपमान भएको छ । देश र जनताको निमित्त प्राणको आहुती दिने यिनै विर सपुतले देखाएको बाटोमा नेपाली जनताले आत्म गौरवका साथ सुख र सन्तोषको अनुभुती समेत गर्न नपाउनु सहिदले गरेको योगदानप्रतिको अपमान हो । शहिदको बारेमा यथेष्ट र स्पष्ट परिभाषा अबधारणा र मजवुत दृष्टिकोण आउन नसकेको बर्तमान अवस्थामा जसले जसरी परिभाषित गरेपनि अमर सहिद र सहिद परिवारको सदस्यको सम्मान राष्ट्रले गर्न नसक्नु अर्काे विडम्बना हो ।

सहिद कसैलाई मार्न खोज्ने प्राणी होईन परन्तु मुलुकप्रतिको आस्था र विश्वासको निम्ती स्वयंले मृत्यूवरण गर्न चाहेको मानिस हो । जसको आस्था र विचार कार्यको आधारमा सहिदले अमरत्व प्राप्त गर्छन जुन जय सिंह चुमी रानाले आफै मृत्यू वरण गरेका थिए । राणा शासकका सामु माफी मागेको भए सायद उनले मृत्यूवरण गर्नु पर्ने थिएन छुट पाउथे होला वाच्न पाउथे होला त्यसैले जय सिंह चुमीराना लाई वीर सपुत आदर्श शहिदको श्रृखलामा राखेर सरकारले औपचारिक रुपमा सहिद घोषणा गरी राष्ट्रिय सम्मान गर्नु राष्ट्रको साझा दायित्व हो ।

विभिन्न कालखण्डमा मारिनेहरु शहिद घोषणा भएका छन् । ०६२÷६३ को जनआन्दोलनमा मारिएकाहरु थुपै्र ब्यक्तिहरु शहिद घोषणा गरिएको छ । निजामति कर्मचारी शहिद, स्थानिय निकायको कर्मचारी शहिद, संस्थान कर्मचारी सहिद, शिक्षक कर्मचारी शहिद, वित्तिय क्षेत्रको कर्मचारी सहिद कृषि अनुसन्धान परिषदको कर्मचारी शहिद शिक्षक सहिद, विद्यार्थी शहिद, धार्मिक शहिद र पत्रकार समेत शहिद भएका छन् ।

विभिन्न शहिद सम्बन्धि परिभाषा गरिएतापनि नेपालका राजनितिक पार्टीहरुले बास्तविक शहिद जसले जहानिय राणा शासन अन्त्यका लागि लडे जसले मृत्यू रोज्न तयार भएकै कारण राणा शासनले जनतासामु झुक्न कर लाग्यो । देश र जनताको लागि वलिदान दियो त्यस्ता ब्यक्तिलाई अपमान गर्दै जो सत्तामा पुग्छ उसले आफु अनुकुल शहिदको परिभाषा बनाउदै शहिद घोषणा गरि रहेको छ । अहिले सम्म १८ हजार भन्दा बढि शहिदको सुचिमा जय सिंह चुमी राना मगर किन पर्न सक्दैन त्यसैले नेपाल सरकारले शहिद प्रति असमान ब्यबहार गरेको छ । सवैलाई समनुपातिक ढंगले जात, धर्म, वर्ण, लिङ्ग, पार्टी नभनी सहिद प्रति उच्च सम्मान गर्दै जय सिं चुमी राना मगरलाई शहिदको सुचिमा राख्न अनिवार्य छ ।

शहिद घोषणा गर्नु पर्ने केहि बलियो आधारहरु
१) सामरिक क्षमता, योग्यता, अनुभव भएको, नेतृत्व र कमाण्ड गर्न सक्ने सिप भएको एक शाहसिक र प्रतिभाशालीवान ब्यक्ति भएको
२) सिंगो देश र जनताको हक अधिकार र स्वतन्त्रताको निम्ती वि.सं.१९२७ मा घर छुट्टीमा आएपछि यहाको क्रुर शासन देखि पुन पल्टनमा नगै शसस्त्र विद्रोहमा लागिएको ।
३) कुनै जात, धर्म, वर्ण, लिङ्ग, ब्यक्ति वा समुदायको निम्ती मात्र नभएर सिंगो देश र जनताको स्वतन्त्रता र हक अधिकार सुरक्षाको निम्ती विद्रोह गरेको
४) जनताको चाहना अनुरुप राजद्रोही सरकार खडा गरि उहालाई सैन्य नेतृत्व गर्न जनरल पद दिई सम्हालेको ।
५) राणा शासन विरुद्धमा लागेको कारण नै २००७ सालमा प्रजातन्त्रको स्थापना हुनमा थप टेवा पुगेको
६) जाति, भाषा, क्षेत्र र धर्मको आधारमा शहिदहरुप्रति रहेको विभेदको अत्य गर्न ।
७) दवाव, पहुचँ, नारा, जुलुसको र पार्टिगत अनुकुल रुपमा शहिद घोषणा गर्ने परिपाटिको अन्त्य गरि जनता र सिङ्गो राष्ट्रको हितमा वलिदान दिने वास्तविक शहिदलाई उचित सम्मान गर्न ।
८) निरंकुश र अधिनायकवादी राणा शासन विरुद्ध लखन थापा मगरको विद्रोह किल्लामा २००० राजद्रोही सेनाको नेतृत्व गर्दै लखन थापा मगर संगै सहादत प्राप्त गर्ने जय सिं चुमी राना मगरलाई संगै स्थापित गर्न ।
९) जनताको हक अधिकार र स्वतन्त्रताको निम्ती वलिदान दिने र उहाँले आन्दोलनमा पु्याएको योगदानको कदर गर्दै जनतालाई जानकारी दिन ।
१०) शहिद घोषणा गरि उचित सम्मान गरि जय सिंह चुमी प्रति भएको अपमान र विभेदको अन्त्य गर्न ।

चुमी शहिद घोषणा किन हुन सक्दैन त ?
नेपालको राज्य ब्यबस्था, शासन प्रणलीमा अझैपनि विभेद पुर्ण नीति रहेको छ । राज्य ब्यबस्था आफैमा परिपक्वता छैन । राज्य ब्यबस्था आफै परिपक्वता, बौद्धिक र न्यायोचित हुन्थ्यो, शासन ब्यबस्था सवैको हक अधिकार हितको निम्ती हुन्थ्यो र सरकार वलियो हुन्थ्यो भने नेपालमा हरेक पक्षमा आफ्नो सुनिश्चितताको लागि नारा, जुलुस, दवाव र पहुँचको आबश्यकता पर्दैनथ्यो ताकी सरकार आफैले खोज अनुसन्धान गरि सवै किसिमको ब्यबस्था गथ्र्यो होला । आज सवैखाले सुनिस्चितता र ब्यबस्थाको लागि पहँुच, दवाव नारा जुलुस जस्ता कार्यको आबश्यकता देखिन्छ । आफ्नै किसिमको राज्य शैलि छ यहि विभेदको विरुद्धमा अझै पनि नेपालमा समानता र स्वतन्त्रताको लागि आवाज उठी रहेको छ । राज्य स्वार्थको निमित्त मात्रै प्रयोग हुन्छ । जो राज्य सत्तामा पुग्यो सो अनुकुल मात्रै भए गरेको पाईन्छ ।

जय सिंह चुमी जस्ता धेरै ब्यक्तिहरु आज ओझेलमा परिरहेको छ । जातिय, क्षेत्रगत रुपमा विभेद गरिएको छ । जो महान योद्धा विर सपुत आज उहाहरुकै वलिदानले हामी यहा सम्म स्वतन्त्रतामा आईपुगेका छौ हामी त्यहि ब्यक्तिहरुलाई विर्सिरहेका छौ । यस्तो मानसिकता हटाई शहिदको उचित मुल्यङ्कन हुन नितान्त आबश्यक बछ । नेपालको राज्य सत्ता र शासन ब्यबस्थामा मगर जातिको पहुँच नहुनु र पछिल्लो समयमा मगर जाती राज्य सत्तामा पटक पटक पुगेर पनि जय सिंह चुमीको बारेमा नवोल्नु पनि एक ठुलो समस्या हो । नेपालको शन्दर्भमा हजारौ ठुलो संख्यामा शहिद घोषणा भैसकेको छ । त्यति ठुलो संख्यामा पनि ति सवैभन्दा महान शहिद जय सिंह चुमी राना अड्न सकेको छैन यो सवै दवाव, पहुँच र आफु अनुकुलका कारण हो ।

पहुँचकै आडमा शहिद घोषणा गराउन लगाउने नराम्रो संस्कारको विकास हुदैछ । यसले राज्यको पहँच नहुने वास्तविक सहिदलाई ओझेलमा पारी अपमान गरिएको छ । उहा संगै वलिदान हुने लखन थापा मगर शहिद घोषणा भए औपचारिक रुपमा प्रथम शहिद घोषणा पनि गरियो तर जय सिंह चुमीलाई शहिद घोषणा किन गरिएन उहाँलाई शहिद घोषणा गर्न सरकार हिचकिचाई रहेको छ । कोही कुनै संघ संस्था वा संगठनले दवावपुर्ण कार्य गर्न सकिरहेको छैन । उहाँको वारेमा खोज अनुसन्धान गर्न वास्तविकता पत्ता लगाई दवावपुर्ण कार्य गर्न नसकेको कारण पनि एक हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शुत्रधार लखन थापा मगरलाई सहिद र प्रथम शहिद घोषणा गराउन सडकमा उत्रिएर आन्दोलन गर्नु प्यो । फलस्वरुप उहालाई प्रथम शहिदको रुपमा घोषणा गरियो । त्यसैले जय सिं चुमी रानालाई शहिद घोषणा गराउनका लागि पनि सडकमा उत्रिएर टायर वाल्नुु पर्ने होर ? नेपाल नै बन्द गर्नु पर्ने हो ? जुलुस नारा लगाउनु पर्ने हो ? शहिद घोषणा गर्दा राज्यले के घाटा बेहोर्नु पर्छ ? कि पहुँच र दवाव नभएको काण हो । के यसमा राज्यको कुनै दायित्व छैन ? होईन भने राज्यले किन शहिद घोषणा गर्दैन त । गरिव र पहुचँ नभएकालाई किन समावेष गर्दैन यी यस्ता कारणबाट जय सिंह चुमी राना मगरलाई सवै पक्षबाट ओझेलमा राखि अपमान गरिएको छ ।

हार्दिक अपिल
शहिद कुनै जाति, वर्ग, धर्म, क्षेत्र, लिङ्ग विशेषको मात्र नभएर सिंगो राष्ट्रको हो । उसले ब्यक्तिगत, पारिवारिक एवं जातीय स्वार्थबाट माथि उठेर समग्र जनता र राष्ट्रको हितको लागि जीवन समपर्ण गरेको हुन्छ, ती महान सहिद जय सिंह चुमी पनि हुन उहाँले आफ्नो र घर परिवारको स्वार्थको लागि नभएर सम्पुर्ण जनता र सिंगो राष्ट्रको लागि हाँसि हाँसि जीवन दानगरे त्यस्ता महान ब्यक्तिलाई आज सरकारले शहिद घोषणा गर्न सकिरहेको छैन । शहिद घोषणाको निम्ती पहल कदमी समेत हुन सकेको छैन त्यसैले यदाकदा सिंगो जातिको नभएर मगर जातिको मात्र त्यो पनि नभएर कुनै सन्तानको लागि मात्र शहिद हो कि भन्ने महशुश हुन आउछ । तसर्थ शहिदलाई कुनै जाति, धर्म वर्ग, क्षेत्रको संकुचित सानो घेराको रुपमा राखिनु हुदैन ।

नेपाल सरकारमा अझैपनि कठिन परिस्थिती छ । पहुचँ र दवाव विना केही सफल हुन सक्दैन । चार शहिद संगै उहालाई पनि समावेस गरि शहिद दिवसलाईलब्यबस्थित गर्नु जरुरी छ । राष्ट्रिय विभुति घोषणा गरिनु पर्नेछ । उहाको योगदानको कदर गर्दै विद्यालयको पाठ्क्रममा समाबेस गरिनु पर्नेछ, सहादत प्राप्त स्थल विद्रोह किल्लाको संरक्षण गर्न आबश्यक छ ।

जय सिह चुमी राना मगरको खोज अनुसन्धान गरी औपचारिक रुपमा शहिद घोषणा गरि उचित सम्मान गर्न लखन थापा मगर संग संगै स्थापित गर्न नेपाल सरकारलाई हार्दिक अपिल गर्दै, शहिद घोषणा गराउनको निम्ती आबश्यक सहयोग गर्नुहुन सरोकारवाला सवै ब्यक्ति संघ संस्था नेपाल मगर संघ, जिल्ला नेपाल मगर संघ केन्द्र, प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठान, पत्रकार ज्युहरु लगायत सुभचिन्तक सम्पुर्णमा हार्दिक अपिल गर्न चाहन्छु ।

लेखक रुद्र बहादुर राना मगर शहिद लखन गाउँपालिका –७, काहुले भंगार घर भई उहाँ प्रथम शहिद लखन थापा मगर तथा जय सिंह चुमी राना मगर प्रजातान्त्रिक क्लब अध्यक्ष समेत हुनुहुन्छ ।

Share.

Leave A Reply